दसैं र निर्वाचन एकैपटक परेकाले यसपालिको दसैं जनताको बीचमा मनाउने

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंग्याएका छन् । समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरू प्रतिनिधिसभाको उम्मेदवार चयन गर्न अन्तिम तयारीमा लागेका छन् ।
प्रतिनिधिसभाका सम्भावित उम्मेदवारहरू आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । दसैंको अवसरमा गाउँ गएका मतदातालाई आफ्नो पक्षमा पार्न उनीहरूले भेटघाट र शुभकामना आदानप्रदान बढाएका छन् । दसैं मनाउन सहरबाट गाउँ गएका मतदाता चुनावको माहोलमा छन् ।

आइतबार दलहरूले बुझाएको बन्दसूची नै लगभग अन्तिम हुनेछ । बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ । ‘समानुपातिकतर्फको बन्दसूची संशोधन गरेर दलहरूले बुझाइसकेका छन्,’ आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘अब उम्मेदवारको बन्दसूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे फिर्ता हुने, फिर्ता भएको ठाउँमा अर्को व्यक्तिलाई दलले उम्मेदवार बनाउन सक्ने तालिका छ । यही सूचीलाई आयोगले असोज २२ मा प्रकाशन गर्नेछ ।’

समानुपातिकको निर्वाचन कार्यक्रमअनुसार बन्दसूचीमा नाम रहेका उम्मेदवारले सोमबार १२ बजेसम्म आफ्नो नाम फिर्ता लिन निवेदन दिन सक्नेछन् । आयोगले बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सोमबार ३ बजेसम्म सम्बन्धित दललाई दिनुपर्ने हुन्छ । मंगलबार, बुधबार मात्रै निर्वाचनसम्बन्धी कुनै कार्यक्रम छैन । असोज २० देखि २२ सम्म उम्मेदवारको नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा त्यही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली राजनीतिक दलले आयोगमा पेस गर्नुपर्ने हुन्छ । ‘निर्वाचन आयोग टीकाको दिन पनि खुला हुन्छ,’ प्रवक्ता शर्माले भने ।

असोज २३ मा प्रत्यक्षतर्फकै उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । उम्मेदवारी दर्ता गर्ने कार्यालय शनिबारदेखि खुल्न थालेका छन् । टीकाको भोलिपल्टसम्म १ सय ६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलिसक्ने आयोगका प्रवक्ता पौडेलले बताए । आयोगले हरेक निर्वाचन क्षेत्रलाई पायक पर्ने स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ ।

माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख लीलामणि पोखरेलले दसैं चुनावमय हुने बताए । आउँदो निर्वाचनको चर्चा दसैंमा भेट भएका आफन्तबीच समेत चर्चाको विषय बन्ने भएकाले यसपालि विशेष दसैं हुने उनले बताए । नेताहरूले पनि दसैं जनतासँगै मनाउने उनले बताए । ‘टीकाको भोलिपल्ट पनि समानुपातिकतर्फका उम्मेदवारले नाम फिर्ता लिए दलहरूले अर्को व्यक्तिको नाम बुझाउनुपर्ने कार्यक्रम छ । कोजाग्रत पूर्णिमाकै दिन उम्मेदवारी दर्ता छ,’ पोखरेलले भने, ‘दसैं त हरेक वर्ष आउँछ, निर्वाचन ५ वर्षपछि आएको राष्ट्रिय महत्त्वको कार्यक्रम हो । दसैं र निर्वाचन एकैपटक परेकाले यसपालिको दसैं जनताको बीचमा मनाउने हो ।’

एमालेका कानुन विभाग प्रमुख रमेश बडालले दसैंमा पनि निर्वाचन कार्यक्रम रहेकाले दलहरू सक्रिय हुनुपर्ने अवस्था रहेको बताए । ‘दसैं चाड त हुँदै हो । निर्वाचन महाचाड हो,’ उनले भने, ‘आउँदो निर्वाचनमा उम्मेदवार हुन चाहनेहरू त झन् दसैं मनाउने अनि अन्यत्रबाट घर आएका मतदातालाई भेट्न बढी समय खट्नुपर्ने हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर बेलैमा निर्वाचन खर्च नबुझाउने व्यक्ति पनि दलहरूले आयोगमा बुझाएको बन्दसूचीमा परेका छन् । ४२ जनाले भने १ करोड ७८ लाख जरिवाना बुझाइसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक र प्रत्यक्षमा उम्मेदवार हुन जरिवाना अनिवार्य बुझाउनुपर्ने निर्णय आयोगको छ । असोज २२ मा उम्मेदवारको बन्दसूची सूचना प्रकाशन हुनेछ । असोज २३ देखि २९ मा उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतामा दाबी विरोध गर्न पाइनेछ । त्यसपछि आयोगले दाबी विरोधको जाँचबुझ गर्नेछ । उम्मेदवारको अन्तिम नामावली कात्तिक ९ मा प्रकाशन हुनेछ । कात्तिक २६ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

राजनीतिक दलका नेताहरूले भने दसैंको शुभकामना दिँदै आआफ्नो दललाई मत मागिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले दसैंको शुभकामना व्यक्त गरेका छन् । माओवादी अध्यक्ष दाहालले शुभकामनासँगै प्रतिगमनविरोधी शक्तिलाई मत दिन आग्रह गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago