समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ, १७ वैशाख । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत गर्ने क्रममा खाल्डो खनेर पाइप मर्मत गर्दा समन्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले राससलाई जानकारी दिनुभयो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभावित भएका छन् । वडा नं. १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को सङ्ख्यामा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमको टेलिफोन र इन्टरनेट सेवा लिइरहेका स्थानीयवासी रामचन्द्र भण्डारी सरकारी कम्पनी डुबाउने उद्देश्यले महिनामा दुईदेखि तीन पटकसम्म सेवा अवरुद्ध हुने गरेको बताउनुहुन्छ ।

निजी इन्टरनेट सेवा प्रदायकलाई पोस्न सरकारी कम्पनीको सेवा अवरुद्ध गराउन मिलेमतो हुने गरेको उहाँको आरोप छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई दैनिक तीन पटकसम्म फोन गरी आफूतिर तान्ने प्रयास गर्ने गरेका छन् । समन्वयमा काम गरी ग्राहकलाई दुःख नदिन पटकपटक आग्रह गर्दा पनि कार्यान्वयन नभएको वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ बताउनुहुन्छ । समन्वयमा काम गर्न भनी लिमिटेड महाङ्कालचौर शाखाका कार्यालय प्रमुखले फोन नउठाउने गरेको उहाँको गुनासो छ । बिहीबार बिहानदेखि अवरुद्ध भएको सेवा अझै शुरु हुन सकेको छैन । लिमिटेड महाङ्कालचौर शाखाका प्रमुख उमेश मरहट्ठा टेलिकमले तार मर्मत गर्न सडक खन्ने क्रममा खानेपानीको पाइप पनि बिग्रने गरेको आरोप लगाउनुहुन्छ ।

सरकारी कार्यालयले एकार्कालाई आरोप प्रत्यारोप गरी सेवा अवरुद्ध गर्ने गर्दा हजारौँ उपभोक्ता भने प्रभावित हुने गरेका छन् । निषेधाज्ञाको समयमा विद्यार्थी र कामकाजीलाई प्रभावित पार्ने गरी सेवा अवरुद्ध गरेकामा सेवाग्राही रुष्ट बनेका छन् ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago