गौरा पर्व शुरु, कोरोनाको कारण घर भित्रै औपचारिकतामा सीमित ।

धनगढी – कैलाली लगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा धुमधामका साथ मनाइँने गौरा पर्व आइतबारबाट सुरु भएको छ।

हरेक वर्ष धुमधाका साथ घरसँगै मन्दिरहरुमा सामूहिक भेला भएर मनाइँने गौरा पर्व कोरोना भाइरसका कारण यस वर्ष घर भित्रै औपचारिकतामा सीमित भएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडीमा स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गरेपछि गौरापर्व घरभित्र सीमित बनेको हो।

खासगरी गौरापर्व सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुरमा ठूलो पर्वका रुपमा लिने गरिएको छ । यस बाहेक बझाङका केही ठाउँ र अछामका केही ठाउँमा पनि सामान्य रुपमा मनाउने गरिएको छ।

गौरा पर्व अन्तर्गत आइतबार कृष्णपक्षको पञ्चमीका दिन विवाहित महिलाले निराहार व्रत बसेर फाग गाउँदै तामाको भाडामा गहु, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न अर्थात विरुडा भिजाएर महेश्वर (महादेव)को पूजा गरी विरुडा राख्ने कार्य गरेर गौरा पर्व मनाउन सुरु गरिएको छ।

कृष्णपक्षको पञ्चमीका दिन विवाहित महिलाहरुले निराहार व्रत बसेर फाग गाउँदै घरघरमा पानीको श्रोत नजिक सामूहिक रुपमा विरुडा भिजाउने कार्य हुने गरेको थियो तर यस पटक विरुडा भिजाए पनि सामूहिक नभई एक्लै एक्लै भिजाएको धनगढीका गोपाल भट्टले बताए।

संस्कृतिविद डा. टीएन जोशीका अनुसार गौरालाई षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को प्रतिमा बनाएर पँधेरामा राखेर पूजा गर्ने र विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी दुवो-धागो धारण गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी खाना खाने प्रचलन रहेको छ।

यस्तै सप्तमीका दिन गौरालाई विवाहित महिलाले निराहार दिनभरी ब्रत बसेर आफ्नो परिवार लगायत आफन्तको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको छ।

अष्टमीका दिन आएर निराहार ब्रत बसेकी महिलाले गौरा राख्ने ठाउँमा पञ्ज वनस्पतीले बनाएको गौराको प्रतिमालाई रेशमको कपडामा बेरेर महेश्वरको प्रतिमा नजिकै गौराको फाग सृुनाएर कथा गाउने र पूजा गर्दै महेश्वरको प्रतिमालाई टाउकोमा राखेर नाच्दै देउडा लगायत खेलाउँदै रमाइलो गर्ने प्रचलन रहेको डा. जोशीले बताए।

विगतमा सामूहिक भेला भई टोलटोलको फरक फरक गौरा बनाउर भित्र्याउने चलन भएपनि यस वर्ष भने कोरोनाका कारण घरमै सीमित भएको धनगढीका अर्का स्थानीय दिपक ढंगालले बताए ।

‘विगतका वर्षहरुमा विभिन्न टोलहरुमा आ–आफ्नो समुदायको अलग अलग गौरा मनाइने गरिन्थ्यो, गौराको महत्व पनि निकै झल्केको हुने गर्दथ्यो’ धनगढीकी स्थानीय जयन्ती जोशीले भनिन् –‘यसपाली कोरोना भाइरसले गर्दा परिवारका सँग मात्रै सीमित रहेर गौरा मनाइरहेका छौँ ।’

कोरोना भाइरसको संक्रमण बढेको हुँदा यसपाली गौराको रोनकमा कमी आएको उनले बताइन् । गौरा पर्वको महत्वपूर्ण दिन भनेर अष्टमीलाई मानिने गरिन्छ । अष्टमीमा महिलाले बिहानै स्नान गरेर पञ्ज वनस्पतीबाट बनेको गोरा देवीको प्रतिमा र महेश्वरको प्रतिमालाई घरबाट बाहिर ल्याएर आगनमा फाग गीत गाउँदै टाउकामा राखेर नाच्ने गरिएको सास्कृतिविद डा. जोशी बताउँछन्।

यसै अवसरमा गौराको पहिलो दिन भिजाएको पाँच अन्नबाट बनाएको विरुडाबाट गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ। अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने प्रचलन रहेको उनले बताए।

ब्रत बसेका महिलाले अठेबालीका दिन गौराको प्रतिमालाई टाउको राखेर नचाउने र पुरुषले भने धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने चलन छ तर यसपटक ती केही पनि नहुने भएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago