नेपालबाट अचार निर्यात सुरू

काठमाडौँ: बजारमा विभिन्न ब्रान्डमा फरक–फरक स्वादका ‘रेडिमेड’ अचार किन्न पाइन्छ । उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि विदेशसमेत निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा झन्डै सवा २ करोड रुपैयाँको अचार बाहिरिएको छ, जसमा लप्सी, मुला, गाजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछाको समेत अचार निर्यात भएको छ ।

यस अवधिमा ३५ हजार ४ सय २७ किलो अचार निर्यात भएको विभागले जनाएको छ, जसको बजार मूल्य २ करोड १४ लाख २४ हजार रुपैयाँ छ । गत वर्ष ३९ लाख २२ हजार रुपैयाँ बराबरको ११ हजार ४४ किलो मात्र अचार निर्यात भएको थियो । गत वर्ष जापान मात्र निर्यात भएको नेपाली अचार यस वर्ष अस्ट्रेलियामा पनि पुगेको विभागले बताएको छ । सरकारले अचार निर्यात गर्न गत वर्षदेखि मात्र ‘राष्ट्रिय शीर्षक’ सिर्जना गरेको हो । ‘त्यसअघि यस्तो व्यवस्था थिएन, जसले गर्दा अन्य शीर्षकमै अचार निर्यात हुन्थ्यो,’ विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘छुट्टै शीर्षक नै बनाएपछि मात्र अचार आयातनिर्यातको तथ्यांक राख्न थालिएको हो ।’ कोभिडको बढ्दो संक्रमणका बेला संसारभरकै व्यापार/व्यवसायमा असर परेका अवस्थामा नेपालबाट भने अचार निर्यात सुरु भएको देखिन्छ ।
नेपालमा पुराना अचार उद्योग मात्र नभएर कोरोनाकालमै जन्मिएका अचार उद्योग पनि छन् । त्यसमध्ये एक हो, तमु अचार उद्योग । अन्य उद्योगको अचार ल्याएर पसल सञ्चालन गरिरहेकी तमुकी सञ्चालक ममता गुरुङले पनि अचार उद्योग सुरु गरिन् । उनले २ वर्षदेखि अचार बनाएर बेच्दै आएकी छन् । अचारकै व्यवसाय फस्टाउँदै गएपछि ६ महिनाअघि ललितपुर नखिपोटमा चलाइरहेको अचार पसल भने बेचिन् । ‘अचार बनाउन आवश्यक सामग्री सबै आफैंले ल्याउनुपर्छ, पसलमा बस्न समय नमिलेपछि बेचिदिएँ,’ उनले भनिन्, ‘अब जे भएपनि अचारकै व्यवसायलाई चलाउने भन्दै पसल बेचे । यहाँ पनि राम्रै हुँदै गइरहेको छ ।’ नखिपोटमा उनले अन्य किसानले उत्पादन गरेको अचार पनि बेच्थिन् ।

घरमै बनाइरहेको अचारको ‘रेसिपी’ लाई व्यवसाय बनाउन थालेको उनले सुनाइन् । ‘आफ्नै सिप, आफ्नै व्यवसाय, सामग्री आफैं जुटाउँछु, आँफै बनाउँछु, खुसार्नी, टिमुर केलाउन र सहयोग गर्न कर्मचारी राखेको छु,’ उनले भनिन्, ‘टिमुरको छोप र चिकेनको अचार मुख्य हो, अरु सामान्य उद्योगको जस्तै हो ।’ सुरुमा ६ लाख लगानी गरेर घरमै सुरु गरेको उद्योगमा अकबरे खुर्सानी धरान र टिमुर कालीकोटदेखि ल्याउने गरेको उनले सुनाइन् । सातामा १६० किलो अचार बनाउने ममताले खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत गरिरहेकी छिन् । उपत्यकासहित बाहिर जिल्लामा पनि आफूले उत्पादन गरेको अचार पठाउने गरेको उनले जानकारी दिइन् । ‘अचारिका’ ब्रान्ड पनि भर्खरै सुरु भएको हो । पोखरास्थित फाइनान्समा कार्यरत कमलादेवीले एक वर्षदेखि अचारको पनि व्यापार गर्न थालेको उनकी छोरी स्मृति बरालले बताइन् । ‘ममीले सधैं घरमै अचार बनाउनुहुन्थ्यो, उनकै सीपलाई बजारमा ल्याउने प्रयास गरेका हौं, अहिले त सामाजिक सञ्जालबाट मात्र बेचिरहेका छौं,’ उनले भनिन् ।
पेसाले इन्जिनियर स्मृतिले अहिले सामाजिक सञ्जालमार्फत अचार पनि बेचिरहेकी छिन् । ‘घरकै लागि मात्र बनाइने अचार अहिले काठमाडौं र पोखराका ग्राहकले पनि खाइरहेका छन्,’ स्मृतिले भनिन्, ‘महिनामा एक पटक अचार बनाउँछौं, त्यो सकिएपछि मात्र अर्को बनाउँछौं, लप्सी, कागती, निबुवा र मुलाको मात्र अचार बनाइरहेका छौं ।’ अब विस्तारै परिमाण बढाउने योजना रहेको उनले सुनाइन् । थोरै बनाउँदा पनि महिनामा २० देखि ३० हजारको कारोबार भइरहेको उनले बताइन् ।

स्वदेशमा नयाँ मात्र होइन, पुराना अचार उद्योग पनि छन् । यसकै उदाहरण हो– वसन्ती अचार उद्योग । ७३ वर्षीया वसन्ती खत्रीले बुटवलमा २०५३ सालदेखि अचार उद्योग चलाइरहेकी छिन् । अचार नेपाल मात्र नभएर विदेशमा पनि गइरहेको उनले सुनाइन् । उद्योग दर्ता गर्नुअघि उनले सालको पातमा दुई रुपैयाँमा अचार बेच्थिन् । बुटवलस्थित शिवनगर सामुदायिक वनमा घाँस–दाउरा गर्न आउनेहरूलाई अचार बेचेको उनले जानकारी दिइन् । ‘घाँस–दाउरा गर्नेहरूलाई अचार खुवाउन ५० रुपैयाँबाट एक लिटर तेल र दुई किलो आँप किनेर अचार बनाएर बिक्री गरें । सबैले मन पराएपछि झन् उत्साह जाग्यो । र उद्योग नै खोल्ने निर्णय गरें,’ उनले भनिन् ।

सानैदेखि अचार खान र बनाउन मन पराउने वसन्तीले उद्योग दर्ता गरेर नै स्वदेशदेखि विदेशसम्मकालाई अचार खुवाउन सफल भएकी छिन् । कोरोनाअघि वार्षिक २० लाख रुपैयाँसम्म नाफा कमाएकी वसन्तीको अचार व्यवसायले त्यसपछि भने बजार लिन सकेको छैन । अझै पनि बिस्तारै बजार लिनेमा उनी विश्वस्त छन् । आँप, अकबरे खुर्सानी, लसुन, च्याउ, लप्सी, मिस्कट, तामा, कोइरालो, करेला मेथी, सिक्नी, भट्ट, अमला, हरियो खुर्सानी, कागती, मुला, गाँजर टिमुरलगायतका अचार बनाउँदै आएको उनले सुनाइन् । कोभिडपछि भने वार्षिक आम्दानी ५ देखि ७ लाख मात्र भएको उनले बताइन् । ‘पहिला ११ जना कर्मचारी थिए, अहिले ५ जना मात्र कामदार छन्, व्यापार पनि पहिलाको जस्तो फस्टाएको छैन,’ उनले भनिन् ।

‘आमाको अचार’की संगीता पाण्डे पनि ११ वर्षदेखि यही व्यवसायमा छिन् । १० किलो डल्ले खुर्सानीबाट अचार बनाउन सुरु गरेकी उनले अहिले वार्षिक एक सय टनभन्दा बढीको अकबरेको अचार बेच्छिन् । ‘मैले बनाउने १३ थरी अचारको ८० प्रतिशत विदेशमा जान्छ, बाँकी स्वदेशमै खपत हुन्छ,’ उनले भनिन्, ‘सुरुवात गर्दा अचार पनि यस्तो व्यापार हुन्छ भनेर सोचेकी थिइन् ।’ सतुंगलमा कारखाना नै बनाएको बालुवाटार बस्ने पाण्डेले बताइन् । ‘विदेशबाट आउने अर्डरअनुसार पनि अचार बनाइन्छ, पुस–चैत अचारको सिजन हो, यो बेला २ सयसम्म कामदार राख्नुपर्छ, अहिले ६० जना मात्र छन्,’ उनले भनिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago