भरतपुर र पोखराका बागीको दाबीः चुनाव चिह्नले भोट घट्दैन, उत्साहसाथ प्रचारमा खटिए

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र वा बागी उम्मेदवार (शनिबार) आज चुनाव चिह्न पाएलगत्तै थप उत्साहसाथ प्रचार प्रसारमा होमिएका छन्।

हिजोसम्म व्यक्तिगत रूपमा मत माग्दै हिँडेका उनीहरू चुनाव चिह्नसहित घरदैलोमा पुगेका छन्। आफूले पाएको चुनाव चिह्न कार्यकर्तालाई देखाउँदै मत दिन सिकाउन थालेका छन्।

बागी कायमै राखेका उम्मेदवारले त्यसबारे पनि स्थानीय जनतालाई बुझ्ने गरी सम्झाई बुझाई गराउने प्रयास गर्दै छन्। करिब १ लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारभन्दा धेरैले फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब १ लाख ४५ हजार उम्मेदवार कायम हुने भएका छन्। शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको निर्वाचन आयोगले शनिबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो। चुनावमा ७९ राजनीतिक दलले भाग लिँदै छन्।

सबैभन्दा धेरै काठमाडौँमा ५६ दल र सबैभन्दा कम डोल्पामा ११ दलले प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले जनाएको छ। स्वतन्त्र उम्मेदवार पनि सबैभन्दा धेरै काठमाडौँमै छन्। आफ्नो इच्छा वा कसैको उक्साहटमा धेरैले उम्मेदवारी दिए पनि आधिकारिक उम्मेदवारलाई क्षति पुर्‍याउन सक्ने केही बागी उम्मेदवारको अत्यधिक चर्चा र चासो छ।

वडादेखि महानगरसम्मै परेका बागी वा स्वतन्त्र उम्मेदवारमध्ये दल तथा सत्ता गठबन्धनले समर्थन गरेर उठाएका उम्मेदवारको मत काट्न सक्ने बागी उम्मेदवारको बढी चासो छ।

सत्ता गठबन्धनको तर्फबाट उठाएका उम्मेदवारविरुद्ध धेरै बागी परेका छन्। तीमध्ये धेरैलाई फकाएर फिर्ता लिन लगाए पनि भरतपुर र पोखरा महानगरपालिकाको प्रमुखमा तथा विराटनगर र वीरगञ्ज महानरपालिकामा उपप्रमुखमा परेको बागी उम्मेदवारी फिर्ता गराउन भने दलहरू असफल भए।

भरतपुर र पोखरा महानगरमा कांग्रेसका बागी उम्मेदवार परेपछि हेर्नेलाई रोचक तर कांग्रेस र माओवादी केन्द्रलाई भने निकै सकस परेको छ। दुवै महानगरपालिकाका बागीले पार्टीको कारबाहीदेखि नडराई र प्रालोभनमा पनि नपरी उम्मेदवारी कायम राखेका हुन्। भरतपुर महानगरका बागी उम्मेदवार जगन्नाथ पौडेल र पोखरा महानगरका बागी उम्मेदवार विमल कार्कीसहित पार्टीको तर्फबाट बागी उम्मेदवार उठेका सबैलाई कांग्रेसले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ।

शनिबार दुवै बागी उम्मेदवारलाई चुनाव चिह्न भुइँकटहर परेको छ। निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेसँगै उनीहरू आ–आफ्ना स्थानीय तहमा चुनाव चिह्नसहित उत्साहसाथ प्रचारमा खटिएका छन्। कांग्रेस नेताको रूपमा परिचित दुबै जना भुइँकटहर चिह्न लिएर घरदैलोमा पुगेका छन्।

यसअघिका चुनावमा कांग्रेसको प्रचार–प्रसार गर्दै रूख चिह्नमा भोट माग्दै हिँडेका नेता भुइँकटर चिह्नमार्फत आफूलाई भोट माग्दा कति भोट पाउने हुन् त्यो चुनावी परिणामले देखाउँछ। तर, मत घट्न सक्ने आँकलन भने गरिएको छ।

सत्ता गठबन्धनको चुनावी तालमेलमा कांग्रेसको उम्मेदवार प्रमुख नबनाएको आक्रोशमा बागी उठेका उम्मेदवारले भुइँकटहरमा भोट माग्दा रूखमा भोट मागेजत्तिकै उत्साह त पक्कै पनि नआउला।

त्यस्तै, कांग्रेसको गढका रूपमा चिनिएका स्थान र त्यहाँका कार्यकर्ताले रूखमा भोट हाल्न नपाएपछि अन्त किन हाल्ने भन्ने पनि प्रश्न गर्लान्।

कांग्रेस नेताको रूपमा स्थापित परिचित नेता महानगरको बागी उम्मेदवारको हैसियतले जुन आत्मविश्वाससाथ मैदानमा खटिएका छन्, विश्वास गरेका सबै कार्यकर्ताले मत नदिन पनि सक्छन्। पोखरा महानगरका बागी उम्मेदवार विमल कार्कीले महानगरका सबै कांग्रेसको मत आफूलाई आउने दाबी गरेका छन्।

आफूलाई धेरैको समर्थन रहेको उनको भनाइ छ। उनले देश सञ्चारसँग भने, ‘चुनाव चिह्न भुइँकटहर पाए पनि खास फरक पर्दैन, मलाई माया गर्ने सबै कांग्रेसजनले मत दिनुहुन्छ। कांग्रेस मात्र नभइ मलाई माओवादी र एमालेका कार्यकर्ताको समेत समर्थन छ। जितेँ भने पोखराको विकासका लागि काम गर्ने स्पष्ट खाका बनाएको छु।’

बागी उम्मेदवार फिर्ता नलिएपछि पार्टीले निष्कासन गरेको सम्बन्धमा उनले शीर्ष नेताले आफूलाई कांग्रेस नबनाइदिएकाले पार्टीबाट निकाल्दैमा विचार र आस्था नमर्ने प्रतिक्रिया दिए।

पारिवारिक पृष्ठभूमि कांग्रेस भएको र आफू बीपीको विचारबाट प्रेरित भएकाले अहिलेका पार्टी सभापति शेरबहादुर देउवा अथवा नेता शेखर कोइराला, रामचन्द्र पौडेल कसैले पार्टीबाट निकाल्दैमा केही फरक नपर्ने उनले बताए। महानगर प्रमुखमा जिते पनि, हारे पनि निरन्तर जनताको सेवामा लागिरहने उनको प्रतिबद्धता छ।

पोखरा महानगरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी पार्टी)ले प्रमुख सिट पाएको छ। त्यसको आक्रोशमा कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएकामा अन्य दुई जनाले फिर्ता लिए भने कार्कीले कायमै राखेका हुन्।

यता, भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलले पनि भुइँकटहर चुनाव चिह्नले भोट नघट्ने विश्वास व्यक्त गरेका छन्। चुनाव चिह्नसहित प्रचारमा खटिएका उनले चुनाव चिह्नले भन्दा पनि कांग्रेसलाई माया गर्ने सबैले भोट दिने बताए।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रचार प्रसार गर्न र मत माग्न बाँकी १० दिनमा मात्रै बागी उम्मेदवारले कसरी भोट बढाउँछन् त्यो प्रचार शैलीमा भर पर्छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago