कुश्मीसेरामा हात्तीपाइलेका बिरामी धेरै , लामखुट्टे नियन्त्रण गर्न सकस

२०७८, २० चैत्र आईतवार १२:३१

बागलुङ: बागलुङ–१४ को नारायणस्थान र जैमिनी–१ को कुश्मीसेरामा हात्तीपाइलेका बिरामी धेरै छन् । गर्मी लागेपछि यहाँ कालाजार, जापनिज इन्सेफ्लाइट्स, मलेरिया, डेंगुलगायत रोग देखिने गरेका छन् । यस्ता रोगका कारण हरेक वर्ष जनस्वास्थ्य सुरक्षामा लाखौं लगानी भइरहेको छ । जनस्वास्थ्य समस्याका रूपमा पनि देखिएकाले स्वास्थ्यकर्मी चिन्तित छन् ।
यो वर्ष पनि भेटिएका हात्तीपाइलेका रोगीमध्ये आधा बढी नारायणस्थान र त्यसपछि कुश्मीसेरामा भेटिएका छन् । अन्य रोगको जोखिमसमेत यहींबाट बढेपछि जनस्वास्थ्य सरोकारको विषय बनेको हो । ‘सबै प्रकारका रोगको संक्रमण हुन सक्ने स्थान भएकाले सम्भव हुनेसम्मको संयन्त्र प्रयोग गरेर नियन्त्रण र निवारण प्रयास सुरु भएको छ,’ बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘हात्तीपाइलेको औषधि खाएको अनिवार्य कार्ड बनाउने, अन्य रोग नियन्त्रणमा पनि अनिवार्य सहभागी बन्नुपर्ने प्रावधान तोकिएको छ ।’

नारायणस्थानमा मात्रै १६ वटा टोलमा रहेका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र अन्य युवा क्लब परिचालन गरेर रोगबारे तालिम दिइएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले बताए । वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘वडाले मात्र महामारी निवारण तथा लामखुट्टे नियन्त्रण सम्भव छैन ।’ यहाँ अनुकूल वातावरण भएकाले हरेक प्रकारका लामखुट्टे भेटिने खनालको भनाइ छ । ‘क्युलेस प्रकारको लामखुट्टेले हात्तीपाइले, एनाफेली नामक लामखुट्टेले मलेरिया र आदेश नामक लामखुट्टेले डेंगु सार्ने अध्ययनले देखाएको छ,’ खनालले भने, ‘यस्ता सबै रोग सार्ने लामखुट्टे यहाँ भेटिएका छन् ।’

जनस्वास्थ्य समस्या देखिएपछि घरघरमा पुगेर सरसफाइबारे चेतना दिने, प्रत्येक घरका नागरिक सहभागी भएर खाल्डाखुल्डी र फोहोर पानीका आहाल पुर्ने काम भइरहेको शर्माको भनाइ छ । ‘दिनभर सबैलाई काममा लगाएर सरसफाइ अभियान चलाएका छौं,’ शर्माले भने । दक्ष स्वास्थ्यकर्मी नहुँदा जनस्वास्थ्यका विद्यार्थी झिकाएको उनले बताए । महामारी रोग नियन्त्रण तथा किटजन्य रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यहाँ ९ प्रकारका रोग सार्ने लामखुट्टे भेटिएको थियो ।

कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडक छेउमा खुलेका दर्जनौं रेस्टुरेन्टमा पनि शुद्ध र सफाइ खाना खुवाउन आग्रह गरिएको खत्रीले बताए । ‘यहाँ सबैभन्दा बढी डेंगु र जापनिज इन्सेफ्लाइटिस रोगको डर छ,’ शर्माले भने, ‘गर्मी र वर्षात्मा धेरै रोगको सामना गर्नुपरेको छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु