प्रभावित बासिन्दालाई विश्वासमा लिन नसक्दा सधैं समस्या, फोहोरमा सधैंको फोहोरी खेल

काठमाडौँ: काठमाडौं उपत्यकाको फोहोर उठाउन स्थानीय जनप्रतिनिधिसँग सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले सहमति गरेका छन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, प्रभावित धुनिबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायत जनप्रतिनिधिको बैठकले फोहोर विसर्जन गर्ने सम्बन्धमा सहमति जुटाएको हो ।
यसका लागि भएको सहमतिमा बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रवीन्द्र बोहरा, प्रमुख प्रशासकीय अधिकृतहरू काठमाडौं महानगरका लोकनाथ पौड्याल, धुनिबेंसी नगरपालिकाका हरिदत्त कँडेल र ककनी गाउँपालिकाकी गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन् ।
चौतर्फी दबाब भएपछि उपत्यकाको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित स्थानीय तहले संयुक्त रूपमा प्रतिबद्धता गर्दै जनप्रतिनिधिहरूबीच सहमति भएको हो ।

नयाँ सहमतिअनुसार मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका ५ वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गर्ने, जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सोको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्नेछ । साथै प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति भएको छ ।
काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित धुनिबेंसी नगरका वडा नम्बर १, ३, ४ र ककनीको १, २ र ३ नम्बर वडाका बासिन्दाको एक साताभित्र स्वास्थ्य बिमा गर्ने, पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नास्टको प्रतिवेदनलाई आधार मानेर १० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाउने काम थाल्ने, साउन १ देखि उपत्यकाबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजान व्यवस्थापन गर्ने पनि सहमतिमा छ ।

प्रभावित क्षेत्रका तर्फबाट मंगलबारबाटै बन्चेरडाँडामा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्ने काममा ककनी र धुनिबेंसी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ । यस्तै, सिसडोल ल्यान्डफिल साइटको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्नेसमेत प्रतिबद्धता जनाइएको छ । तर, फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएको स्थानीय बासिन्दा सम्मिलित संघर्ष समितिले भने सहमति अमान्य हुने बताएको छ । संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले सहमतिको दोस्रो बुँदामा आफूहरूको आपत्ति रहेको बताए । उनले स्थानीयवासीको माग स्पष्ट रूपमा नआएको र समस्या समाधान गर्ने कुरा नभएर फोहोर उठाउने विषयमा मात्रै केन्द्रित भएको दाबी गरे । उनले भने, ‘सहमतिको बुँदाहरूमा रोजगारीको कुरा छैन । सम्पूर्ण प्लान्ट सञ्चालन गर्ने, प्रदूषण निर्मलीकरण र फागुन २६ को निर्णय कार्यान्वयन गर्ने कुरा नै छैन । अब हेरौं, मंगलबार प्राविधिकहरू आएर के भन्छन् । स्पष्ट खाकासहित आउनुपर्‍यो ।’

महानगरपालिकाले स्थानीयको माग पूरा गर्न प्रतिबद्धता जनाएको यो पहिलो पटक भने होइन । यसअघि पनि धेरै पटक सहमति भए पनि कार्यान्वयनमा बेवास्ता गरिएको स्थानीयवासीको आरोप छ । त्यसैले उनीहरूले फोहोर विसर्जनमा समय–समयमा अवरोध गर्दै आएका छन् । जसका कारण उपत्यकाको फोहोर व्यवस्थापन फोहोरी खेलमा परिणत हुँदै आएको छ ।

कहाँबाट कति फोहोर ?

उपत्यकाका स्थानीय तहबाट दैनिक १२ सय टन फोहोर निस्कन्छ । काठमाडौं महानगरपालिकाबाट दैनिक ५१६ टन, कीर्तिपुरबाट ६, कागेश्वरी मनहराबाट २०, चन्द्रागिरिबाट ३०, गोकर्णेश्वरबाट ५५, टोखा, बूढानीलकण्ठ र तार्केश्वर नगरपालिकाबाट ३५/३५ टन फोहोर उत्पादन हुन्छ । दक्षिणकालीबाट १५, नागार्जुनबाट ३५ र शंखरापुरबाट ८ टन फोहोर उत्पादन हुने तथ्यांक छ । यस्तै, ललितपुरबाट १३० टन, गोदावारीबाट २५, महालक्ष्मीबाट ३०, मध्यपुर थिमिबाट ३०, चाँगुनारायणबाट १५ र सूर्यविनायकबाट २५ टन फोहोर उत्पादन हुने गरेको महानगरको वातावरण महाशाखाकी प्रमुख सरिता राईले जानकारी दिइन् ।

काठमाडौंमा फोहोरका स्रोतमा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य, हानिकारक, मलखाद योग्य, कबाडी, प्लास्टिकजन्य, सिसाजन्य फोहोरहरू छन् । महाशाखाका अनुसार काठमाडौंमा निस्कने फोहोरमध्ये जैविक फोहोर ७०.८७ प्रतिशत हुने गरेको छ । यस्तै, प्लास्टिक ९.१८ प्रतिशत, कागज ८.५१, रबर ०.५४, कपडा ३.०२, धातु ०.९२, सिसा २.५० प्रतिशत, छाला ०.१२ र काम नलाग्ने/निष्क्रिय फोहोरको मात्रा ४.३३ छ । फोहोरको मात्रा कम गर्नका लागि स्रोतमै फोहोरलाई छुट्याइदिने, वैकल्पिक रूपमा प्रयोग गर्ने, सरसफाइमार्फत संकलन गर्ने, बेच्ने, प्रशोधनका लागि फोहोर उपलब्ध गराउन सकिने यसका अवसरहरू रहेको राईले बताइन् ।

वैशाख ११ देखि २५, जेठ ११ देखि १४ र जेठ १६ गतेदेखि काठमाडौंको फोहोर उठेको छैन । जेठ १५ मा प्रहरी परिचालन गरेर नुवाकोटको सिसडोलमा लगेर फोहोर विसर्जन गरेयता फोहोर उठ्न सकिरहेको छैन । अघिल्लो वर्ष पनि फागुन १ देखि १३, फागुन २५ देखि चैत ५ र चैत १६ देखि २८ गते काठमाडौंमा फोहोर उठेको थिएन । हरेक वर्षको मनसुनमा सडक अवरुद्ध हुने कारणले काठमाडौंको फोहोर उठ्न समस्या हुँदै आएको छ । सिसडोलस्थित ल्यान्डफिल साइट जाने सडक वर्षाका कारण अवरुद्ध हुने गरेको छ । यसपटक फोहोर विसर्जनमा देखिएको अवरोध उस्तै भए पनि कारणहरू भने केही फरक छन् ।

काठमाडौं महानगरपालिकाको फोहोर सडकबाट उठ्न नसक्नुमा अहिले मुख्य रूपमा दुई वटा समस्या देखिएका छन् । ती हुन्– सिसडोल, बन्चरेडाँडा ल्यान्डफिल साइटका बासिन्दाको अवरोध र टेकु आसपासका बासिन्दाको आन्दोलन ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर १२, १८, १९, २०, २१, २३, २४ र २५ को मात्रै फोहोर उठाउने गरेको छ । अन्य वडाका फोहोर निजी क्षेत्रले र केही वडामा महानगर र निजी क्षेत्रले उठाउँदै आएका छन् । महानगरको नगर प्रहरीका नायब उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार महानगरपालिकाले संकलन गर्ने फोहोर टेकुस्थित ट्रान्सफर स्टेसनमा ल्याएर खन्याइन्छ । त्यहाँ टिपरमा फोहोरलाई खन्याएर विसर्जनका लागि नुवाकोट लगिँदै आएको छ ।

ट्रान्सफर स्टेसनमा अढाई महिनासम्मको फोहोर राख्न सक्ने क्षमता छ । विगतका वर्षहरूमा वर्षायाममा स्टेसनमा हप्ता दिनसम्मको फोहोर ल्याएर राखिन्थ्यो । तर, टेकुका स्थानीयले आसपासको क्षेत्र दुर्गन्धित भएर स्वच्छ वातावरणमा बाँच्न पाउने हक हनन भएको र विगतका सहमतिबमोजिम काम नभएको भन्दै फोहोर बोक्ने गाडी चलाउनै रोकेका छन् ।

ट्रान्सफर स्टेसनमा धर्ना दिँदै फोहोर बोक्ने गाडीलाई बाहिर जान दिएका छैनन् । संकलन गरेर ल्याइएको फोहोर २४ घण्टाभित्र बाहिर लैजाने प्रतिबद्धताअनुरूप महानगरपालिकाले विसर्जन स्थलमा नलैजाँदा स्वास्थ्य समस्या देखिएको भन्दै टेकु ट्रान्सफर स्टेसन अन्यत्र सार्नुपर्ने स्थानीयको माग छ । फोहोर व्यवस्थापनमा हेर्दै आएका भट्टका अनुसार टेकुवासीका आन्दोलनका कारण स्टेसनमा महानगर क्षेत्रबाट उठ्ने फोहोर आउन छाडेको छ । जेठ २० देखि उनीहरूले विभिन्न माग राख्दै स्टेसन अगाडि धर्ना दिँदै आएका छन् ।

मेयरको जोड बन्चरेडाँडा

काठमाडौं महानगर प्रमुखमा निर्वाचित भएकै दिन बालेन्द्र शाहले फोहोरमैला व्यवस्थापन नगरेसम्म खादा र माला नलगाउने घोषणा गरे । दुई पटक सिसडोल र बन्चरेडाँडा नै पुगे । जेठ १६ मा पद सम्हालेयता शाह हरेक दिनजसो सहरी विकास मन्त्रालय धाइरहेका छन् । आइतबार फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न धुनिबेंसी नगरपालिका पुगे । सोमबार दिनभरिजसो मन्त्रालयमा छलफलमा व्यस्त रहे ।

शाहले महानगरको फोहोर व्यवस्थापनलाई आफ्नो प्रमुख एजेन्डा बनाए पनि यो भर्खरै सिर्जित समस्या भने होइन । उनी निर्वाचित हुनु केही साता अघिदेखि नै महानगरमा फोहोर उठ्न छाडेको थियो । फोहोर विसर्जन स्थलका प्रभावित बासिन्दालाई ‘विश्वासमा लिन नसक्दा’ उपत्यकाको फोहोर व्यवस्थापनमा सधैं समस्या हुँदै आएको छ । काठमाडौंको फोहोर उठ्न नसक्दा चोकचोकमा थुप्रिएको छ । असरल्ल फोहोरका कारण दुर्गन्ध मात्रै फैलिएको छैन, रोग संक्रमणको जोखिम पनि बढेको छ ।

प्रमुख शाह बन्चरेडाँडास्थित ल्यान्डफिल साइटलाई छिटो सञ्चालन गर्ने पक्षमा छन् । तर, संघर्ष समितिले भने सिसडोलकै जस्तो नियति दोहोरिन सक्ने भन्दै सरकार र महानगरका तर्फबाट पुराना प्रतिबद्धता पूरा भएपछि मात्र विसर्जन गर्न दिने अडान लिएको छ । ‘ओखरपौवावासी र सिसडोलवासी सरकारका कारण दबिएका छन् । सिसडोलमा ३ वर्षका लागि भनेर सुरु गरिएको फोहोर व्यवस्थापन १७ वर्षसम्म भयो । यो १७ वर्षमा काठमाडौंको फोहोर जथाभावी रूपमा यहाँ विसर्जन हुँदा हामी कसरी बस्यौं होला ? कसैले व्यथा सुनिदिएनन्,’ संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘बन्चरेडाँडा ५० वर्षका लागि भनिएको छ तर यो कम्तीमा सय वर्ष जाने निश्चित छ । यसले पार्ने असर झन् कस्तो होला ?’

काठमाडौं उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट हो । उक्त डम्पिङ साइट भरिएपछि बन्चरेडाँडामा नयाँ ल्यान्डफिल बनाइएको छ । तर साइट पूर्ण रूपमा सञ्चालनमा आएको छैन । महानगरका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक १२ सय टन फोहोर सिसडोल ल्यान्डफिल साइटमा विसर्जन हुने गर्थ्यो । फोहोर बोकेका टिपर र ट्रक पासाङल्हामु राजमार्ग हुँदै जान्छन् । वर्षायाममा सिसडोल ल्यान्डफिल साइटमा फोहोरको पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

महानगरले त्यसैअनुसार बन्चरेडाँडाको सेल–१ तयार भएपछि अपरेसन म्यानुअल बनाएर विसर्जन गर्ने तयारी पनि थालेको शाहका सहयोगी रवीन भारतीले बताए । बन्चरेडाँडाको सेल–२ पनि तयारीका क्रममा छ । १३ हजार मेट्रिक टन क्षमताको सेल १ मा पर्याप्त फोहोर विसर्जन गर्न सकिने उनले बताए । म्यानुअल बनाउन इन्जिनियर सुनील लम्साल नेतृत्वको एउटा प्राविधिक समूह पनि बनाइएको उनले जानकारी दिए ।

टेकुका बासिन्दाको समस्याका विषयमा गन्ध हटाउनका लागि बायो केमिकल प्रयोग गर्ने विषयमा समेत छलफल थालेको छ । ट्रिटमेन्टका लागि नास्टसँग महानगरपालिकाले सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ । मंगलबार नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकाल, वैज्ञानिक टिस्टा प्रसाईं जोशी, महानगरको वातावरण विभाग प्रमुख सरिता राईलगायतको टोली फोहोरको नमुना परीक्षणका लागि सिसडोल जाने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर विसर्जन गर्दा ढुंगाना, सिउडिनी, कटुन्जे, सिंखडा, कागतेलगायतका गाउँ बढी प्रभावित छन् । शाहका सहजकर्ता भारतीले फोहोर विसर्जन गरिने क्षेत्रका बासिन्दाको माग पूरा गर्न समझदारी बनेकाले तत्काल महानगरपालिकाले पूरा गर्न सक्ने मागमा जनप्रतिनिधि सकारात्मक रहेको बताए ।

पाटन क्याम्पसका उपप्राध्यापक एवं वातावरणविद् राजु चौहान काठमाडौंको फोहोर व्यवस्थापन पुरानै शैली भएकाले नयाँ ढंगबाट व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘फोहोर अहिले पनि उही पुरानै शैलीबाट विसर्जन भइरहेको छ । अब फोहोरबाट ऊर्जा निकाल्नुपर्छ तर यसका लागि लगानी बढाउनुपर्छ ।’ हरेकले घरमै फोहोर संकलन गर्ने ठूलो भाँडा व्यवस्थापन गरिदिने हो भने सडकमा फोहोर नै नहुने उनले बताए ।

एक वर्षमा ११ करोड राहत वितरण

ल्यान्डफिल साइट प्रभावित क्षेत्र तारकेश्वर, धुनिबेंसी नगरपालिका र ककनी गाउँपालिकाका अति प्रभावित र प्रभावित क्षेत्रका बासिन्दाहरूको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण, जग्गा बालीनाली घरटहरा क्षतिपूर्ति महानगरपालिकाले सहयोग गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्ष मात्रै ११ करोड ७९ लाख ३३ हजार खर्च भएको छ ।

३ वर्षका लागि भनेर सन् २००५ मा सिसडोल ल्यान्डफिल साइट प्रयोग गरिएको थियो । उक्त क्षेत्रको क्षमता पूरा भएपछि आलेटारमा ४ वर्ष फोहोरको व्यवस्थापन भएको थियो । आलेटारको पनि क्षमता पूरा भएपछि पुनः सिसडोलको क्षमता विस्तार गरेर प्रयोगमा ल्याइएको थियो । सिसडोलको विस्तारित क्षमताले पनि धान्न नसक्ने अवस्था भइसकेको वातावरण विभाग प्रमुख राईले बताइन् ।

Comments
Kamal Panthi

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago