युवा नेताको प्रश्न : कांग्रेसका छोरा कांग्रेस नै हुनुपर्ने कारण के ?

काठमाडौंमाघ २७  पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । युवा नेताहरूले पार्टीको नेतृत्व संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला पनि गुट र व्यक्तिगत स्वार्थमा अल्झिँदा पार्टीको स्पष्ट धारणा बाहिर आउन नसकेको गुनासो गरेका छन् । उनीहरूले बुढो नेतृत्व र विधि मिच्ने प्रवृत्तिले कांग्रेसको भविष्य नै संकटमा पर्दै गएको औँल्याएका छन् ।

फाइल फोटो

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको संयोजनमा भएको ‘वर्तमान संकट र कांग्रेसको युवा आवाज’ विषयक अन्तरक्रियामा अधिकांश युवा नेताले पार्टी नेतृत्वले स्पष्ट धारणा राख्न नसकेको भन्दै आक्रोश पोखे, पार्टीमा भूमिका नपाएको गुनासो गरे ।

पार्टीमा गुटगत संरचना चिर्नुपर्ने, व्यक्तिवादीभन्दा सामूहिक नेतृत्वको विकास गर्नुपर्ने, युवालाई समृद्धि र विकाससँग जोड्नुपर्नेजस्ता सिर्जनात्मक सुझाब पनि राखे । केहीले प्रतिनिधिसभा विघटनपछि पार्टीले ढुलमुले नीति लिएको भन्दै असन्तुष्टि पोखे, केहीले पार्टी नै अवैधानिक हुने अवस्थामा पुगेको भन्दै प्रश्न उठाए । तर, प्रतिनिधि पुनस्र्थापनाका विषयमा युवा नेताले पनि गुटगत आधारमै धारणा राखेका थिए ।

नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले देशभित्र पनि कमजोर प्रतिपक्ष र पार्टीभित्र पनि कमजोर प्रतिपक्षका कारण कांग्रेसको अवस्था र कांग्रेसका युवाको भूमिका कमजोर बनेको बताए । उनले पार्टीमा नेतृत्व हस्तान्तरण नहुँदा भूमिका नपाएरै युवा भनिएको एउटा पुस्ता नै बुढो भइसकेको टिप्पणी गरे । सुरुमै ‘युवा बुढा’ साथीहरू भन्दै सम्बोधन सुरु गरेका उनले कांग्रेस नै अवैधानिक साबित हुँदै गएकाले अरूलाई असंवैधानिक भन्न सुहाउने अवस्था नरहेको बताए ।

‘आफू असंवैधानिक हुन मिल्ने, अनि अरूले चाहिँ नमिल्ने ? यो कसरी हुन्छ ?’ कर्णले प्रश्न गरे । उनले थपे, ‘कांग्रेस वैधानिक पार्टी हो, समयमा महाधिवेशन गर्छ, भ्रातृ संस्थालाई पनि विधानअनुसार चलाउँछ भनेर चिनाउनुप¥यो, अनि बल्ल हामीले अरूलाई असंवैधानिक भनेर गाली गर्ने हैसियत बन्छ, बल्ल आन्दोलन गर्न सकिन्छ ।’

नेता कर्णले पार्टीका युवा र विद्यार्थी संस्थामा पनि बुढाहरू मात्रै पुगिरहेको भन्दै १४औँ महाधिवेशनमा ३५ ननाघेका साँच्चैका युवालाई पनि केन्द्रीय समितिमा अटाउने अवस्था सिर्जना गर्न माग गरे । ‘अब बुढा नेतालाई गाली गरेर मात्रै हुँदैन, नेतृत्व कसैले सहजै दिँदैन, त्यो त खोस्नकै लागि तयार हुनुपर्छ,’ उनले भने । उनले गुट र नेताका पछि नलागी सबै युवा एकजुट भएर लागेको खण्डमा पार्टी नेतृत्वमा युवाहरू पुग्न सक्ने बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रमेश वाग्लेले पार्टीमा विधि र पद्धति मिच्ने कारणले युवा पुस्ताको भविष्य अन्योलमा परेको बताए । ‘सधैँ एउटै पुस्ताले काम गर्ने भए, पछिल्लो पुस्ता किन चाहियो ? वास्तवमा कांग्रेसका छोरा पुस्ता कांग्रेसमै लाग्नुपर्ने कारण के छ ?’ उनले प्रश्न गरे ।

संविधानसभा सदस्य रामहरि खतिवडाले पार्टीमा नेताहरूको गन्तव्य र मन्तव्य एउटै नहुँदा समस्या भएको बताए । ‘नेताहरूका कुरा एउटा छन्, तर गतिविधि अर्का छन्, यसले पार्टीलाई संकटमा पु¥याउँदै छ,’ उनले भने । खतिवडाले युवा नेताहरूको भूमिका कमजोर बनेको बताए । ‘म त केन्द्रीय समितिमा पनि छैन, तर हाम्रा नेताहरूको भूमिका कमजोर छ,’ उनले भने, ‘युवा साथीहरूका बाहिर–बाहिर असाध्यै क्रान्तिकारी कुरा सुनिन्छ, तर भित्र केन्द्रीय समितिमा नेताहरूका अगाडि गएपछि उहाँहरूभन्दा ढुलमुल हुने कोही देखिँदैन, बाहिर ठूलो भाषण गर्ने, भित्र समर्पणवादी हुने, त्यो सबैभन्दा गलत हो ।’ उनले पार्टीको नेतृत्वले राजनीतिक संकटका वेला स्पष्ट धारणा नराखेका कारण पार्टीको अवस्था संकटमा परेको बताए ।

विघटित प्रतिनिधिसभाका सदस्य प्रकाश रसाइलीले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको भएको सुझाब दिए । ‘कांग्रेस संविधानको रक्षाको पक्षमा उभिनुपर्छ, पाँच दिनका लागि भए पनि संसद्को पुनस्र्थापना हुनुपर्छ,’ उनले भने । उनले पार्टीमा अहिले रहेका युवाहरूले केन्द्रीय समितिमा धारणा राख्दै गर्दा पार्टीले सही निर्णय गरेन भनेर राजनीमा दिने हिम्मत गर्नुपर्ने बताए ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले पार्टी नेतृत्वले प्रस्ट धारणा राख्न नसकेका कारण द्विविधा उत्पन्न भएको बताए । ‘पार्टीमा नेताहरूको एउटै मत छैन, केन्द्रीय समितिमा एउटा निर्णय गर्ने, बाहिर अर्को बोलिदिने, सडकमा गएर अर्को बोल्ने, त्यस्तो कारणले अन्योल सिर्जना भएको छ,’ उनले भने, ‘सबै नेताहरूले प्रस्ट धारणा राख्न सक्नुपर्छ ।’

पार्टीमा युवा नेतृत्व प्रचारमुखी मात्रै भएको उनको टिप्पणी छ । ‘पार्टीमा भएको युवा नेतृत्वले पनि निर्णायक भूमिका खेल्न सकेन, उहाँहरूको निर्णायक भूमिका खै ? प्रचारमुखी मात्रै भएर के हुन्छ ?’ उनले प्रश्न गरे ।

बागमती प्रदेशकी सांसद बिजुला बर्माले युवा र विद्यार्थीलाई देशको विकास र समृद्धिसँग जोड्नुपर्ने बताइन् । ‘संविधानको रक्षा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउने जिम्मेवारी कांग्रेसको हो, अब विद्यालय र कलेजमा राजनीति होइन, प्राविधिक र व्यावहारिक शिक्षा दिनुपर्छ, युवालाई सडकमा नाराबाजी गर्न होइन, समृद्धिसँग जोड्नुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ ।’

नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टीले स्पष्ट धारणा नराखेकै कारण जहिल्यै समस्यामा परेको बताए । ‘प्रतिनिधिसभा विघटन मात्रै होइन, भ्रष्टाचार र अनियमितताका मुद्दामा पनि कांग्रेसको धारणा कहिल्यै प्रस्ट आएन, सधैँ ढुलमुले नीति देखिरह्यो,’ उनले भने ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले पार्टीमा गुटगत प्रतिस्पर्धा अस्वस्थ रूपमा मौलाएको बताए । ‘कांग्रेसले कांग्रेसलाई निषेध गर्ने, नबोल्ने, देख्यो भने अर्कोतिर फर्किएर हिँड्ने अवस्था किन सिर्जना भयो ?’ उनले भने, ‘कांग्रेसको संस्कार त यस्तो होइन, हामीले यसमाथि गम्भीर समीक्षा गर्नुपर्ने वेला भएको छ ।’

बागमती प्रदेशका सांसदद्वय जीवन डंगोल र छिरिङ लामा, खोटाङका पूर्वसभापति सुवास पोखरेल, युवा र विद्यार्थी नेताहरू रमेश महत, उमा सिवाकोटी, अम्बिका प्रधान, प्रेम विश्वकर्मा, पवन नेपाली, भोला नेपाल, बद्री अर्याललगायतले पार्टीमा युवा प्रतिनिधित्व र अहिलेको संवैधानिक संकट निवारणका विषयमा बोलेका थिए ।

युवा नेतृत्वले पार्टीको स्पष्ट धारणा मागेको केन्द्रीय सदस्य जोशीले बताए । ‘पार्टीको धारणा अस्पष्ट भएको गुनासो आयो, तैपनि लोकतन्त्रप्रति युवा साथीहरू उत्साहित हुनुहुन्छ, उहाँहरूले सशक्त आन्दोलनका लागि तयार भएको भन्नुभयो,’ जोशीले नयाँ पत्रिकासँग भने । आफूले पार्टीका विभिन्न तहमा फरक–फरक विषयमा नियमित अन्तरक्रिया गर्न चाहेको भन्दै जोशीले प्राप्त सुझाबलाई केन्द्रीय समितिमा बुझाउने बताए । जनताका गुनासो सुन्न आफ्नो निर्वाचन क्षेत्रका घर–घरमा पुगेर कोभिड– १९ को संकटका वेला समेत जनतासँगै रहेको सन्देश दिएका जोशीले यसअघि विज्ञ समूह र विश्लेषकसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए ।

Bishawas Acharya

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago