प्रदेश २ को सीमानाकासँग जोडिएका देहात(गाउँ) मा रातिको समय निकै चहलपहल हुन्छ। मुख्यनाका जोडिएका सडक भएर तस्करहरू सामानसहित नेपाल प्रवेश गर्छन्।

महोत्तरीको भिठ्ठामोड, धनुषाको तस्करी हुने मुख्य क्षेत्रमा खजुरी, महुवा बलहा, जटही, सप्तरीको कुनौली, बेलही, सोनारपट्टी, रौतहटको गौरलगायतका नाकाहरूमा राति ड्युटीमा खटिएका प्रहरीसामु नै मोटरसाइकल र साइकलमा तस्करीको सामान ओसारपसार गर्नेहरूको लाम लाग्ने गर्छ।

सिरहाको झाझपट्टी, कुसण्डी, पटेर्वा, माड्रलगयातका नाकाबाट पिकअप जीपमै तस्करीको सामान ओसारपसार भइरहँदा तस्करी नियन्त्रणका लागि सीमा खटिएका सशस्त्र प्रहरी निरीह दर्शक बन्ने गरेका छन्। सीमापारिबाट लत्ताकपडा, खाद्यान्न सामग्री, मोटर पार्टस्, कस्मेटिक्स, ग्यास चुलो, लाइटरहितका अवैध सामानहरू भित्रिन्छन्। वारिबाट मदिरा, मरिच, चाइना एप्पल, छोकरा, मटर पारि तस्करी हुँदै आएको छ।

सीमा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र नेपाल प्रहरीको एकाइ कार्यालय हुँदाहुँदै पनि तस्करीका सामान बेरोक भित्रिनुले मिलेमतो प्रष्ट्याउँछ। दुई साताअघि लहान प्रहरीले लहान नगरपालिका–२ कटहा चोकबाट तस्करीका समानसहित ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक पक्राउ गरी भन्सार कार्यालय ठाढीमा बुझायो।

सिरहाको नवराजपुर गाउँपालिका–१ का ट्रक चालक ३९ वर्षीय रामकुमार चौधरीलाई भन्सार कार्यालयले धरौटीमा छाड्यो। तस्करीका सामान र ट्रक भन्सार कार्यालयमै रहेको भन्सार प्रमुख ध्रुवप्रसाद महतोले बताए। भारतबाट कुसण्डी नाकाबाट ट्रकमा कस्मेटिकसहित प्रवेश गरेको ट्रकमा ३ लाख १५ हजार २ सय ४० रूपैयाँ बराबरको कस्मेटिक्स सामान थियो। प्रहरीले ट्रकसहित ११ लाख ४२ हजार १५० रूपैयाँ मूल्यांकन सहित भन्सारमा बुझाएको छ।

झाझपट्टी र कुसण्डी नाकाबाट तस्करीका सामान बोकेको सवारी साधन पक्राउ परेको यो पहिलो घटना भन्ने होइन। यसअघि पुस १२ गते पारिबाट तस्करीको चिनीको बोराले भरिएको बिआर ३२ जिबी १९१५ नम्बरको पिकअप जिप लहानस्थित तस्करको गोदामतर्फ आउँदै गर्दा भन्सार कर्मचारीले पक्राउ गरेको थियो। झाझपट्टी र कुसण्डी नाकाबाट तस्करीका सामान बोकेको जिप र ट्रक छिर्दासमेत सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट, नवराजपुर झाझपट्टीका इन्सपेक्टर प्रकाश पाण्डे बेखबर छन्। पारिबाट जिप र ट्रकमा तस्करीको सामान बोकेर वारि छिरेको आफूलाई थाहै नभएको उनले बताए।

झाझपट्टीका स्थानीयका अनुसार सुरक्षाकर्मीको मिलोमतोमा यस क्षेत्रमा रातभर तस्करीका सामान बोकेको गाडी बेरोक कुद्छ। सेटिङ नमिल्दा भन्सारका कर्मचारीले एउटा जिप पक्राउ गर्यो। सेटिङ मिलेदेखि कहिल्यै यत्तातिर नताकेको स्थानीय बताउँछन्। तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले केही सामान सामाति दिने गरेको छ। लाइन मिलेपछि सबै नदेखे झैं गरेर चुप बस्ने गरेको सीमाक्षेत्रबासी बताउँछन्।

कुसण्डी नाकाबाट सुर्ती, चिर्नी, लत्ताकपडाले भरिएको चिप प्रत्येक राति लहानको गोदाम पुग्छन्। लहानको गोदामबाट चाइना एप्पल, मरिच, छोकरा र मदिराले भरिएको पिकअप जिप कुसण्डी, झाझपट्टी, सितापुर हुँदै पारि पुग्छ।

प्रदेश प्रहरी कार्यालय, प्रदेश सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) लहानमा अखडा बनाएर तस्करको लाइन मिलाउँछन्। सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यिनै घुमुवाहरूले गर्छन्।

पछिल्लो समय तस्करीका लागि चम्केको नाका हो, वीरगन्ज। यहाँबाट मोटरसाइकल, जिपमा होइन कन्टेनरमै भन्सार छलीका सामान भित्रिने गरेको पइएको छ।

फागुन ११ गते वीरगन्ज प्रहरीले एनएल ०१ एल ६५४८ नम्बरको मालवाहक कन्टेनर पक्राउ गर्‍यो। चालक भारतको औरैया तैसिल युपी का २९ वर्षीय सुनिल कुमारलाई समेत पक्राउ गर्यो। राजस्व छली गरी भित्र्याइएको बिजक, खुद्रा मालवस्तुलाई अन्दाजी ५५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि फागुन १२ गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याँउछ। सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण सीमाक्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्।

तस्करीका सामान छ्यापछ्याप्ती

भारतीय ब्रान्डका सूर्तीजन्य पानमसाला रजनीगन्धा र तुलसी मधेस प्रदेशका गाउँदेखि सहरभरी छ्यापछ्याप्ती बिक्री हुन्छ। प्रत्येक किराना पसल, खुद्रा पसल, चिया पसल, पान पसलमा रजनीगन्धा तुलसी, सुर्तीलगायतका सूर्तीजन्य पदार्थ भेटिन्छन्।

नेपाली ५० देखि ६० रूपयौँमा एक पुरिया बिक्री हुने रजनीगन्धा र तुलसीमा प्रतिकिलो ८८५ रूपैयाँ अन्तःशुल्क तोकिएको छ। त्यसैगरी ३० प्रतिशत भन्सार र १३ प्रतिशत कर गरी एक किलोका लागि करिब १७ सय रूपैयाँ भन्सार बुझाउनुपर्छ। भन्सार बुझाएर ल्याउँदा महँगो पर्ने भएकाले तस्करीको बाटो प्रयोग गरी रजनीगन्धा र सूर्ती भित्र्याइन्छ ।

मधेस प्रदेशको आठवटा जिल्लामा मात्र दैनिक लाखौंको कारोबार हुने रजनीगन्धा र तुलसीको तस्करी हुँदा पनि नियामक निकाय आन्तरिक राजस्व कार्यालय मुकदर्शक छ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago