वैशाखभित्रै रेल चल्ने

महोत्तरी, ४ वैशाख । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ ।

सांकेतिक तस्बिर फाइल फोटो

पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आज महोत्तरीको बर्दिवासस्थित प्रस्तावित रेल्वे स्टेशन क्षेत्रको अवलोकन निरीक्षण गर्नुभयो । सो अवसरमा रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र अन्य अधिकारीका साथ निरीक्षणपछि मन्त्री नेम्वाङले जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा वैशाखभित्रै रेल सेवा सञ्चालन गर्न सकिने बताउनुभएको हो ।

“जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल लिक निर्माण कम्पनीले हाम्रो जिम्मा लगाइसकेको छ, रेल सेट पनि गत असोजमै ल्याइसकिएको छ”, मन्त्री नेम्वाङले बर्दिबासमा सञ्चारकर्मीसँग भन्नुभयो, “अब जनशक्ति व्यवस्थापनको अन्तिम चाँजो मिलाइँदैछ, जारी वैशाख महिनाभित्रै प्रथम खण्डमा रेल चल्छ ।” जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुङ्गो लागेको हुँदा प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करीब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको भनाइ छ ।

जयनगर–बर्दिवास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित बिजलपुरा स्टेशनसम्म १७ किमी दोस्रो खण्ड र बिजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड भनिएको छ । अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम एक महिनाभित्रै सम्पन्न हुने हुँदा सो खण्डमा पनि यसै आर्थिक वर्षभित्रै (असार मसान्तभित्रै) रेल सेवा सञ्चालनमा आइसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

“ढुक्क हुनोस् यसै वैशाखभित्र कुर्थासम्म र आव २०७७÷७८ भित्रै बिजलपुरासम्मको सेवा सञ्चालन हुनेछ”, कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सञ्चारकर्मीसँग भन्नुभयो, “तेस्रो खण्डको काम बढ्न चाहिँ बर्दिबासको जग्गा मुआब्जा प्रकरण नटुङ्गिनु समस्या भएको छ ।” यो समस्या पनि चाँडै निराकरण हुने गरी काम बढेको भट्टराईको भनाइ छ । पूर्व–पश्चिम रेल र जयनगर–बर्दिवास रेल्वेको बर्दिबासमा एउटै स्टेशन हुने गरी काम थालिएको हो । पूर्व–पश्चिम रेलको सिमरा–बर्दिवास खण्डको काम र जयनगर–बर्दिवास रेल्वेको तेस्रो खण्डको काम बर्दिबासकै जग्गा मुआब्जा नटुङ्गिदा अघि बढ्न नसकेको नेपाल सरकार रेल विभागको स्वीकारोक्ति छ । “पूर्व–पश्चिम रेल मार्गको काम पनि वनक्षेत्र छिचोलेर बर्दिवासको भव्सी खोलासम्म आएको छ, जयनगर–बर्दिवासरेल्वेको काम बिजलपुरासम्म सम्पन्न हुने क्रममा छ”, रेल विभागका महानिर्देशक बज्राचार्यले भन्नुभयो, “बर्दिबासको जग्गा मुआब्जा प्रकरण टुङ्गिनासाथ कामले गति लिन्छ ।

” जग्गा मुआब्जा नटुङ्गिदा बर्दिवासको प्रस्तावित स्टेशन नै वरपर सार्न सकिने विकल्पका बारेमा समेत अध्ययन भइरहेको रेल विभागले जनाएको छ । पूर्व–पश्चिम रेल मार्ग निर्माणकै चरणमा रहेको छ । यता जयनगर–बर्दिवास रेल्वेको पहिलो खण्डको काम सम्पन्न भएको र दोस्रो खण्डको समेत काम सम्पन्न हुने क्रममा रहेको हुँदा अब जयनगर कुर्था हुँदै बिजलपुरा रेल सेवा चल्ने तयारी रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । रेल चाँडै चल्ने तयारीको कुराले धनुषासँगै कुर्थासँग नजीक रहेका महोत्तरीका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिका र पिपरा गाउँपालिका क्षेत्रमा सर्वसाधारण उत्साहित देखिएका छन् । महोत्तरी जिल्लाका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिकाका बस्तीहरु कुर्थासँगै जोडिएका छन् ।

दुई दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलमा यात्रा गरेको सम्झने यस भेगका सर्वसाधारण अब ठूलो रेल (ब्रोडगेजलाई बोलीचालीमा ठूलो भनिएको) आउने भन्दै हौसिएका छन् । विसं २०५९ अघि जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलको महोत्तरी जिल्लामा पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशन थिए । यहाँबाट रेल चढेर यस भेगका बासिन्दा बजारु र धार्मिक प्रयोजनका कामले जनकपुर र जयनगरसम्म आवतजावत गर्थे । विसं २०५९ को बर्खे भेलले हाल लोहारपट्टी नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको रेल सेवा बन्द भएको थियो । अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । अबको रेल सेवा सुविधायुक्त र छिटोछरितो हुने सर्वसाधारणले आश सँगालेका छन् ।

“अब भारतको जस्तै ठूलो रेल चढ्न पाइने छ”, बिजलपुरा स्टेशन नजीकको भङ्गाहा–४ पलार बस्तीकी सियानकीदेवी बाँतरले खुशी हुँदै भन्नुभयो । अहिले कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुनेगरी ल्याइएको रेलसेट परीक्षणपश्चात् जयनगरस्थित नेपाल रेल्वे स्टेशनमा पार्किङ गरिएको छ । दक्ष जनशक्ति भारतबाट र प्रशासनिक जनशक्ति मुलुकबाटै व्यवस्थापन गरेर रेल चलाउने तयारीमा पुगिएको रेल विभागले जनाएको छ । आफ्नो क्षेत्रमा अब चाँडै रेल सेवा सञ्चालन हुने कुराले यस भेगका किसान आफ्नो उत्पादनले बजार पाउने आशमा छन् । दूध, कृषि उपज र मासुका लागि पालिने पशुपक्षी रेल चलेपछि भारतकै सीमावर्ती बजारसम्म दैनिकजसो लान पाइने यस भेगका किसानको विश्वास छ । सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनु पर्ने तालिका थियो । यसबीचका मधेश आन्दोलन, भूकम्प र बाढी जस्ता प्राकृतिक विपत्ति र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले बताएको छ ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago