एमाले राष्ट्रिय महाधिवेशन : शनिबार देशभर प्रतिनिधि चयन गर्दै

२०७८, २७ कार्तिक शनिबार ११:३९

काठमाडौं । एमालेले शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो।

फाइल फोटो

साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि कम्तिमा १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्।  महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन्। पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वत: आउनेछन्। भौगोलिक क्षेत्र, जनवर्गीय संगठनबाट निर्वाचित प्रतिनिधि आउनेछन्। पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिनेछ।

महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन्। ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ। यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ।

कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन्।
शुक्रबार महासचिव ईश्वर पोखरेलले तुल्सीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको लोगो सार्वजनिक गरेका छन्। एमालेले एकसिंगे गैंडाको मस्कटले कम्युनिष्टको झणडा बोकेको लोगो तयार पारेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु