ऋण तिर्न नसक्दा गाउँ छाड्दै महिला

२०७८, २१ माघ शुक्रबार १३:०८

गुल्मी: लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि गुल्मी दरबार गाउँपालिका–३, वीरबासकी रुचि मिदुन (नाम परिवर्तन) एक वर्षदेखि गाउँमा छैनन् । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले रुचिलाई ‘भगौडा’ को सूचीमा राखेको छ । ग्लोबल आईएमईले बेलाबेला घरैमा पुगेर रुचिका सासू–ससुरालाई ऋण नतिरे घर लिलाम गरिदिने चेतावनी दिन्छ ।
श्रीमान् भारत गएका बेला घरखर्च चलाउन धुर्कोट गाउँपालिका–६ की जुली पन्थीले मैत्री, छिमेकी, धौलागिरिसहित चारवटा संस्थाबाट लिएको ऋण अहिले ७ लाख पुगेको छ । श्रीमान् घर फर्केपछि ऋणका बारेमा झगडा भयो । दुई बच्चाकी आमा जुली दोस्रो विवाह गरेर गइन् ।

चार वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा फेन्सी पसल सञ्चालन गरेकी नेहा खातुन माघ लाग्नेबित्तिकै पसल बन्द गरेर सम्पर्कविहीन भएकी छन् । उनी भागेको भन्दै होहल्ला हुँदा उनले विभिन्न लघुवित्त वित्तीय संस्थाबाट लिएको लाखौं रुपैयाँ ऋण तिर्न नसकेको खुलेको छ । रुचि, जुली र नेहामात्र होइन, गुल्मीमा लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि धेरै महिलाको भागाभाग भएको छ । ऋणकै कारण कतिपय महिला घर–परिवार छाडेर भागेका छन् भने कतिको श्रीमान्सँग सम्बन्धविच्छेद भएको छ ।

केही वर्षअघिसम्म गाउँका महिला आफूलाई पैसाको जरुरत परे छिमेकीबाट सरसापटी गरेर चलाउँथे । जब गाउँमा लघुवित्त वित्तीय संस्थाले समूह गठन गरे, त्यसपछि भने सरसापटी चल्न छाड्यो । गाउँमा कसैले सापटी पैसा खोज्यो भने ‘समूहबाट लिए भैहाल्यो नि’ भन्ने जवाफ आउन थाल्यो । यस्तै समस्यामा परेपछि आफू पनि समूह सदस्य रहेको ग्लोबल आईएमी बैंकबाट ऋण लिएको गुल्मी दरबार–३, वीरबासकी दीपा रेश्मी (नाम परिवर्तन) ले बताइन् ।

ग्लोबल आईएमईको ५० हजार ऋणले उनलाई चक्रवर्ती ब्याज लगायो । सोही ब्याज तिर्न अन्य लघुवित्तबाट ऋण लिँदालिँदै ८ लाख रुपैयाँ पुगेपछि उनी अहिले कतिपय लघुवित्तबाट सम्पर्कविहीन छन् । ‘पहिला वीरबास बजारमा कपडा ल्याएको ६ सय रुपैयाँ बाँकी हुँदा बूढालाई पहिला त्यो ऋण तिरिदिनूस् अनि मात्रै बजार जान्छु भन्ने मान्छे हुँ म,’ उनले भनिन्, ‘पछि बुढा विदेश गएपछि गाउँमा सरसापट माग्दा पनि समूहबाट निकाल्ने नि, के गाउँ–गाउँ सापट मागेको भन्न थाले, लघुवित्तको ऋणले अहिले फसियो ।’

ऋणले थला परेकी गुल्मी दरबारकै अंकिता पेमी (नाम परिवर्तन) का अनुसार लघुवित्तहरू गाउँ पसेपछि सुरुमा समूह गठन गर्छन् । समूहलाई विभिन्न तालिम दिन्छन् र बचत गर्न सुरु गर्छन् । त्यसपछि लघुवित्तको ऋण लिनु गौरवको विषय हो जस्तो गरेर ‘कन्भिन्स’ गर्छन् । ‘समूहमा आबद्ध भएर तालिममा बसेपछि त ऋण नचाहिए पनि लिएर राखौं राखौं हुन्छ,’ उनले भनिन्, ‘अरू दिदीबहिनीले धमाधम ऋण लिन थालेपछि मैले पनि बचत गरेकी छु, किन ऋण नलिने भनेर लिइहाल्छन् र फस्छन् ।’ पेमीले विभिन्न ९ वटा लघुवित्त संस्थाबाट ८ लाखभन्दा धेरै ऋण लिएपछि अहिले कतिपय लघुवित्तबाट सम्पर्कविहीन छन् ।

ऋण लगानीका लागि लघुवित्तहरूले न महिलाको आयस्रोत हेर्छन् न त धितो नै खोज्छन् । जति धेरै ऋण लिन पनि कुनै समस्या नभएपछि महिलाले एकैपटक ९/१० वटासम्म लघुवित्तबाट ऋण लिने गरेका छन् । समूहकै केही सदस्यको जमानीका आधारमा सहज तरिकाले ऋण दिएपछि धेरै महिला फसेको गुल्मी दरबार गाउँपालिका उपाध्यक्ष मीना भण्डारीले बताइन् । ‘श्रीमान्को कमाइबाहेक आफ्नो कुनै आयस्रोत नभएका महिलालाई जम्मा गरेर श्रीमान्ले समेत थाहा नपाओस् भन्ने गरी ऋण दिँदा यो समस्या आएको हो,’ उनले भनिन्, ‘म निर्वाचित भएको पहिलो वर्ष नै मैले गाउँमा लघुवित्तले महिलालाई उठीबास लगाउने भए भनेर हटाउन खोजेको तर माथिबाटै दर्ता भएर ऋण लगानी गर्ने चिठी देखाएपछि हामीले केही गर्न सकिएन ।’

धुर्कोट गाउँपालिकाकी मेलमिलाप समिति संयोजक दुर्गा पन्थीका अनुसार सजिलै पाएपछि जति पनि ऋण लिने गरेका कारण तिर्ने समयमा महिला समस्यामा परेका छन् । जसका कारण उनीहरू भाग्ने र घरबारविहीनसमेत हुनुपरेको पन्थीको भनाइ छ । ‘बिनाधितो ऋण पाएपछि पछि तिर्नुपर्छ भन्ने उनीहरूको दिमागमै आएन । राम्रा कपडा, गहना किनेर लगाउने गरे, पछि तिर्नेबेला कतिले घरछाडेर हिँड्ने, भाग्ने अवस्था भयो,’ उनले भनिन्, ‘अहिले ऋण उठाइदिनुपर्‍यो भनेर गाउँपालिकाको न्यायिक समिति, मेलमिलाप समिति गुहार्छन् ।’ ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको गैंडाकोट शाखा प्रमुख रामहरि पौडेलका अनुसार गुल्मी दरबारमा मात्रै ऋण तिर्न नसकेर सम्पर्कविहीन हुनेहरूको संख्या ९० जनाभन्दा धेरै छ । उनीहरूबाट पुस मसान्तसम्म १ करोड ३५ लाख ३५ हजार ऋण उठाउन बाँकी छ । गुल्मी दरबारमा ग्लोबलसहित सबैको लघुवित्त, सूर्योदय लघुवित्त, उन्नति सहकारी लघुवित्तलगायतका लघुवित्तले विभिन्न समूह निर्माण गरी महिलालाई ऋण परिचालन गरेका छन् ।

जिल्लाका हरेक गाउँमा कम्तीमा ३ देखि १ दर्जनसम्म लघुवित्तहरूले महिलाका समूह गठन गरेर ऋण परिचालन गरेको र तिर्न नसकेर सम्पर्कविहीन हुनेहरूको संख्या गुल्मी दरबारमा भन्दा डरलाग्दो भएको लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति गठन गरेका नेकपा (माओवादी केन्द्र) गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष मनिराम ज्ञवाली बताउँछन् । आफ्ना सदस्य बढाउने होडबाजीमा एउटा लघुवित्तको ऋण नतिरेकाहरूलाई जबर्जस्ती ऋण दिँदा महिलाहरू ऋणको पासोमा फसेको स्वयं लघुवित्तका कर्मचारीसमेत स्वीकार्छन् । ‘अलिकति माइक्रो फाइनान्सहरूको अस्वस्थ प्रतिस्पर्धाका कारणले गर्दा सदस्यहरूले एउटाबाट ऋण लिने र अर्कोमा तिर्ने भएकाले अलिकति बढी अनुत्पादक क्षेत्रमा लागेको हो कि भन्ने मेरो विश्लेषण छ,’ ग्लोबल आईएमईको गैंडाकोट शाखा प्रमुख पौडेलले भने ।

ऋण चुलिए पनि महिला जसोतसो ब्याज तिर्ने प्रयास गर्छन् तर ऋण दिने लघुवित्तले घरमै गएर धम्क्याउने, श्रीमान् र परिवारका अन्य सदस्यलाई ऋणको बारेमा जानकारी दिने एवं गलत बाटो प्रयोग गरेर असुल्न थालेपछि विवाद पनि उत्तिकै भएका छन् । ‘श्रीमान् र परिवारका सदस्यले थाहा पाएपछि ऋण लिएको पैसाको सोधीखोजी भएपछि झगडा सुरु हुन्छ, कुरा गर्न डर लाग्छ,’ गुल्मी दरबारकी दीपा भन्छिन्, ‘अनि, श्रीमान् र परिवारले साथ दिए सहमतिमा अन्यत्र बसाइँ सरेर लुक्नुपर्छ, श्रीमान्ले बुझेनन् भने घरबारै बिग्रन्छ ।’

धुर्कोट गाउँपालिकाकी मेलमिलापकर्ता पन्थीका अनुसार परिवारमात्रै होइन, छरछिमेकसँग समेत सम्बन्ध बिग्रेर गाउँ छाड्नुपर्ने अवस्थासमेत आएको छ । ‘आफ्ना समूहका सदस्यले लिएको ऋण तिर्न समूहका अरू सदस्यले पनि ऋण काढेर दिन्छन् तर डुबेपछि उसले कसैको तिर्दैन र आफू त फस्छ फस्छ, अरूलाई पनि फसाउँछ,’ उनले भनिन् ‘त्यसपछि ऋण उठाइदिन पर्‍यो भनेर हामीलाई गुहार्छन् ।’ धुर्कोट गाउँपालिका–६ दाद्रको एउटै गाउँबाट तीन जना महिला भागेका छन् । ‘त्यसमध्ये एक जनाले दुई सन्तानसमेत लगेर दोस्रो विवाह गरेकी छन् भने श्रीमान्को पनि बिचल्ली भएको छ,’ उनले भनिन्, ‘अर्को एक जनाको परिवार नै विस्थापित भएको छ भने एक जना भारतमा गएर नोकरी गर्दै लघुवित्तलार्ई किस्ता पठाइरहेकी छन् ।’ गत पुस १५ मा ग्लोबल आईएमईको गैंडाकोट शाखाले आफ्ना सबै ऋणीलाई समूह बैठकमा शाखा प्रमुख रामहरि पौडेलले एउटा आश्वासन दिए, ‘तपाईंहरू धेरै संस्थामा सदस्य बन्नुभयो, पुरानो ऋण सबैले चुक्ता गर्नूस्, त्यसपछि हामी सबैलाई ५ लाखसम्म ऋण दिन्छौं र अरू संस्थाको ऋण तिरेर हाम्रोमा मात्र बस्नुहोला ।’

पौडेलको आश्वासन अनुसार धेरै महिलाले एक–दुई दिनका लागि भन्दै सरसापट गरेर लिएको रकमले उसको ऋण तिरे । तर थप ऋण माग्दा ग्लोबलले दिन मिल्दैन भन्यो । पुरानो ऋण नतिर्नेहरूका घर–घरमा पुगेर ताल्चा लगाइदिने, पशुचौपाया बेचेर असुल गर्नेसमेत धम्की दिन थाल्यो । त्यसपछि ५० हजारदेखि १ लाख रुपैयाँसम्म सरसापटी मागेर चलाएकाहरूको भागाभाग भयो । ‘हामीले त ३ वर्षमा किस्ता तिर्ने भनेर ऋण लिएका थियौं, भनेअनुसार तिरिरहेका पनि थियौं,’ गुल्मी दरबार–३ की परमिता पेमी भन्छिन्, ‘पौडेल सरले ५ लाख पाइन्छ भनेपछि एक–दुई दिनका लागि सरसापट गरेर ल्याएको पैसाले ऋण तिरे पनि थप ऋण नपाएपछि सरसापटले लुक्ने भाग्ने बनायो ।’ सो लघुवित्तले दुई महिनादेखि महिलाको बचतसमेत संकलन गरेको छैन । कसैको पनि बचत फिर्ता नगर्ने र ऋण नतिरेकाहरूको ऋण त्यसैबाट असुल गर्ने चेतावनी कर्मचारीहरूले दिएका छन् । ‘ऋण त दिएनन् दिएनन्, बचत पनि फिर्ता दिन्नौ भन्छन्, कतिका मोबाइल खोसेर राखेका छन्,’ पेमीले भनिन् ।

ऋणीलाई मात्र होइन, ऋणीको जमानी बसेकाहरूलाई समेत लघुवित्तले धम्क्याएर ऋण असुली गर्छन् । जसका कारण ऋणीको जमानी बसेका महिलाहरूको पनि उठीबास हुने गरेको छ । आफू समूहकी साथी भुमा सुवेदीको जमानी बसेकै कारण लघुवित्तले १ लाख २६ हजार रुपैयाँ असुल गरेको ईश्मा गाउँपालिकाकी सुनिता दाहालले बताइन् । ‘ऋण लिएर उनी भागिन्, म फसें । श्रीमान्ले थाहा पाएपछि मलाई कति तनाव भयो,’ उनले भनिन्, ‘तनावले एकपटक त हाम फालुझैं भयो, पछि सम्हालिएर आफैं काम गरेर तिरें ।’

लघुवित्तको ज्यादतीविरुद्ध गुल्मी दरबारमा लघुवित्तविरुद्धको संघर्ष समितिसमेत गठन भएको छ । समितिले गाउँबाट लघुवित्त खारेज गर्नुपर्नेलगायत मागसहित मंगलबार गाउँपालिकामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका संयोजक ज्ञवालीले बताए । ‘लघुवित्तले २० प्रतिशत ब्याज र ५ प्रतिशतसम्म सेवा शुल्क लिएर केही थाहा नभएका महिलालाई शोषण गरेका छन्,’ उनले भने, ‘न कुनै उद्यम व्यवसायका लागि, न कुनै आय आर्जनका लागि, बिनाकाम ऋण प्रवाह गरेर पुराना सामन्तले जस्तै किसानलाई ठग्ने लघुवित्त हटेनन् भने हामी आफैं लखेट्छौं ।’

Comments

ताजा खबर