जिन्दगीका आफ्नै काहानी, संघर्षको यात्रा तय गरेर गाउँपालिकाको जिम्मेवारी

पोखरा: ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नो विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताको परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षको यात्रा तय गरेर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेको बताउँछिन् ।

‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दु:ख व्यहोर्नुपरेन । गाह्रो त कति भयो भयो, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला भन्ने लाग्छ ।’

उनले उमेर ढल्केपछि उच्च शिक्षा प्राप्त गरिन् । १२ वर्ष हुँदा गाउँकै स्कुलबाट कक्षा ५ सकेकी उनलाई गाउँमा त्योभन्दा माथि पढ्न नपाए पनि अर्को गाउँमा जान अभिभावकले दिएनन् । घरको एउटै छोरी भएकोले पनि बाबुआमाले धेरै प्यारमा हुर्काए । तर, उनले आफ्नो जिन्दगी सधैँ अँध्यारो देखिन् । जसको जग्गा जमिन धेरै छ, भेडाबाख्राको बगाल ठूलो छ, उही सम्पन्नशाली मान्ने समाजकी थमसरा २४ वर्षसम्म भेडीगोठ र गाईभैंसीको पछि लागेरै बिताइन् ।

‘गृहणीजस्तै भएर बिताएँ । अर्को स्कुलमा गयो भने त उतैबाट जात नमिल्ने केटोसँग बिहे गरेर जान्छे भनेर पढ्न पठाउनुभएन,’ उनी भन्छिन्, ‘२४ वर्ष लागेपछि फेरि पढ्नुपर्छ भन्ने लाग्यो । म कक्षा ८ मा भर्ना हुन गएँ । एक महिना पढेर परीक्षा दिएँ । त्यसपछि कक्षा ९ र टेष्ट सजिलै पास भएँ । एसएलसीमा विषय लाग्यो । अनि कक्षा ९ मै भर्ना भएर फेरि एसएलसी दिएँ, सजिलै पास भएँ ।’

थमसराको पढाइ यतिमा मात्रै रोकिएन । त्यसपछि उनी अहेब पढ्न गइन् । फर्केर एक वर्ष फेरि गाउँकै प्रोजेक्टमा काम गरिन् । उमेर र अनुभवले होला, उनले आफ्नो जिम्मेवारी सजिलै पूरा गरिन् । सबैसँग घुलमिल भइन् र गाउँको विकासमा जुटिन् । उनलाई लाग्यो, ‘क्षमता भएन भने सानै पदमा काम गरेर जिन्दगी बित्ने रहेछ ।’

त्यसपछि इन्टर पढ्न उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । सजिलै पास गरिन्, स्नातक तह बागलुङ क्याम्पसबाट पूरा गरिन् । त्यतिबेलासम्म थमसरा गाउँकै स्कुलको शिक्षिका भइसकेकी थिइन् । अब उनको जिम्मेवारी अझै बढ्यो, गाउँले भेला भएर उनलाई प्रधानध्यापक बनाइदिए । स्नातक सकिँदा उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको रुपमा निर्वाचित भइन् । ‘दुई दिन हिँडेर जिल्ला जानुपर्थ्यो। स्कुलको जिम्मा पाएपछि सधैँ गइरहन पनि पाइँन। स्कुल सोचेभन्दा राम्रो भयो, अनेमसंघ र डिग्री राम्रो भएन,’ उनले थपिन्, ‘डिग्री चाहिँ बल्लबल्ल अध्यक्ष भएपछि पास गरेको हुँ ।’

उनी अहिले नेकपा एमालेको जिल्ला उपसचिवको रूपमा कार्यरत छिन् । ‘मलाई पदको लोप छैन । पार्टीमा जिम्मेवारी पाएँ, सरकार सम्हाल्ने जिम्मेवारी पाएँ । शिक्षक हुँदा पनि प्रअ भएर काम गरेको हुँ । कुनै पनि पद मैले अड्डी कसेर पाएको हैन,’ थमसराले थपिन्, ‘अब पनि ठूलो अपेक्षा छैन । कुनै बेला पार्टीको मत संरक्षण गर्नुपर्ने भयो भनेर प्रयोगमा आएँ, कुनै बेला सामाजिक परिचालकको क्षमता छ भनेर जिम्मेवारी दिए । अब पनि पार्टीले यहाँ उपयुक्त छस् भनेर दियो भने काम गर्ने हिम्मत छ ।’

२०५४ सालमा वडा सदस्य बन्दा उनले राजनीति गरुँला र यति ठूलो पदमा पुगुँला भन्ने सोचेकी पनि थिइँनन् । अहिले देशभरका ७५३ स्थानीय तहमध्ये १८ वटा स्थानीय तहमा महिला प्रमुख छन् । गण्डकी प्रदेशमा चार जना मात्र महिला प्रमुख छन् । गण्डकीका चारै जना महिला प्रमुखले पुरुषलाई चुनावमा हराएका हुन् । थमसरा तिनै मध्येका उदाहरणीय अध्यक्ष हुन् । ‘सजिलो त पक्कै थिएन । चुनौतीको पनि कुरै छोडौं, केन्द्र विवाददेखि जनतालाई चाहिने कार्यालय र पूर्वाधार थिएन । यस्तो बेला सरकार चलाउन त सजिलो छँदै छैन । दु:खबाटै पाँच वर्ष बित्यो,’ उत्तरार्द्ध पुग्दै गर्दा उनले आफ्नो अनुभव यसरी सुनाइन्, ‘मैले चुनौती र अवसर दुवै हिसावले लिएँ । त्यहि काम पुरुषले गर्न नसक्दा विचरा गर्न सकेन भन्छन् । त्यहि प्रकृतिको काम महिलाको ठाउँमा भए महिला त हो, के गर्न सक्थी भनेर आलोचना गर्छन् ।’

आफ्नो अगाडि कसैले विभेदको स्वर ननिकाले पनि व्यवहारबाट धेरै पटक विभेद व्यहोरेको उनको अनुभव छ । ‘पार्टीभित्र र विभिन्न सरोकारवाला निकायबीचमा पनि महिलालाई हेर्ने दृष्टीकोण र विश्वास गर्ने वातावरण फरक भयो । पुरुष नेताहरू स्वभावैले कार्यकर्तासँग बसेर खाइपिइ गर्छन् । रातको बेला पनि गइदिने र रमाइलो गरिदिने गर्छन् । उधारो भए पनि सहयोग गर्छन्,’ उनले भनिन्, ‘मैले त्यसो गर्न सकिनँ । महिला भएपछि पैसा खर्च गर्न सक्दिनँ, कार्यकर्तासँग सामिप्यता हुँदैन भन्छन् । माथिल्लो तहको कर्मचारीसँग नेताहरूले गेट टुगेदर गर्नुपर्छभन्दा रहेछन् । मैले त्यो गर्न सकिनँ । फेस टू फेस त मैले विभेद भोगिनँ । तर, म महिला भएर यसरी हेरेको होला कि भन्ने महसुस भने गरें ।’

माथिल्ला सरकारबाट पर्याप्त सहयोग नपाएको उनको गुनासो छ । ‘माथिल्ला सरकारले धेरै बेवास्ता गर्‍यो । कर्मचारी सरुवा भएर गएपछि पठाउन ढिलो गर्ने । धेरै धाउनुपर्ने । नेतालाई नै गुहार्नै पर्ने भयो । अनुदान र बजेट ल्याउन पनि साह्रै गाह्रो भयो । पठाए पनि थोरै पठाइदिए,’ थमसरा भन्छिन्, ‘अरु पालिका सानो र कम जनसंख्या हुँदा पनि संघ र प्रदेशको बजेट खात लाग्थ्यो । तर, मैले सानो बजेट माग गर्दा पनि दौडधुप धेरै गरें ।’

जति काम गरे पनि नेपालका जनताहरू सत्ताको विपक्षमा हुने भएकोले आलोचना धेरै सहेको उनको अनुभव छ । चुनौतीकै चाङबाट आफूले पालिकाभित्र केही आशालाग्दा र नागरिकले सम्झन लायक काम गरेको दाबी गर्छिन्, थमसरा । ‘म निर्वाचित भएको बेला विद्युत् प्रशारण लाइन सिमानासम्म पनि पुगेको थिएन । अहिले केन्द्रीय प्रशारण लाइन, माईक्रो हाईड्रो र सोलार गरेर उज्यालो पालिका घोषणा गर्ने बेला भएको थियो । तर, अघिल्लो वर्षको बाढीपहिरोले अवरोध भयो । हाम्रो पालिकामा सडक कालोपत्रे र ढलान त सम्भव थिएन । वर्षमा ८ महिना भए पनि गाडी चलाउने बाचा जनतासँग गरेका थियौं । मैले त्यो पूरा गरेको छु,’ उनले थपिन्, ‘शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याएका छौं । हाम्रो पालिका सामान्य सिटामोलका लागि पनि २-३ घण्टा हिँडेर जानुपर्ने बाध्यता भएको गाउँहरूले भरिएका छन् । त्यहाँ जनसंख्याको आधारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ । औषधि र कर्मचारीको व्यवस्था गरेका छौँ । सामान्य बालविकासको शिक्षा पाउन पनि घण्टौं लगाएर जानुपर्ने अवस्था छ । त्यस्ता बालबालिकालाई आवासीय विद्यालय चलाएका छौं । यो धेरैपछि नागरिकहरुले सम्झने छन् ।’

नियमित काममै अलमल भइरहेको बेला दुई वर्षअघिको बर्खामा धवलागिरी थिलथिलो हुने गरी बाढी र पहिरोले सकस पार्‍यो । नागरिकका घरहरू ढले । तर, थमसरा विचलित नभई नागरिकलाई अभिभावकीय छहारी दिइरहिन् । ‘पहिलो चरणमा ५९ घर सूचिकृत गरेका थियौं । १४ घर मोनाले बनाइदियो । बाँकी घर पालिकाले स्टिमेट गरेर बनाइरहेको छ । उनीहरूले तेस्रो किस्ता पाउँदैछन्,’ थमसराले भनिन्, ‘धेरै जसोले घर बनाएर बसिसकेका छन् ।’

यसबाहेक गाउँपालिकाको प्रशासनिक भवनका लागि प्रक्रिया अघि बढिसकेको छ । १४ रोपनी जग्गा प्राप्त गरेर डीपीआर निर्माण भइसकेको उनले सुनाइन् । सोही ठाउँमा १३ करोडको लागतमा भवन निर्माण प्रक्रियाअघि बढेको छ । यद्यपि, थमसराले पालिका केन्द्र विवादको मुद्दा खेपिरहेकी छिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago