आगलागीले रेडपाण्डाको बासस्थान नष्ट, झण्डै १२५ हेक्टर वनक्षेत्र जलेकाे अनुमान

२०७७, १६ पुष बिहीबार ०४:०७

ताप्लेजुङ ,पुस १६ ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट भएको छ ।

फाइल फोटो

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप भएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । रेडपाण्डाको लागि महत्त्वपूर्ण क्षेत्रमा डढेलो लागेपछि रेडपाण्डा संकटमा परेका रेडपाण्डाको संरक्षणका लागि काम गर्दै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

सात दिनअघि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको झण्डै १ सय २५ हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयको अनुमान छ । डढेलो फैलिरहेकाले कति वनक्षेत्रमा क्षति पुग्छ भन्ने आँकलन गर्नसमेत नसकिएको वन कार्यालयले जनाएको छ ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन सक्ने अवस्था नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो । हेलिकोप्टरबाट पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि त्यो सम्भव भएन ।

अहिले पनि स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु