अब चुनावपछि नयाँ सरकार आएपछिमात्रै एमसीसी अघि बढाउपर्छ – प्रचण्ड

२०७८, १९ माघ बुधबार १८:१४

काठमाडौं: अमेरिकी सहयोग सम्झौता (एमसीसी) का कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । एमसीसीलाई लिएर सबैभन्दा अप्ठयारो अवस्थामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनी व्यक्तिगत रुपमा एमसीसी सदनबाट अनुमोदन होस भन्ने चाहन्छन् । तर, पार्टीभित्रको अवस्था भने त्यस्तो छैन् ।
पार्टीकै शीर्ष नेताहरुले भने एमसीसी यथास्थितिमा पास गर्न नहुने भनेर सार्वजनिक रुपमै वक्तव्य दिईरहेका छन् । संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले त सत्ता गठबन्धन टुटेपनि आफूहरुलाई केही फरक नपर्ने तर एमसीसी पास गर्न सहयोग नगर्ने भनेर पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्पष्ट पारिसकेका छन् । एमसीसी संसद्मा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटापनि बाधक बनिरहेका छन् ।
उनले आफू मर्न तयार रहेको तर एमसीसी कुनैपनि हालतमा टेबुल नगर्ने भनेर प्रचण्डलाई पनि चेतावनी दिईसकेको कुरा बाहिर आएको छ । पार्टीभित्रका नेताहरुको असन्तुष्टि, सभामुखको भूमिका र गठबन्धनभित्रको अवस्थाका कारण प्रचण्ड ठूलो दबाबमा छन् । तर, प्रचण्डले आफूनिकट नेताहरुसँगको ब्रिफिङमा भने अब एमसीसी तत्काल अघि नबढ्ने बताउन थालेका छन् ।

उनले अब मुलुक स्थानीय तहको निर्वाचनमा जुटेकोले पार्टीको भूमिका पनि सोहीअनुसार हुने बताउन थालेका छन् । प्रचण्डले एमसीसी अब संघीय संसद्को निर्वाचन भएर नयाँ सरकार आएपछिमात्रै अघि बढाउनेबारे छलफल गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष यो प्रस्ताव राखिसकेका छन् । तर, देउवाबाट भने उनले सकारात्मक जवाफ पाएका छैनन् । देउवा जसरी भएपनि यही संसद्बाट एमसीसी अनुमोदन गराउने पक्षमा उभिएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु