जंकफुडबाट टाढा राख्न र वृद्धि विकासमा सहजता ल्याउनका लागि विद्यालयमै खाजा!!

दाङ: सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी बालबालिकालाई शिक्षण सिकाइ केन्द्रित बनाउन विद्यालयमा पोषिलो खाजा कार्यक्रम लागु भए पनि त्यो अहिलेसम्म प्रभावकारी भएको छैन ।

बालबालिकालाई विद्यालय आफैँले करिब १५ रुपैयाँ बराबरको पोषिलो खाजा खुवाउनुपर्ने नियम छ । तर, अधिकांश विद्यालयले विद्यार्थी वा अभिभावकलाई खाजावापतको ५ रुपैयाँ दिँदा उनीहरूको खाजाको रुपमा जंकफुड प्रयोग बढेको छ । विद्यालयमै खाजाको व्यवस्था नहुँदा बालबालिकाले चाउचाउ, नमकिन, बिस्कुट जस्ता वस्तु प्रयोग गर्ने गरेका बताउँछन् । यद्यपि, यसभन्दा पहिले भने घरबाट उत्पादित खाजा खाने र त्यसवापत अभिभावकलाई नगद दिने व्यवस्था गरिएको थियो ।

विद्यालयको कमजोर व्यवस्थापनका कारण बालबालिकाले जंकफुड खान बाध्य भएको अभिभावक भूमिसरा बोहराले बताइन् । ‘विद्यालयमै खाजाको व्यवस्था छैन, मैले त अधिकांश समयमा घरमै नास्ता बनाएर पठाउने गरेको छु,’ उनले भनिन्, ‘सधैँ सम्भव पनि नहुने रहेछ, कहिले त नगद दिएर पठाउँछु, नगद हातमा परेपछि खै के खान्छन्, थाहा छैन ।’

बालबालिकालाई जंकफुडबाट टाढा राख्न र वृद्धि विकासमा सहजता ल्याउनका लागि सरकारले प्राथमिक तहमा दिवा खाजा लागु गरेको हो । नेपालको संविधान २०७२ को अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवं नियमावली २०७७ अनुसार बालबालिकाको दिवा खाजा कार्यक्रम कानुनी रूपमा स्थापित गरेको छ ।

प्राथमिक तहका बालबालिकालाई दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले आउने गरेको छ । विद्यालयले गुणस्तरीय खाजाको व्यवस्थापन गरी बालबालिकालाई दिवा खाजा खुवाउनुपर्ने भए पनि अधिकांश विद्यालयले अभिभावकलाई नगद रुपैयाँ दिँदा बालबालिकाले जंकफुड खान बाध्य छन् । विद्यालयमै नास्ता बनाएर खुवाउनुको साटो अभिभावकसँग समन्वय गरेर सरकारको मापदण्डविपरीत सोझै तोकिएको रकम एकमुष्ट दिने गरेको अर्का अभिभावक श्रीजना चौधरीले बताइन् । ‘कोरोना महामारीअघि विद्यालयमै खाजाको व्यवस्था थियो, तर कोरोना महामारीपछि बालबालिकाले जंकफुड खान बाध्य छन्,’ उनले भनिन्, ‘विद्यालयले खाजाको व्यवस्था विद्यालयमै नगर्दा बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।’

सरकारको नीतिअनुरुप सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थी जंकफुडमुक्त हुनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन । सामुदायिक विद्यालयको नेतृत्व गरिरहेका स्थानीय तहका शिक्षा शाखाले भने विगतका वर्षमा सो कार्यक्रम लागु भए पनि कोरोना महामारी लगायत कारण कार्यक्रम कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । आउँदो शैक्षिक सत्रबाट कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित पक्षसँग सहमति भइसकेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए ।

‘प्राथमिक तहका विद्यालयमा साना बालबालिकाको लागि दिवा खाजा कार्यक्रम लागु भएपनि कोरोनाका कारण प्रभावित हुन पुगेको छ ।’ उनले भने, ‘अब आगामी शैक्षिक सत्रदेखि यो कार्यक्रम लागु गछौँ, दिवा खाजाले बालबालिकाको सिकाइलाई पनि सहज बनाउँछ ।’

दिवा खाजा विद्यालयमा लागु नहुँदा धेरै बालबालिकाले कक्षा छोड्ने गरेका छन् । विद्यालयमै खाजा नहुँदा विद्यालय जाने समस्या बढेको छ । सरकारले सामुदायिक विद्यालयका प्राथमिक तहका विद्यार्थीको लागि कार्यक्रम ल्याएकोमा विद्यालयले सकारात्मक रुपमा लिए पनि बजेट अभावमा कार्यक्रम प्रभावकारी हुन नसकेको पशुपति माध्यमिक विद्यालय हरिपौराका प्रधानाध्यापक रुद्र डाँगीले बताए ।

‘कार्यक्रममात्र ल्याएर भएन, बजेटको पर्याप्तता नहुँदा दिवा खाजा कार्यक्रमले निरन्तरता पाउन सकेको छैन,’ उनले भने, ‘कोरोना महामारी आएपछि यो कार्यक्रम नै प्रभावित हुन पुगेको छ ।’

सिकाइलाई दिगो बनाउन शिशु कक्षादेखि पाँच कक्षासम्मका बालबालिकाका लागि विद्यालय दिवा खाजा कार्यक्रम लागु गरिए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago