काठमाडौँ:एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला ? आम मानिसको जिज्ञासाको विषय हो यो । यसको सामान्य जवाफ हुने गर्छ बढीमा सात दिन ?

एउटा मन्त्रालयले अर्को मन्त्रालयमा सहमति वा आवश्यक निर्णय प्रक्रियाका लागि पठाएको कागजात सातदेखि आठ महिनासम्म अड्कियो वा त्यस विषयमा निर्णय नै भएन भने त्यसको प्रभाव कस्तो पर्ला ? असर पक्कै पनि गम्भीर पर्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित आव २०७८/७९ को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तै, गुनासो र हैरानी प्रस्तुत गरिएको थियो ।

त्यो गुनासो गर्ने अरू कोही नभएर ऊर्जामन्त्री पम्फा भुसाल नै थिइन् । आवश्यक निर्णयका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका पठाएको कागजात लामो समयसम्म रोकिँदा मन्त्रालयको कार्यप्रगतिमा नै व्यवधान खडा भएको उनले गुनासो गरे ।

सरकारी निकायका बीच एकआपसमा समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन । कर्मचारी प्रशासनले कतिपय अवस्थामा जोखिम लिएर निर्णय गर्ने क्षमताको विकास हुन सकेको छैन । जोखिम देख्ने बित्तिकै फाइल रोकेर राख्ने वा राजनीतिक नेतृत्वलाई देखाइदिने प्रवृत्ति पनि उत्तिकै छ ।

यही समस्याबारे ऊर्जामन्त्री भुसालले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा जानकारी गराएकी हुन् । उनले भनिन्, `कुनै पनि फाइलको निर्णय कति समय हुनुपर्ने हो, त्यसको कुनै ठेगान नै भएन । कति दिनमा टुङ्गो लगाउनुपर्ने हो, त्यसबारेमा स्पष्ट व्यवस्था हुनुपर्छ ।` उनले आफूले आवश्यक निर्णयका लागि अर्थ मन्त्रालयमा पठाएको फाइल आठ महिनाभन्दा बढी समय रोकिएको जानकारी दिइन् ।

यस्तै, राष्ट्रिय योजना आयोगमा पठाइएको अर्को एक फाइल पनि आठ महिनासम्म नै रोकिएको उनको गुनासो थियो । कति समयभित्र के कति कारणले रोकिएको हो भन्नेबारे स्पष्ट निर्णय हुने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

उनले कुन आयोजनाको कस्तो प्रकृतिको फाइल त्यत्रो समय रोकिएको हो भन्ने बारेमा भने केही बताइनन् । विकासे मन्त्रालयको गतिविधिका बारेमा हेर्ने अर्थ मन्त्रालयमा प्राविधिक कर्मचारी नहुँदासमेत समस्या खडा भएको उनको भनाइ छ । `मेरो विचारमा त अर्थ मन्त्रालयमा कम्तीमा एकजना प्राविधिक सचिव नै भए राम्रो हुन्छ । यदि त्यसो नहुने हो भने पनि सहसचिवको व्यवस्था गरेर भए पनि समस्याको समाधान गरिनुपर्छ ।`

हरेक महिना १० प्रतिशतका दरले विकास बजेटको खर्च गर्ने भन्ने विषय प्राविधिक रुपमा अमिल्दो भएको उनको भनाइ छ । सार्वजनिक खरिद प्रणालीअनुसार बोलपत्रका लागि ४५ दिन र अन्य प्रक्रिया पुर्‍याउन थप एक महिना लाग्ने भएकाले मासिक रुपमा १० प्रतिशत खर्च गर भन्ने विषय वस्तुवादी नभएको उनको भनाइ छ ।

ठूलो मेहनत गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०७८÷७९ मा वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत बराबर गराउन सफल भएको उनको भनाइ छ ।

सो आवमा मन्त्रालयको कूल वार्षिक बजेट रु एक खर्ब तीन अर्ब ८० करोड ८१ लाख रहेकामा कूल रु ७९ अर्ब ५४ करोड ४५ लाख बराबर खर्च भएको छ । ऊर्जातर्फ रु ७२ अर्ब ९८ करोड ४५ लाख बजेट विनियोजन भएकामा रु ५४ अर्ब ५९ करोड ४३ लाख खर्च भएको छ । त्यो भनेको वित्तीयतर्फ ७५ प्रतिशत र भौतिकतर्फ ७७ प्रतिशतको प्रगति हो ।

यस्तै, जलस्रोत र सिँचाइतर्फ रु ३० अर्ब ८२ करोड ३६ लाख बजेट विनियोजन भएकामा रु २४ अर्ब ९५ करोड दुई लाख खर्च भएको छ । त्यो भनेको वित्तीयतर्फ ८१ प्रतिशत र भौतिकतर्फ ८७.९३ प्रतिशत बराबरको प्रगति हो ।

मन्त्री भुसालले प्रतिस्थापन विधेयक आएपछि मन्त्रालयले गतिमा काम गरेको जानकारी दिँदै नौ महिनाको अवधिमा भएको प्रगतिका सन्दर्भमा प्रसन्नता व्यक्त गरिन् ।

`जे जति काम भएका छन्, त्यसमा म खुसी नै छु । अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने लागेको छ । बितेको वर्षबाट शिक्षा लिएर चालु आवमा थप प्रगति हुने गरी काम गर्न सबैलाई म आग्रह गर्दछु`, मन्त्री भुसालले भनिन् ।

आयोजना मर्मतका लागि विशेष कोष

उनले अर्बौं लगानी भएको परियोजनामा मर्मतका लागि कुनै पनि स्रोतको व्यवस्था नहुँदा समस्या देखिएको बताइन् । उनले त्यसका लागि अर्थ मन्त्रालयले नै एउटा विशेष कोषको प्रबन्ध गर्नुपर्ने बताइन् ।

`ठूलो मात्रामा लगानी भएको परियोजनाको मर्मतका लागि बजेटको अभाव हँदा आयोजना रुग्ण हुने अवस्था देखापरेको छ । मर्मतका लागि निश्चित बजेटको प्रबन्ध गरौँ र विशेष कोष बनाएर त्यस्तो बजेट राख्दा फ्रिज हुने सम्भावना पनि रहँदैन`, उनले भनिन् । उनले खर्चका लागि पनि विशेष प्रबन्ध हुनुपर्ने बताइन् ।

एक शताब्दीअघि निर्माण भएको चन्द्रनहर मर्मतका लागि बजेटको अभाव देखिएपछि मन्त्रालयकै पहलमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत मर्मत गर्न लागिएको सोही अवसरमा जानकारी दिइयो ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाभ कर्णले कम प्रगति भएका आयोजनामा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । `प्रगति भएका र देखिएका आयोजनाले आगामी दिनमा अझै राम्रो गरौँ । कम प्रगति भएका आयोजनामा किन त्यस्तो भयो भनेर समाधानका उपाय खोजौँ र उपचार गरौँ`, उनले भने ।

ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले गत आवमा मन्त्रालय मातहतका निकायले गरेको प्रगति सन्तोषजनक रहेको भन्दै समस्या देखिएका क्षेत्र र विषयमा समाधानका लागि पनि उत्तिकै पहल भएको बताए ।

उनले ऊर्जा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रको विकास र विस्तारमा योगदान दिने भएकाले मन खोलेर लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । कृषि र ऊर्जा क्षेत्र आयात प्रतिस्थापन गर्ने र निर्यात गर्ने सामग्रीसमेत भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

जलस्रोत सचिव सागरकुमार राईले निरन्तर प्रयासका कारण सिँचाइका क्षेत्रमा उल्लेख्य प्रगति भएको विवरण पेस गरे । उनले त्यसका लागि मन्त्रालय र मातहतका सबै निकायलाई धन्यवादसमेत दिए ।

जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले वर्षदिनभर काम हुने भए पनि विभिन्न प्राविधिक कारणले भुक्तानी आर्थिक वर्षको अन्त्यमा हुने भएकाले अघिल्ला महिनाहरुमा प्रगति कम देखिने गरेको तथ्य पेस गरे । आयोगले चालु आवका लागि विभिन्न १६ परियोजना अगाडि बढाउन लागेको र गत आवमा अपेक्षित नतिजा हासिल भएको जानकारी दिए । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago