सधै माओबादी लाई भोट दिनु पर्ने हो भने कांग्रेसको राजनिति किन गर्ने ?

काठमाडौँ: चितवन — सत्तारूढ गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व लिने विषयलाई राजनीतिक ‘प्रतिष्ठा’ बनाउँदा गठबन्धनको भविष्यमाथि संशय उठ्न थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्र र गृहनगर भएकाले भरतपुर महानगरमा माओवादीको नेतृत्व हुनुपर्ने अडान राख्दै आएका छन् । दाहालले आफ्नो राजनीतिक प्रभाव जोगाइराख्न छोरी रेनु दाहाललाई मेयरमा दोहोर्‍याउने चाहना राखेको माओवादी नेताहरू बताउँछन् । त्यसका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तयार भए पनि नेता शेखर कोइराला र उनको समूह मान्न तयार भएको छैन ।
देउवाले पार्टीका नेताहरूसँग स्थानीय तहपछि आउने संघ र प्रदेशको चुनावसम्मै गठबन्धन गर्ने वातावरणका लागि दाहालको प्रस्ताव मानेर जानुपर्ने बताउँदै आएका छन् । चितवनमा माओवादीलाई सहयोग नगर्दा आगामी संघ र प्रदेश तहको निर्वाचनमा एमाले नेतृत्वमा वाम ध्रुवीकरण बन्न सक्ने चिन्ता देउवामा छ । कोइराला पक्षको बाहुल्य रहेको चितवन कांग्रेसले भने मेयर पाउनुपर्ने विषयलाई प्रतिष्ठाको विषय बनाइरहेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुरको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिने गरी तालमेल भएको थियो । तालमेलअनुसार नै प्रमुखमा माओवादीकी दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ठकुरी विजयी भएका थिए । २९ वडा रहेको महानगरमा माओवादीले ३ वटा वडामा अध्यक्ष जितेको थियो । वडाध्यक्ष जितेको एउटा वडामा माओवादी र एमालेबीच तालमेल भएको थियो । एमालेले सर्वाधिक १४ र कांग्रेसले १२ वटा वडा जितेका थिए । माओवादीसँग चुनावी तालमेल गरेर पहिला प्रमुख पद छाड्दा कांग्रेसमा चुलिएको असन्तोष अहिलेसम्म कायमै छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तहपछि हुने संघ र प्रदेशका चुनावसम्मै तालमेलको वातावरण बनाउन भरतपुर महानगर मुख्य परीक्षा रहेको बताए । ‘चितवनमा सेफ ल्यान्डिङ गर्ने कि फोर्स ल्यान्डिङ भन्ने विषय मुख्य समस्या छ,’ उनले भने, ‘माओवादीलाई दोहोर्‍याएर नेतृत्व दिनु भनेको फोर्स ल्यान्डिङ हुन्छ । फोर्स ल्यान्डिङ गर्दा विभिन्न जोखिम हुन्छन् । ती जोखिमले आउने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने वातवरण बिगार्न सक्छ । अहिले कांग्रेसलाई मेयर दिएर तालमेल गर्दा सेफ ल्यान्डिङ हुन्छ । कांग्रेस र माओवादी दुवैले यसलाई प्रतिष्ठाको विषय नबनाई सेफ ल्यान्डिङकै बाटो खोज्नु उचित हुन्छ ।’

चितवनमा आफ्नै पार्टीभित्रको असन्तुष्टिले देउवालाई निर्णय लिन अप्ठ्यारो परिरहँदा दाहालले भने आफ्नो गृहनगर र चुनावी क्षेत्रको महानगरमा दाबी नछाड्ने संकेत गर्दै आएका छन् । आफ्नो जीवनकालमै छोरी रेनुलाई राजनीतिक उत्तराधिकारीका रूपमा अघि सार्ने प्रयत्नमा दाहाल लागिरहेका छन् । रेनुले केही राम्रा काम गरेकाले चुनाव जित्न अघिल्लो पटकको तुलनामा सहज हुने निष्कर्ष पनि उनले निकालेका छन् ।

नेता नारायणकाजी श्रेष्ठले चुनावी तालमेल र गठबन्धनको विषयमा औपचारिक छलफल भइनसकेकाले पार्टीले अहिलेसम्म कुनै ‘पोजिसन’ नबनाएको बताए । ‘अहिले हामीले सबैतिरको रिपोर्ट मागिरहेका छौं, रिपोर्ट आएपछि केन्द्रीय तहबाट महानगर र उपमहानगरपालिकासम्म गठबन्धन गर्न सकिन्छ । अन्य स्थानमा स्थानीय तहलाई जिम्मा दिने हो,’ उनले भने, ‘जहाँ मिल्छ त्यहाँ मिलेर जाने, नमिलेको स्थानमा स्वच्छ रूपमा प्रतिस्पर्धा गर्ने भन्ने नै हाम्रो धारणा हो ।’

अर्का नेता हरिबोल गजुरेलले भरतपुर महानगरमा माओवादीले जितेको र अध्यक्षको आफ्नै गृहजिल्लासमेत भएकाले कांग्रेसले त्यसको मर्मलाई बुझ्नुपर्ने बताए । आ–आफूले जितेका पालिका कायम राखेर एमालेले जितेकोमा भागबन्डा गर्ने मुख्य नीति रहेकाले पनि भरतपुर माओवादीलाई दिनुपर्ने नीति अघि सारिएको उनको भनाइ छ ।

माओवादीका अन्य नेताहरूका अनुसार भरतपुर माओवादीले नलिँदा संघको निर्वाचनमा दाहाललाई सहज बनाउने, प्रदेशमा माओवादीलाई भूमिका दिने र भरतपुरबाहेकका महानगरपालिकामा मेयर लिने विकल्प पनि हुन सक्छन् तर त्यस्तो विकल्पमा जान झनै सहज नहुने गजुरेलको भनाइ छ । ‘विकल्प होलान् तर त्यसका लागि पनि सहज स्थिति हुन्न,’ उनले भने, ‘भरतपुरमा अहिले दुवै पार्टीले मेयर चाहिन्छ भनेर पोजिसन राख्नु गलत होइन तर अन्तिममा सहमति हुन्छ । भरतपुरकै कारण गठबन्धन भत्कने चिन्ता छैन ।’

देउवाप्रति माओवादीको भरोसा बढ्दो छ । कांग्रेसमा महानगरको उम्मेदवार चयन केन्द्रले गर्ने भएकाले पनि माओवादी अध्यक्ष दाहाल देउवाप्रति विश्वस्त छन् । कांग्रेस नेताहरू आफ्नो पार्टीले मेयर पाउँदाभन्दा नपाउँदा गठबन्धन भत्कन सक्ने संशय बढी देख्छन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा चितवन खटिएका कांग्रेसका केन्द्रीय प्रतिनिधि अब्दुल सतारले पार्टी नेतृत्वलाई बुझाएको रिपोर्टमा कांग्रेसले महानगरको नेतृत्व नपाए गठबन्धनले चुनाव हार्न सक्ने निष्कर्ष निकालिएको छ । देउवानिकट नेता सतारका अनुसार माओवादीलाई नेतृत्व दिँदा जित्ने सम्भावना एकदमै कम छ । ‘रेनुलाई नै मेयर दिएमा कांग्रेसभित्र मात्रै नभई माओवादीमा पनि असन्तुष्टि हुने देखिन्छ, चुनाव जित्न नसके त्यसैलाई निहुँ बनाएर माओवादीले २०७४ को घटना दोहोर्‍याउन सक्छ र गठबन्धन भत्कन सक्छ,’ सतारले भने, ‘धरातलको यथार्थ बुझेर माओवादी नेतृत्वले आफैं पछि हट्दा राम्रो सन्देश जान्छ ।’

चितवन कांग्रेसले आइतबार मात्रै महानगरको नेतृत्व नछाड्ने ‘बटमलाइन’ अघि सारिसकेको छ । प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्कुनअघि नै वडा कार्यसमितिहरूको भेला डाकेर कोइराला समूहको बाहुल्य रहेको चितवन कांग्रेसले लिएको निर्णयलाई पार्टीका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् । शेखर समूहका एक नेताका अनुसार भारतबाट फर्कनासाथ देउवाले माओवादीलाई मेयर दिने निर्णय लिन सक्ने अनुमानका आधारमा चितवन कांग्रेसबाट उक्त निर्णय आएको हो । ‘२०७४ को स्थानीय चुनावमा हँसिया हथौडामा मतदान गर्‍यौं, संघको चुनावमा हलोमा मतदान गर्‍यौं, अहिले कुनै हालतमा हँसिया हथौडामा मतदान गर्न सकिन्न भन्ने आवाज चितवनमा छ,’ शेखर समूहका ती नेताले भने, ‘यसपटक तार्किक, व्यावहारिक र सैद्धान्तिक रूपमा पनि कांग्रेसले आफ्नो ठाउँ छाड्दैन ।’

जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालका अनुसार महानगरका २९ वडामध्ये २८ वडाका अध्यक्षसहितका पदाधिकारीले महानगरको नेतृत्व लिएर अन्यमा गठबन्धन गर्न सुझाव दिएकाले त्यसैअनुसार पार्टीको जिल्ला कार्यसमितिले निर्णय लिएको बताए । ‘सैद्धान्तिक रूपमा गठबन्धनको विपक्षीमा हामी छैनौं, आजै पनि केन्द्रीय नीतिअनुसार गठबन्धनमा जाने निर्णय गरेका छौं तर गाँठी कुरा माओवादीले मेयर लिँदैमा जित्ने अवस्था छैन, यस पटक मेयर कांग्रेसले लिने कुरा हाम्रो बटमलाइन हो,’ खनालले भने, ‘स्थानीय अवस्थालाई प्रधानमन्त्री र माओवादी अध्यक्षले पछिल्लो पटक बुझेको जस्तो लाग्छ ।’

केन्द्रले जिल्लाको मागबमोजिम निर्णय गर्नेमा नेताहरू ढुक्क छैनन् । अघिल्लो निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा ठकुरीले मनोनयन दर्ता गरेर घोषणापत्रसहित प्रचारप्रसार सुरु गरेका थिए । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन चुनावी तालमेलको कुरा आएपछि तत्कालीन जिल्ला कार्यसमितिले विज्ञप्ति निकालेर चितवनमा त्यस्तो सम्भावना नरहेको प्रस्ट पारेको थियो तर बिहान विज्ञप्ति आएपछि दिउँसो केन्द्रले तालमेलको निर्णय गर्‍यो । कोइरालाले उम्मेदवारी फिर्ता नगरेपछि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई पत्र पठाएर उम्मेदवारी फिर्ता गराएका थिए । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले नै भरतपुर आएर गठबन्धनका लागि मत मागेका थिए । रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्रसमेत च्यातेका थिए ।

Comments
Kamal Panthi

Recent Posts

“सरकारलाई चुनौती: रवि लामिछानेको ‘मान्छे बेचेर होइन, बचाएर आएको’ भनाइ”

"रवि लामिछानेले भने: 'धरपकड सह्य नहुने, म राजनीति बचाउन आएको हुँ'" राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…

55 years ago

“साइबर अपराधमा दुर्गा प्रसाईंको पक्राउ: अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दियो”

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा…

55 years ago

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago