कहिले देखि अन्त्य होला , बिरामी परे भरिया लगाएर बोकेर लैजानु पर्ने अबस्था

कल्पना श्रेष्ठ, दाङ : गाउँसम्म मोटरबाटो पुगेको छ । तर, गाडी गुड्दैनन् । मानिस बिरामी परे भरिया लगाएर बोकेर लैजानु पर्छ । ज्यानको बाजी थापेर खोला वारपार गर्नुपर्छ । ठूला गाडी अहिलेसम्म स्वर्गद्वारी नगरपालिकाको सारीसम्म पुगेका छैनन् । सडक भएर पनि गाडी नपुग्नुको एउटै कारण हो– निर्माणाधीन पक्की पुल अलपत्र पर्नु ।
रोल्पाको खुंग्री र प्यूठानको सारी जोड्ने उक्त पुल सम्पन्न नहुँदा सारी गाउँमा यातायातका साधन चल्न नसकेका हुन् ।

सडक विभाग र नागार्जुन कन्स्ट्रक्सन प्रालिबीच २०७४ असार २९ मा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको चार वर्ष बितिसक्दा पनि पुल निर्माण अलपत्र छ । ‘खोला वारिपारि दुईवटा पिलर मात्रै ठडिएका छन्,’ स्थानीय निमबहादुर गिरीले भने, ‘पुलले गाउँकै सपना अधुरो पारेको छ ।’ ठेकेदारले ‘काम हुन्छ हुन्छ’ भन्दै वर्षौंदेखि गाउँलाई झुलाएर राखेको उनले बताए । धेरैपटक पुलका विषयमा वडा, नगरपालिकालगायतमा पहल गर्न आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
१ सय मिटर लामो उक्त पुलको बीचमा चट्टान भेटिएको भन्दै निर्माण कम्पनीले पाइल फाउन्डेसनको साटो ओपेन फाउन्डेसन गर्नुपर्ने भन्दै ०७६ फागुनमा सडक डिभिजन प्यूठानमा माटो परीक्षण रिपोर्टसहित निवेदन दिएको थियो । सडक विभागले पुनः माटो परीक्षण गर्दा चट्टान नभेटिएको भन्दै पुरानै डिजाइनमा काम अघि बढाउन निर्देशन दियो तर अहिलेसम्म काम अलपत्र परेको वडाध्यक्ष हीरामणि भण्डारीले बताए । ‘तीन पटकसम्म माटो परीक्षण हुँदा पनि अवस्था के हो भन्ने प्रस्ट छैन,’ उनले भने, ‘कार्यालयले दलदल छ काम गर्न सकिन्छ भन्छ । ठेकेदारले चट्टान छ काम गर्न सकिंदैन भन्छ । कसको कुरा विश्वास गर्ने ?’

पुलको डिजाइनको समस्याले काम गर्न ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ । समस्याका विषयमा कार्यालयलाई जानकारी गराए पनि कार्यालय खारेज हुने, कर्मचारीको सरुवा र समन्वय अभावमा समस्या भएको निर्माण व्यवसायी दीपक फुयाँलले बताए । ‘कार्यालय प्यूठान फर्किएको छ, अब केही दिनमै काम सुरु गर्छौं,’ उनले भने, ‘पहिले कार्यालयकै कारण काममा ढिलाइ भएको हो ।’ सडक डिभिजन कार्यालय प्यूठानबाट खारेज भएपछि केही समय अन्योल देखिएको थियो । अहिले कार्यालय जिल्लामै पुनःस्थापन गरिएको छ ।

स्वर्गद्वारी नगरपालिकाको जलुके र बेलबास जोड्ने गरी सुरु भएको पुल पनि अलपत्र छ । २०७३ मा तीन वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा पाएको लोहनी एण्ड ब्रदर्स कम्पनीले निर्माण सम्पन्न गर्न समय सकिएको दुई वर्ष बितिसक्दा समेत काम आधामात्रै पूरा गरेको छ । वर्षात सुरु भएपछि काम गरेजस्तो गर्ने र कहिले बाढीले निर्माण सामग्री बगायो त कहिले कोरोनाको बहाना बनाउँदै कम्पनीले काम पूरा गरेको छैन । पुल नहुदा गाउँमा ठूला गाडी गुड्दैनन्, साना गाडी झोलुंगे पुलबाट वारपार गर्ने गरेको स्थानीय विष्णु परियारले बताए । गाउँबाट बजार गर्न भिंगृ झर्नुपर्छ । ठूला गाडी गाउँ नजाँदा आवतजावतमा समस्या भएको उनले बताए ।

लुम्बिनी प्रदेशको गौरवको आयोजनाअन्तर्गत कपुरकोट–रामपुर सडकको प्यूठान खण्डको स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकालाई यो पुलले जोड्ने गर्छ । पुल निर्माण समयमै पूरा नभएपछि अहिले भिंगृ–बेलबास जोड्न माडी खोलामा बेलिब्रिज राखिएको छ । तर, बेलिब्रिजमा ठूला गाडी गुडाउन नमिल्ने स्वर्गद्वारीका प्रमुख नेत्रबहादुर रोका क्षत्रीले बताए । सारी र बेलवासको अलपत्र पुल सम्पन्न गर्न धेरै ठाउँमा हात जोडे पनि काम नभएको उनले बताए । संघीय सरकारको योजना भएपछि स्थानीय जनप्रतिनिधिलाई कसैले नटेर्ने उनको भनाइ छ ।

ऐरावती गाउँपालिकाका विभिन्न स्थानमा पनि पुल निर्माण वर्षौंदेखि अलपत्र छन् । ऐरावतीका चार स्थानमा पुल निर्माण अलपत्र परेको पालिका अध्यक्ष नविलविक्रम शाहले बताए । काम सुरु गरे पनि पूरा कसैले नगरेको उनको भनाइ छ । पालिकाको द्वारेघाट पक्की पुल, झिवाङ–घुइबाङ तथा पत्रेखोला–अर्लाबाङका पुल अलपत्र छन् । ‘यहाँका पुलको मुख्य समस्या बजेट हो,’ अध्यक्ष शाहले भने, ‘करोडका योजनामा लाख बजेट छुट्याइन्छ ।’ ८ करोड बराबरको पुलका लागि सरकारले ५० लाख वार्षिक बजेट विनियोजन गर्दा निर्माण पूरा नभएको उनले बताए । पर्याप्त बजेटको व्यवस्था सरकारले गरिदिए ठेकेदारलाई ताकेता गरेर पुल निर्माण गर्न जनप्रतिनिधिले भूमिका खेल्ने उनको भनाइ छ । पुल अलपत्र हुँदा खोला वारपार गर्न समस्या भएको र वर्षातको समयमा झनै समस्या हुने गरेको स्थानीय वसन्त खड्काले बताए ।

‘खोला वारपार गर्दा कतिको बगेर ज्यान गयो,’ उनले भने, ‘जनताको समस्यामा सरकार उदासिन छ ।’ वर्षौं पहिले सम्पन्न हुने पुलको काम आधा पनि नहुँदा सरोकारवाला निकाय भने बेखबर रहेको उनले आरोप लगाए । विभिन्न स्थानमा अलपत्र परेका पुलका विषयमा आफूहरू जानकार रहेको र चाँडै निर्माण सम्पन्न गर्न ठेकेदारलाई आग्रह गर्ने डिभिजन सडक कार्यालय प्यूठानका प्रमुख वीरेन्द्रकुमार चन्दले बताए । ‘कार्यालयकै विषयमा पहिले समस्या थियो,’ उनले भने, ‘अब सबै काम नियमित हुने र चाँडै काम गर्न निर्देशन दिनेछु ।’

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago