कांग्रेस मिलोस् नमिलोस्, तर हामी मिल्छौं

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गरेका हुन् । प्रचण्डले तालमेलमा ‘सम्मानजनक हैसियत’को विषयलाईसमेत उठान गरे ।

कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिबाट बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्दै सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकतो अनुरुप गठबन्धन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले गरेको निर्णयले पुरै आश्वस्त हुन नसकेका प्रचण्डले बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको भन्ने वाक्यप्रति कटाक्ष गरेको एक नेताले जानकारी दिए । उनले ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र ?’ भनेका थिए ।यसले गठबन्धनलाई कांग्रेसले हल्का ढंगले लिएको प्रष्ट भएको भन्दै उनले एमालेतिर जाने चेतावनी दिए ।

‘चुनावी गठबन्धनको कुरालाई तपाईंहरुले एकदम हल्का रुपमा लिइरहनुभएको छ, यो कुराले म एकदमै प्रेसरमा छु । मेरा साथीहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहनुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’

प्रचण्डले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच सम्वाद भइरहेको र कांग्रेस गम्भीर नभए एमालेतिर जानसक्ने चेतावनी दिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिउत्तर नदिएकोे ती नेताले जानकारी दिए । नेताहरुका अनुसार प्रचण्डले देशभर चुनावी तालमेलको निर्णय शीर्ष तहबाटै होस् भन्ने चाहेका थिए । २०७४ सालको निर्वाचनमा विजयी भएको स्थानलाई सोही दलका उम्मेदवारलाई छोडिदिने र बाँकी भागवण्डा गर्ने प्रचण्डको प्रस्ताव छ ।

कांग्रेस सभापति देउवा पनि केन्द्रबाटै तालमेलबारे निर्णय गर्ने पक्षमा छन् । तर डा. शेखर कोइराला समूहले एक्लै लड्नुपर्ने दबाव दिएको छ भने तल्लो तहबाट तालमेलबारे केन्द्रबाट निर्णय नगर्न चर्को खबरदारी छ । यो अवस्थामा तालमेल गर्दा कांग्रेसको एउटा शक्तिले असहयोग गर्ने हो कि भन्नेमा प्रचण्ड सशंकित देखिएको सहभागी एक नेताले भने ।

२०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो दल बन्दा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको थियो । गठबन्धनको मर्म अनुसार तालमेल हुँदा विजयी हुने स्थान बढ्ने आशामा रहेको माओवादी केन्द्रले कांग्रेसबाट विश्वासिलो प्रतिवद्धता नआए एमालेसँग पनि बाटो खुला भएको संकेत गरेको छ । प्रचण्ड स्वयंमले बिहीबार गठबन्धनको बैठकमा आफ्नो पार्टीका नेताहरु चुनावी तालमेलका लागि एमाले नेताहरु निरन्तर संवादमा रहेको सुनाएका छन् ।

एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु केही दिनअघि चीन भ्रमण गरेर फर्किएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली गत साता कुन्मिङ गएको थियो भने माओवादी नेताहरु वर्षमान पुन र देव गुरुङ पनि कुन्मिङ पुगेका थिए । दुबै दलका नेताहरु एकैपटक चीन भ्रमणमा जानु संयोग मात्रै नभएकाले पार्टी एकताका लागि चीन सक्रिय भएको कतिपयको बुझाइ छ ।

चीनबाट फर्किएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी बैठकमै चीनले वामपन्थी मिलेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए । माओवादी नेता देव गुरुङले पनि नेपालका बामपन्थीहरु एक होउन भन्ने चीनको पुरानै चाहना रहेको र यसपाली पनि उनीहरुले त्यही शुभेच्छा प्रकट गरेको बताएका थिए । नेताहरुका अनुसार नेताहरु चीनबाट फर्किएलगत्तै दोस्रो तहका नेताहरुले स्थानीय चुनावमै वाम तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् ।

एमाले र माओवादी केन्द्रले २०७४ को संसदीय निर्वाचनमा गठबन्धन बनाउँदा झण्डै दुई तिहाई सिट आएको थियो । वाम तालमेलपछि पार्टी एकता नै भएको थियो ।

माओवादी केन्द्रका नेता वर्षमान पुन भने कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लड्दा तीनै तहमा सत्ता गठबन्धनलाई लाभ हुने बताउँछन् । ‘गठबन्धन गर्दा कांग्रेसका लागि अझ फाइदा हुन्छ । आफ्नो फाइदा कांग्रेसले बुझ्दैन भने हाम्रो केही भन्नु छैन,’ नेता पुनले भने, ‘तर हामी दुवै एकीकृत समाजवादी र माओवादी मिलेरै जान्छौं । कांग्रेस मिलोस् नमिलोस्, तर हामी मिल्छौं ।’

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago