एमसिसी सम्झौतामा लिखित असहमति, दाहालमाथि ‘राष्ट्रघात’को आरोप

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र एमसिसी सम्झौताको बचाउ गरेका छन्। दाहालले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा लामो व्याख्यासहित एमसिसीको बचाउ गरेका हुन्।

सत्ता गठबन्धन जोगाउन पनि एमसिसीको पक्षमा उभिनुपरेको दाहालको भनाइ छ। बैठकमा दाहालले व्याख्यात्मक टिप्पणीको प्रतिरक्षा गरे पनि नेताहरूले भने लिखित रुपमै त्यसमा असहमति राखेका छन्।

बैठकमा केन्द्रीय सदस्यहरू कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै लिखित असहमति राखेका छन्। नेता नारायणकाजी श्रेष्ठले मौखिक रुपमा असहमति राखेका छन्। उनीहरूले एमसिसी अनुमोदन प्रक्रियामा सहभागी भएर पार्टीले राष्ट्रघात गरेको र त्यसको प्रमुख दोषी अध्यक्ष दाहाल भएको आरोप लगाएका छन्। अध्यक्ष दाहालले एमसिसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयबारे निकै लामो व्याख्या गरे पनि नेताहरूले उनलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै ढंगले राष्ट्रघाती भएको आरोप लगाएका छन्।

बैठकमा नेता श्रेष्ठले एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसको प्रमुख दोषी कोको भन्नेबारे लामो व्याख्या गरेका थिए। त्यस्तै नेताहरू महरा, गुरुङ, लीलामणि र गिरिराजमणिले पनि एमसिसी अनुमोदनको मुख्य मतियार अध्यक्ष दाहाल भएको र यसले पार्टी, देश र जनतालाई घात भएको बताएका थिए। ‘असन्तुष्ट नेताहरूले अध्यक्षकै कारण एमसिसी अनुमोदन भएको र यसको सम्पूर्ण जिम्मेवारी उनले नै लिनुपर्ने धारणा राखेका छन्,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। ती सदस्यका अनुसार बैठकमा एमसिसीबारे लामै छलफल भयो।

एमसिसीको विषयमा अध्यक्ष दाहालले करिब एक घण्टा आफ्नो धारणा राखेका थिए। दाहालले एमालेले सत्ता गठबन्धन टुटाउन खोजेको र कांग्रेसले फेरि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर जाने अवस्था आएपछि व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदनको पक्षमा उभिनुपरेको बाध्यता सुनाएका थिए। गठबन्धन जोगाउन व्याख्यात्मक घोषणासहित अनुमोदनमा जानुपरेको उनको भनाइ थियो।

‘एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसिसीमा उसले सुनौलो अवसर खोजेको तर त्यो सफल हुन नदिइएको हो’, दाहाललाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने। तर माओवादीका असन्तुष्ट नेताले सत्ताका लागि राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका थिए। ‘पार्टी अध्यक्षले एमसिसी अनुमोदन गरेर राष्ट्रघातसँग गठबन्धन सम्झौता गर्नुभयो, यो निकै गम्भीर विषय हो’, असन्तुष्ट एक नेतालाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने। दाहालले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरिएकै कारण सत्ता गठबन्धन जोगिएको दाबी गरेका थिए। दाहालले प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको एमसिसी सम्झौतालाई अमेरिकाले स्वीकार गरेको बैठकमा बताएका थिए।

दाहालले केन्द्रीय सदस्यलाई व्याख्यात्मक घोषणासहितको एमसिसी नै लागु हुनेमा आश्वस्त हुन भनेका थिए। एमसिसी अनुमोदनकै कारण सभामुखको पद जोगिएको र पार्टीलाई पनि सहयोग पुगेको दाबी उनले गरेका थिए। अर्का एक केन्द्रीय सदस्यका अनुसार बैठकमा अध्यक्षको भनाइप्रति धेरै प्रतिटिप्पणी र प्रतिक्रिया आए पनि एमसिसीकै कारण सत्ता गठबन्धन टिकेको र आगामी निर्वाचसम्म यसलाई टिकाउनुपर्नेमा सबै सहमत देखिए। ‘गठबन्धन निर्वाचनसम्म जान्छ, भत्काउन खोज्नेहरू असफल भएका छन्’, बैठकमा अध्यक्ष दाहलले भनेका थिए।

उनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने विषयमा विज्ञहरूसँग पनि लामो छलफल गरेको बताएका थिए। दाहालले कांग्रेस र एमाले मिलेर माओवादीलाई केन्द्र र प्रदेश सरकारबाट हटाउनेसम्मको योजना बनाएको पनि बताएका थिए। उनले एमसिसी अनुमोदन गराउन कांग्रेसले एमालेसँग सम्झौता गर्न लागेको र त्यसबाट आगामी निर्वाचनमा पार्टीलाई फाइदा नपुग्ने भएकाले पनि एमसिसी अनुमोदन गर्नुपरेको प्रस्टीकरण दिएका थिए।

बैठकमा अध्यक्ष दाहालले एमाले र ओलीलाई दोष लगाएर आफू उम्किन प्रयास गरेको आरोप केही सदस्यले लगाएका थिए। ‘एमाले अध्यक्ष केपी शर्मा ओली एमसिसीलाई जस्ताको तस्तै अनुमोदन गर्न चाहन्थे तर मेरो पहलमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको छ, यसमा तपाईंहरूले मलाई धन्यवाद दिनुपर्छ’, दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। श्रेष्ठलगायतका नेताहरूले भने व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको र त्यो कार्यकर्ता झुक्याउने खेलमात्रै भएको बताएका थिए।

दाहालले एमसिसीप्रति असन्तुष्ट नेताहरूलाई लिखित रुपमै धारणा राख्न अनुमति दिएका थिए। त्यसपछि नेताहरूले पालैपालो फरक मत राखेका थिए। बैठक सकिएपछि संसदीय दलको प्रमुख सचेतकसमेत रहेका गुरुङले पार्टी एक भएर अघि बढ्ने र दुई नेताहरूबीच उत्पन्न विवाद निरुपण हुने बताए। ‘उहाँहरू दुईजना (दाहाल र श्रेष्ठ) को अभिव्यक्तिबाट पार्टी एकतामा असर पर्ने शंका कसैले पनि नगरे हुन्छ। पार्टी एकताबद्ध भएर अगाडि बढ्नेछ। विषयगत आधारमा पार्टीभित्र मतभेद भइरहन्छ। त्यसले पार्टी एकतालाई झन् सुढृद बनाउँछ। आजको बैठकले यही सन्देश दिएको छ,’ उनले भने। उनका अनुसार स्वस्थ ढंगले छलफल अघि बढेको छ। अर्को बैठक आइतबार बस्नेछ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago