काठमाडौंका ४ ठाउँमा रोक्का भएका जग्गा फुकुवा हुँदै, फुकुवा नहुँदै आकाशियो

काठमाडौं: काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकामा निर्माण गर्ने चारवटा नयाँ सहर निर्माण गर्न रोक्का गरेका जग्गा फुकुवा गर्ने प्रक्रिया अघि बढाएको छ।जग्गा फुकुवा गर्न प्राधिकरणले संघीय सरकारको सहरी विकास मन्त्री अध्यक्ष रहेको भौतिक विकास समितिमा पेश गरेको छ।

पुसमा बसेको भौतिक समितिको बैठकमा काठमाडौं उपत्यकामा निर्माण हुने नयाँ सहरको चार किल्ला भित्र पर्ने जग्गाहरुमा लगाइएको प्रतिबन्ध हटाउने प्रस्ताव पेश भएको प्राधिकरणले जनाएको छ। बैठकमा एजेण्ड पेश भएपछि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आवश्यक तयारीसहित अर्को बैठकमा यसबारे छलफल गर्ने बताएकी थिइन्।

कोरोना महामारी फैलिएपछि भने समितिको बैठक फेरी बस्न नसकेकाले अहिलेसम्म जग्गा फुकुवा बारे कुनै निर्णय हुन नसकेको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जानकारी दिइन्।

पुसमा बसेको भौतिक समितिको बैठकमा जग्गा फुकुवा गर्ने एजेण्डा प्रस्तुत भइसकेको छ। अर्को बैठकमा यसबारे निर्णय लिने तयारी भएपनि कोरोना महामारीका कारण बैठक बस्न सकेको छैन। माघ ७ गते बैठक बस्ने तयारी भएपनि प्राधिकरणका कर्मचारीसँगै अरु संक्रमित भएपछि बैठक स्थगित भएको थियो।

अवस्था केही सहज भएपछि बैठक बोलाउने तयारी प्राधिकरणको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ७ बमोजिम तीन वर्षका लागि तोकिएको चार किल्ला क्षेत्र भित्र जस्तोसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्राउन नपाउने निर्णय गरेको थियो। राजपत्रमा २०७४ असार ५ मा प्रकाशित भएको यसको म्याद २०७७ असार ४ गते सकिसकेको छ।

जग्गामा लगाइएको प्रतिबन्धको मिति कटिसकेको अवस्थामा जग्गा अझै फुकुवा हुन सकेको छैन। प्राधिकरणको भौतिक समितिले मन्त्रिपरिषद्मा यो एजेण्डा लगेर निर्णय गराउनुपर्ने भएकाले अझै केही समय लाग्ने ढकालले बताइन्।

काठमाडौं उपत्यका भित्रका चार स्थानहरु काठमाडौं ईशान (एक लाख रोपनीभन्दा बढी), आग्नेय (१० हजार रोपनी), नैऋत्य (१० हजार रोपनी) र उत्तर (१० हजार रोपनी) गरी कुल एक लाख ३० हजार रोपनी क्षेत्रफलमा नयाँ नगर विकास गर्ने योजना प्राधिकरणले अघि सारेको थियो।

काठमाडौं ईशान, आग्नेय र उत्तरको सहरको डीपीआर प्राधिकरणले क्याबिनेट पठाएको थियो। क्याबिनेटले डीपीआर अझै स्वीकृत गरेको भने छैन। नैऋत्य सहरको भने ललितपुर महानगरपालिकाले असहमति जनाउँदै विरोध गरिरहेको प्राधिकरणले यो सहरको डीपीआर स्वीकृतिका लागि क्याबिनेट पठाएको छैन।

यी जग्गा हुनेछन् फुकुवा
ईशान नगरमा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९, शंखरापुर नगरपालिका वडा नम्बर २, ६ र १०, मध्यपुर थिमी नगरपालिका वडा नम्बर २, ६, ७, ८ र ९ मा पर्छ।

काठमाडौं ईशान (पूर्व उत्तर) को चार किल्लाको पूर्वी सिमाना भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङसम्मको जग्गा फुकुवा हुनेछ।

अहिले भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटीको जग्गाको भाउ प्रतिआना २३ देखि २६ लाख रुपैयाँ पर्छ। यहाँ सरकारको मूल्यांकन अनुसार जग्गाको भाउ ११-१२ लाख रुपैयाँ प्रति आना छ। पक्की, कच्ची, गोरेटो बाटोअनुसार मूल्य केही घटबढ हुन सक्ने बताइएको छ।

पश्चिम सिमाना जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो, उत्तर सिमाना क्रिकेट मैदानदेखि साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोटसम्म तोकिएको छ।

जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटारसहितका क्षेत्रहरुमा जग्गाको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँ प्रतिआना छ। साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोटसम्मको जग्गा भाउ अहिले २२ लाखदेखि २६ लाख रुपैयाँ प्रतिआना पर्ने व्यवसायीहरुको भनाइ छ।

दक्षिण सिमाना भुक्तपुर पुरानो बाटो (नेपाली सेना प्रतिष्ठान-खरिपाटी, देकोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजनाबाहेकको क्षेत्रहरु) रहेको छ।

यस्तै, चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ५ को पुरै भाग र वडा नम्बर ६ देखि ८ को केही भाग समावेश भएको जग्गा फुकुवा हुने प्राधिकरणले जनाएको छ।

चाँगुनारायण नगरपालिकाका यी क्षेत्रहरुमा अहिले जग्गाको भाउ प्रतिआना २४ देखि २८ लाख रुपैयाँ प्रतिआना पर्ने बताइएको छ। यो आयोजनाको कुल क्षेत्रफल एक लाख तीन हजार ५५५ रोपनी छ।

काठमाडौं उत्तर (हरित सहर) को चार किल्ला पूर्वमा भिल्ली, सपनतीर्थ दोभान, भूतखेल चोक, पश्चिममा भेडीगोठ चोक (तारकेश्वर), काभ्रेस्थली बाईपास, उत्तरमा चिम्बर पोखरी, बिहानी चोक, महादेव मन्दिर, क्रियापुत्री भवन र दक्षिणमा सूर्य दर्शन (टोखा) शेर्पा पेट्रोल पम्प, भत्केको पुल, नागपोखरी, तल्लो भेडीगोठ चोक र काभ्रेस्थलटी स्कूल चोकमा पर्ने जग्गा फुकुवा गर्ने तयारी प्राधिकरणको छ।

यी क्षेत्रहरुमा अहिले जग्गाको भाउ न्यूनतम प्रतिआना २१ लाखदेखि ३४ लाख रुपैयाँ पर्ने बताइएको छ। उत्तर (हरित सहर) को चार किल्ला भित्र तारकेश्वर नगरपालिका अन्तर्गत १, २ र ७ नम्बर वडाहरु र टोखा नगरपालिका अन्तर्गत १, २ र ३ नम्बर वडा पर्छन्। यो आयोजनाको कुल क्षेत्रफल १३ हजार ६२३ रोपनी छ।

तारकेश्वर नगरपालिका अन्तर्गत १, २ र ७ नम्बर वडाहरु र टोखा नगरपालिका अन्तर्गत १, २ र ३ नम्बर वडामा पर्ने जग्गाहरुको मूल्य २१ लाखदेखि २६ लाख रुपैयाँ प्रति आना पर्ने व्यवसायीहरुले बताएका छन्।

त्यसैगरी, अर्को सहर आग्नेय (पूर्व-दक्षिण) पनि १० हजार रोपनीमा फैलिनेछ। पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्नेछ। पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्यांकी बालकोट, अमरनगर, ठिमी हुँदै उत्तरको सीमा अरनिको राजमार्गसम्म फैलिनेछ। दक्षिणतर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा हुँदै खहरेसम्मको जग्गा फुकुवा हुने प्राधिकरणले जनाएको छ।

यी क्षेत्रहरुमा जग्गाको मूल्य प्रतिआना २४ लाखदेखि ३२ लाख रुपैयाँ प्रतिआनासम्म पर्ने बताइएको छ। यस्तै, नैऋत्य सहर भित्र ललितपुरको पूर्वतर्फ खोकना १ देखि ८ वडा हुँदै बुङमति १ भएर छम्पी जाने बाटो तथा वडा नम्बर २ देखि ६ सम्म फैलिनेछ। पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमा तोकिएको छ। उत्तरमा साबिकको सैँबु गाविसको सीमासम्म सहर फैलने प्रस्ताव गरिएको छ।

यस क्षेत्रका जग्गाहरुको मूल्य प्रतिआना १२ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म पर्ने बताइएको छ। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा जग्गा खरिद बिक्री गर्दै आएका व्यवसायी योगेश भुजेलकाअनुसार लामो समयदेखि यी क्षेत्रहरुमा जग्गा कारोबार रोक्का रहँदै आएकोमा फुकुवा हुने हल्लासँगै जग्गाको भाउ निकै बढेको जानकारी दिए।

‘सरकारले नयाँ सहर बनाउने भन्दै जग्गाको कारोबारमा कडाई गर्‍यो, रोक्का गर्‍यो। अहिले फुकुवा हुने हल्लाले जग्गाको भाउ निकै बढाएर राख्ने गरेको भेटिएको छ। फुकुवा हुने तय भए जग्गाको भाउ झन् बढ्ने निश्चित छ,’ भुजेलले भने।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago