राहतको पर्खाइमा वर्ष बित्याे आएन राहत

बझाङ- खप्तडछान्ना गाउँपालिका-१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देख्नेबित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन्। उनी बझाङ-बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन्।

गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उनलाई एक-दुई जना दानी मानिस (दाता)को आशा नलाग्ने कुरै भएन। उनी दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउँदैनन।

हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके। कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने। तर महिना बित्यो, वर्ष बित्यो राहत आएन।

‘बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो, हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ’, उनले भने, ‘आश्वासन दिने ३०-३५ जना आइसके, तर कसैले पनि सम्झिएनन्। ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन।’

गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए। दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए। अर्काका छानोमा बसेका दुई परिवारलाई तीन-चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे।

‘सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो’ उनले भने। बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उनकाे भनाइ छ।

गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गरेका थिए।

ज्ञानदेवी खातीले भनिन्, ‘बाढी आएको साढे १३ महिना हुन लागिसक्यो। सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ। तिहार-सिहार त हाम्रो लागि परको कुरा।’

उनले भोको पेटले आश्वासन थेग्न नसक्ने बताइन्। उनले भनिन्, ‘भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ। धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे। तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ। जाने कतै ठाउँ छैन, न त खाने गास नै।’

ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उनले बताइन्।

‘गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन। सहर पस्नलाई सहरबारे जानकारी नै छैन’, उनले भनिन्।

अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ। प्रेमबहादुरले भने, ‘एक जनाले चामल दिनुभएको थियो। जोगाएर खाँदा पनि सकिनै लाग्यो। त्यसपछि कसलाई माग्ने? के गर्ने? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ।’

खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उनले भने, ‘घरमा छ जना छौँ। आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी)। नाति-नातिना सानै छन्। भएको सम्पत्ति सबै बाढीले निल्यो’, उनले टोलाउँदै भने।

खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन्। अन्य परिवारको पनि घरबाहेक केही छैन।

‘अहिलेसम्म घरको सास त जोगिएकै छ’, धन्धुरी खातीले भने, ‘अहिले बस्नलाई घर त छ, तर खानलाई केही छैन। गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन्।’

बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन्।

‘राहतका लागि गाउँपालिका गयौँ। पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो’, धन्धरीले भने, ‘राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाउनुभयो।’

केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उनकाे गुनासाे छ।‘अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो। सहयोगको नाममा शून्य छ। चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो। खै कता बिर्सनुभयो?’, उनले भने।

बाढीले पुर्‍याएकाे क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ। गडरायदेखि तमैल बजारको भू-भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्‍याएकाे छ।

खप्तडछान्ना गाउँपालिका-५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन्। गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो।

स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन्। वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन्। बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन्।

वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउँछन्।

‘बाढीपीडितलाई निकै समस्या छ। तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन। यस वर्षका लागि बजेट त छुट्याएका छौँ। तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ’, उनले भने।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउँछन्। ‘खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन्। उहाँहरूका लागि हामीले सोचेका छौँ। बजेटको अभावले समस्या भएको हो। यसपटक समस्या समाधान हुन्छ’, उनले भने।

रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताए। उनले भने, ‘अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन। अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ।’

आफूसँग पर्याप्त बजेट नभएको भन्दै उनले भने, ‘हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक-पटक आग्रह गर्दा पनि चासो देखाएन। गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गर्‍याैँ, तर कतैबाट सुनुवाइ भएन।’

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago