चिया पसल र चौतारीमा चुनावकै चर्चा, शुरु भएन मतदाता शिक्षा कार्यक्रम

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै चुनाव प्रचार अभियानले गति लिएको हो । यहाँ मतदाताको मन जित्न उम्मेदवारहरु घरदैलो गर्न व्यस्त छन् । मतदातालाई घरमा नभेटेपछि खेतबारीमै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने जस्ता कामहरुमा सघाए जस्तो गर्छन् र यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट माग्दै त्यहाँबाट विदा हुन्छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिका र धवलागिरि गाउँपालिकामा पाँच दलीय गठबन्धन मध्येको नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्तरुपमा उम्मेदवार खडा गरी चुनाव प्रचारप्रसार गरिरहेका छन् । नेकपा (एमाले) र राप्रपाले एक्लै चुनावी अभियान शुरु गरेका छन् । नेका, एमाले र माओवादी केन्द्रले मनोनयन दर्ता गरेदेखि नै चुनावी अभियान थालेका छन् भने राप्रपा, अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह प्राप्त भएपछि चुनावी अभियान शुरु गरेका छन् । म्याग्दीका केही स्थानीय तह र वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेपछि नेका र एमालेलाई मत काटिने भय छ ।

यस पटक निर्वाचनमा प्रचारप्रसारको शैली विगतको भन्दा फरक देखिँदै छ । चर्को माइकिङ र गाउँ शहरमा असरल्ल देखिने पोस्टर अहिले कतै देखिएका छैनन्। विगतका चुनावहरूमा जस्तो भद्दा प्रचारप्रसार भने यसपटक रोकिएको अनुभूति म्याग्दीवासीले गरेका छन् ।

विगतका चुनावहरूमा यतिबेला म्याग्दीको सदरमुकाम बेनीबजार लगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पाटी पौवादेखि सडकका भित्ता र पुलहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे । यसपटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण सदरमुकाम र गाउँका सार्वजनिक स्थल, चौतारी र पर्खालहरु कुरुप हुन पाएका छैनन् ।

मनोनयन दर्तासँगै प्रचार सामग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावहरूमा जस्तो भ्याइनभ्याईको अवस्था भने नरहेको छापाखाना तथा अफसेट प्रेसका व्यापारीहरू बताउँछन् ।

आचारसंहिताका कारण ठूला ब्यानर र पर्चा पोस्टरको व्यापार खस्किएको छ । प्रचार सामग्रीहरूको मूल्यवृद्धि र गठबन्धनका कारण पनि माग कम आएको हुनसक्ने बेनी बजारस्थित जनता प्रेसका सञ्चालक रुद्र प्रसाद सुवेदी बताउँछन् । चुनाव नजिकिएसँगै प्रचार सामग्री छाप्न भ्याइनभ्याई हुने यस क्षेत्रका पसलहरूमा अहिले ग्राहक आकलझुक्कल मात्र देखिन्छन् । यसले निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको परिपालना राम्रैसँग भइरहेको देखाउँछ । उम्मेदवारहरू हिजोआज पोस्टर र ब्यानरभन्दा पनि सामाजिक सञ्जालबाट आफ्ना एजेण्डा सुनाउन सक्रिय देखिएका छन् ।

चिया पसल र चौतारीमा चुनावकै चर्चा

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी उनीहरुलाई चुनाव चिह्न प्रदान भइसकेको छ । उम्मेदवारले चुनावी चिन्ह पाएपछि म्याग्दीमा चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । गाउँदेखि शहरसम्म, चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा छ ।
ग्रामीण क्षेत्रका गाउँघर र बस्ती बस्तीमा पुगेर मतदाता भेट्ने र भोट माग्ने गरिरहेका उम्मेदवारहरुले आफूले चुनाव जितेपछि जनतालाई सुविधा पुग्ने र गाउँको मुहार फेरिने वाचा मतदातासामु गरिरहेका छन् ।

बेनी नगरपालिकामा गठबन्धनले चुनाव प्रचार अभियानलाई तीव्र रुपमा अघि बढाएको नेका बेनी नगर समितिका सभापति रविन्द्र कार्कीले बताए। उनका अनुसार नगरका १० वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन भैरहेका छन् ।

त्यसैगरी, नेका र माओवादी केन्द्र गठबन्धनले जिल्लाको धवलागिरि गाउँपालिकामा पनि उम्मेदवारी दर्ता गरेको दिनदेखि नै चुनावी प्रचार अभियान शुरु गरेको छ। बेनी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरपालिकाको प्रमुखमा नेकाका चिरञ्जीवी पौडेल र उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने उम्मेदवार छन् । उनीहरु प्रतिबद्धता पत्र नै सार्वजनिक गरेर चुनावी प्रचारमा लागेका हुन् ।

एमाले र राप्रपाको बेनी नगर समितिले पनि आइतबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । उनीहरु वडागत रूपमै समयतालिका तयार गरेर भेला, सभा र घरदैलो अभियानमा जुटरहेका छन् ।

जिल्लाका अन्य स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पार्दै आएका छन् ।

शुरु भएन मतदाता शिक्षा कार्यक्रम

निर्वाचन आउन नौ दिन मात्र बाँकी रहँदासम्म म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छैन । यसले गर्दा बदर हुने मतको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

जिल्लामा ८५ प्रतिशत भन्दा बढी मतदाता ग्रामीण क्षेत्रका रहेका र गाउँमा अहिले खेतीपातीको कामको चापाचाप भएकाले मतदाताले निर्वाचनलाई भन्दा खेतीपातीको कामलाई बढी प्राथमिकता दिएका छन् । उनीहरुले भोट माग्न घरदैलोमा आएका उम्मेदवारहरुका कुरा सुन्न र मतदान गर्ने तरिका सिक्न पनि भ्याएका छैनन् । यस पटकको निर्वाचनमा बदर मतको प्रतिशत बढी हुने आकलन बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँको छ ।

जिल्लाका केही स्थानीय तह र वडाहरुमा फरक दलबीच गठबन्धन भएर आ–आफ्नै चुनाव चिह्नबाट प्रतिष्पर्धा हुने भएकाले पनि मत बदर हुने सम्भावना बढेको स्वयं उम्मेदवारहरु नै बताउँछन् । बेनी नगरपालिका–२ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार डम्मर सापकोटाले मतदाता शिक्षाको अभावमा बदर मतको प्रतिशत बढी हुने आशङ्का व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारको सङ्ख्या धेरै हुने तर मतदाताले थोरैलाई मात्र मत हाल्ने गरेको विगतको नजिर रहेको छ । एउटा पालिकामा सात जनालाई भोट दिनुपर्ने तर, सो कुरा धेरैलाई थाहा नहुने भएकाले त्यस्तो हुने गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

धेरै मतदाताले शुरुको मतदान चिह्नमा छाप लगाएर पछिकामा नलगाउने गरेको पाइएको अनुभव जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेको छ । गठबन्धन गर्ने दलको उम्मेदवार नभएको पालिकामा पनि मतदान चिह्न रहने भएकाले मत खेर जाने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

अघिल्ला निर्वाचनमा स्थानीय रेडियो तथा सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण गरिने गरिएकामा यस पटक त्यस्ता कार्यक्रम गरिएका छैनन् । यस वर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिए।

उनका अनुसार मतदान गर्ने अवधि अझै दुई हप्ता बाँकी रहेकाले कार्यक्रम आए प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने छ । अहिलेसम्म नमूना मतदान कार्यक्रम गर्ने भन्ने मात्र जानकारी आएको र सो कार्यक्रम शून्य समय शुरु हुनु केही दिनअघि सञ्चालन गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए। रासस

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago