सांकेतिक तस्बिर फाइल फोटो
भादगाउँ, २४ वैशाख । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारवाही गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा कारवाही प्रक्रिया अघि बढाउन नसकिएको उहाँले बताउनुभयो । “आज सो अस्पतालमा भएको घटनाका बारेमा पीडित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल ग¥यौँ । आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारवाही अघि बढाउँछौँ”, उहाँले भन्नुभयो । पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो । अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक सङ्क्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा एक सङ्क्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अस्पतालको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा झडपको स्थिति आएको थियो । अस्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ । पीडित परिवार अस्पतालको चरम लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारवाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो । अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो । सोअनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ । यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना सङ्क्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रजिअ केशरीले जानकारी दिनुभयो । के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उहाँले बताउनुभयो । “आजको छलफलमा पीडित पक्षलाई क्षतिपूर्ति दिने भन्ने सहमति भएको छ । आइतबार थप छलफल गरेर क्षतिपूर्ति तय गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । त्यस्तै अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रजिअ केशरीले जानकारी दिनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…