औषधी कम्पनी एमक्योरकी ग्रोथ च्याम्पियन नमिता, ‍विद्यार्थीलाई उद्यमशील बन्न सिकाउँदै

ऐजेन्सी , दिल्ली: २१ वर्षको उमेरमा नमिता थापर क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट भइसकेकी थिइन्। तुलनात्मकरूपमा कठिन मानिने सीएको परीक्षा उनले पहिलो पटकमै पास गरेर आफ्नो क्षमता साबित गरिसकेकी थिइन्। त्यसको एक वर्षपछि नै उनी अमेरिका पुगिन्, जहाँ उनले ड्युक युनिभर्सिटीको फुकवा स्कुल अफ बिजनेसबाट एमबीए पूरा गरिन्। युनिभर्सिटीका सहपाठीहरु २८ वर्ष हाराहारीका थिए र नमिता अरुभन्दा निकै कम उमेरकी। त्यहाँ पढाइ सकेपछि उनले लगातार ६ वर्ष अमेरिकाकै वित्त तथा मार्केटिङ क्षेत्रमा काम गरिन्।

त्यसै समयमा यता भारतमा भने उनका बुवा एमक्योर फर्मास्युटिकल्सका संस्थापक तथा सीइओ सतिश मेहता प्राइभेट इक्विटी जायन्ट ब्ल्याक स्टोनबाट लगानी भित्र्याएर कम्पनीको व्यवस्थापन गरिरहेका थिए।

नमिता पढाइ तथा अनुभवले खारिएर सन् २००७ मा भारत फर्किइन् र चीफ फाइनान्सियल अफिसरका रूपमा एमक्योर ज्वाइन गरिन्।

जतिबेला उनी कम्पनी प्रवेश गरिन्, त्यसबेला कम्पनी ५० अर्ब भारुको मात्र थियो तर हाल १४ वर्षको अवधिमा उत्कृष्ट प्रदर्शन गर्दै यो ६ खर्ब भारुको कम्पनी बनिसकेको छ।

‘सुरुवाती समय निकै अप्ठेरो थियो। म सँग पढाइका सही डिग्रीहरु त थिए तैपनि मैले मानिसहरु सामु आफ्नो क्षमता पुष्टि गर्न र विश्वास जित्नुपर्ने थियो,’ नमिता भन्छिन्।

अमेरिकामा ६ वर्ष काम गरेर आफूलाई भारत फर्केर बुवाको कम्पनीको जिम्मेवारी लिन सक्ने गरीको दक्ष बनाएको उनी बताउँछिन्। कुनै पनि व्यापारिक संस्थालाई कसरी प्रणालीभित्र राखेर अघि बढाउने र त्यसो गर्दाका फाइदाहरु के के हुन्छन् भन्ने कुरा उनले अमेरिकामा गरेको कामबाट सिकिसकेकी थिइन्, जसले भारत फर्किएर एमक्योर ज्वाइन गर्दा थप मद्दत पुग्यो।

‘हामी पनि आफूलाई बिस्तार गर्न चाहिरहेका थियौं। र मैले अमेरिकामा काम गर्दाको अनुभवले कम्पनीलाई चाहेजसरी नै तीव्र बिस्तार गर्दै लैजान मद्दत पुग्यो। मैले संस्थामा बिमति राख्ने कल्चरलाई पनि आफूसँगै भित्र्याए जसबाट अझ बढी उत्कृष्ट आइडियाहरु लिन सकियो,’ उनले सुरुवाती दिनहरु सम्झिइन्।

सीएफओका रूपमा कम्पनीलाई माथि लैजानु नमिताका लागि राम्रो अनुभव थियो। तर कम्पनीको इन्चार्ज बन्ने उनको चाहना पूरा हुन लामो समय लाग्यो। उनले लगातार २ वर्ष बुवालाई आफू जिम्मेवारी लिन सक्षम छु भनेर मनाउन पर्‍यो तब मात्र उनले कम्पनीको कार्यकारी पद पाउन सकिन्।

हाल कम्पनीकी कार्यकारी निर्देशक रहेकी नमिता धेरैभन्दा धेरै मानिसहरुसँग अन्तर्क्रिया गरिरहन र ब्राण्डहरुको विकास गर्न रुचाउँछिन्। उनी भन्छिन्- ‘मेरो हुटहुटी मार्केटिङतर्फ पनि छ।’

एमक्योर फर्मास्युटिकलकी कार्यकारी निर्देशक नमिता सार्क ट्याङ्क इन्डियाकी जज तथा स्टार्टअपहरुमा लगानीकर्ताका रूपमा पनि मानिसहरुको आँखामा परेकी छिन्। सार्क ट्याङ्क इन्डिया अमेरिकी कर्पोरेट रियालिटी टिभी शोकै फ्रेन्चाइजी कार्यक्रम हो, जहाँ नयाँ बिजनेस मोडल तथा आइडियाहरुको मूल्यांकन गरी लगानी गरिन्छ। यसले युवाहरुको स्टार्टअपलाई प्लाटफर्म प्रदान गर्ने गर्छ।

भारतमा लिडिङ बिजनेस पर्सनका रूपमा उनी जति चर्चित छिन्, विद्यार्थीहरुलाई उद्यमशीलता विकासको लागि शैक्षिक कार्यक्रम ल्याउने व्यक्ति भनेर सम्मानित पनि।

सन् २०१६ मा उनले थालेको योङ इन्टरप्रेन्योर्स एकेडेमी (वाइइए) अमेरिकाको वाइइएकै फ्रेन्चाइजी हो। यसले ११ देखि १८ वर्षका विद्यार्थीहरुलाई वास्तविक र आत्मविश्वासी उद्यमीमा बदल्ने किसिमको तालिम संचालन गर्छ। उनले यो शिक्षा मुम्बई र दिल्लीका ३० विद्यालयका १२० विद्यार्थीबाट सुरु गरेकी थिइन्। हाल भारतका ६ वटा शहरका विद्यालयमा पढ्ने विद्यार्थीहरुमाझ यो बिस्तार भइसकेको छ। उक्त शैक्षिक संस्थाले मुम्बई, दिल्ली, बेंगलोर, पुने, चेन्नइ र हैदराबादमा ११ देखि १८ वर्षका किशोरकिशोरीलाई उद्यमशीलताबारे पढाउने गर्छ।

उनी भन्छिन्- ‘हामीलाई भारतमा अझै धेरै यस्ता शैक्षिक कार्यक्रमहरु चाहिएको छ जसले किशोरकिशोरीलाई सिर्जनशील र नवीन विचारहरुतर्फ प्रेरित गर्छ र नयाँ पुस्तालाई जागिर खाने सोचभन्दा माथि उठेर जागिर दिन सक्ने हैसियतमा पुर्याउन मद्दत गर्छ।’

यो कार्यक्रममार्फत उनले विद्यार्थीहरुमा बिजनेस आइडिया, बिजनेस प्लानहरु बनाउन सिकाउने, मार्केट रिसर्च गर्नुका साथै लगानीकर्तालाई आकर्षित गर्ने किसिमको योजनाहरु बनाएर प्रस्तुत गर्ने र वास्तविकतामै आफ्नै कम्पनी स्थापना र संचालन गर्न सक्षम बनाउनु आफ्नो उद्देश्य भएको नमिता बताउँछिन्।

एमक्योरमा भने उनले फाइनान्स, मार्केटिङ तथा मानव संसाधन जस्ता विविध क्षेत्रको व्यवस्थापन गरिरहेकी छन्। जसअन्तर्गत भारतभर ३ हजार मेडिकल रिप्रिजेन्टेटिभको व्यवस्थापन उनले हेर्ने गर्छिन्। कम्पनीको विश्वका ७० देशहरुमा उपस्थिति छ र विश्वभर ११ हजार कर्मचारी कार्यरत छन्।

नमिता फिनोलेक्स केबल्स र फुकुवा स्कुल अफ बिजनेसको संचालक समितिमा पनि छिन्। यसैगरी इन्क्रेडिबल भेन्चर्स लिमिटेडको संस्थापक तथा सीइओ हुन्।

कम्पनीको व्यवस्थापन बाहेक उनले गरेका कामहरुले धेरै पुरस्कार र सम्मान पाएका छन्। नमिता भारत सरकारको नीति आयोगको महिला उद्यमशीलता कार्यक्रम, डिजिटल हेल्थ टास्क फोर्स तथा च्याम्पियन्स अफ चेन्ज कार्यक्रममा पनि संलग्न छिन्।

सन् २०२१ मा उनको कुल सम्पत्ति ६ अर्ब भारुको हाराहारीमा रहेको अनुमान गरिएको छ।

एमक्योर भारतमा एचआइभी एन्टिभाइरल, प्रसूति रोग तथा रक्त सम्बन्धित औषधी उत्पादनमा बजारको लिडरहरुमध्ये एक मानिन्छ। सन् २०२१ मार्चमा क्रिसिलले गरेको अध्ययन अनुसार भारतमा उसको आन्तरिक बजार हिस्सा एचआइभी एन्टिभाइरलमा ५१.५३ प्रतिशत, प्रसूतिरोग सम्बद्ध औषधीको बजार ११.८५ तथा रक्त सम्बन्धित औषधीको बजार १०.२६ छ।

विश्वका ७० देशमा उपस्थिति जनाएको एमक्योरको यूरोप र क्यानडामा बलियो उपस्थिति देखिन्छ।

सन् २०२१ मा एमक्योरको रेभेन्यू ६०९१.८ करोड रहेको बताइएको छ। सन् २०२० मा यो ५१३०.८ र सन् २०१९ मा यो ४८१५.६ करोड थियो।

सन् २०१९ र २०२१ बीचमा कम्पनीको कुल आन्तरिक बिक्रीमा वार्षिक ११.२८ प्रतिशतका दरले वृद्धि भएको देखिन्छ।

सन् १९८३ मा स्थापित एमक्योरमा ११ हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्। कम्पनीमा नमिताका बुवा तथा संस्थापक, एमडी तथा सीइओ सतिश मेहताको ४१ प्रतिशत सेयर छ। कम्पनीको दुई सहायक कम्पनीहरु जुभेन्टस हेल्थ केयर र मोर एमक्योर पनि सञ्चालनमा छन्। फेब्रुअरी महिनामै कम्पनीले ५ खर्ब भारु बराबरको आइपीओ समेत जारी गर्ने योजना बनाएको छ।

Comments
Kamal Panthi

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago