कैलालीमा सयौँ बिघा जमिन बाँझै

टीकापुर: बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् ।

भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गरेका थिए । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो । ‘गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु’, हरिबहादुर भन्छन्, ‘ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र गर्‍यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो ।’

खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउँछन् । ‘मेहनत र लगानी चाहिन्छ । एक बिघामा धान खेती गर्न ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे’, उनले भने, ‘यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ । यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ । खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ ।’

भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउँछन् । ‘हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्’, बलबहादुरले भने, ‘अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन् । विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन् ।’

भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्’, चौधरीले भने, ‘पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन । विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन् ।’

चौधरीले भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत ( पानी बढी हुने ) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताए । ‘यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कार्यक्रम, ब्लक प्रदर्शन, कृषि औजार सहयोगजस्ता कार्यक्रम गरिरहेका छौँ’, चौधरी भन्छन्, ‘त्यसैले हामीले पनि चैते धानलाई बढी प्रोत्साहन गर्छौं । यहाँका धेरै किसानले चैते धान खेती गर्नुहुन्छ ।’ भजनीमा गत वर्ष आएको बाढीले तीन हजार हेक्टरमा लगाएको धान बाली बगाएको कृषि शाखाले जनाएको छ । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago