“बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा मरे”, फार्मका सञ्चालक पदम खत्रीले बताउनुभयो, “झण्डै रु १२ लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।” उहाँका अनुसार गत चैतयता ९०० केजी जति माछा त्यसै खेर गयो । दुई पटकसम्म पानी थुनिएर पोखरी सुक्दा पनि धेरै माछा मरेका थिए । ट्राउट माछाका लागि चिसो र सफा पानी चाहिन्छ । पोखरीमा नियमित खस्ने चिसो पानी ३० मिनेटभन्दा बढी अवरुद्ध हुनासाथ माछा मर्न थाल्छन् ।
बन्दाबन्दी र बाढी दुवैको असर माछापालनमा परेको सञ्चालक खत्रीले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम शुरु भएदेखि नै माछा व्यवसायमा धक्का लाग्न शुरु भएको थियो । बन्दाबन्दीअघि उक्त ट्राउट फार्म आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो । सदरमुकामलगायत बजार क्षेत्रमा सञ्चालित होटल/रेष्टुराँबाट माछाको माग आउँथ्यो ।
फार्मकै आडमा घरवास (होमस्टे) पनि भएकाले केही मात्रामा त्यहीँ खपत हुन्थ्यो । फार्ममा उत्पादित ट्राउट माछाका परिकार खुवाउन सञ्चालकहरुले रेष्टुराँसमेत चलाएका छन् । माछापालनमा खत्रीसँगै, प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला–४ का अध्यक्ष जीतबहादुर खत्री र व्यवसायी सुवास राजभण्डारीको लगानी छ । जीतबहादुर र पदम बाबुछोरा हुनुहुन्छ । पदम सत्तारुढ नेकपा ताराखोलाको अध्यक्षसमेत हुनुहुन्छ ।
चार जना मिलेर दुई वर्षअघि शुरु गरेको फार्ममा रु एक करोड लगानी भइसकेको सञ्चालक राजभण्डारीले बताउनुभयो । फार्ममा साना–ठूला गरेर ३३ पोखरी छन् । पोखरीमा एक लाखभन्दा बढी भुरा अट्ने क्षमता छ । यसपालि बाढी र दाना अभावका कारण ८० हजार जति भुरा नष्ट भएको सञ्चालक राजभण्डारीको भनाइ छ । फर्ममा अहिले १० हजार जति भुरा हुर्किरहेका छन् ।
बिक्रीका लागि योग्य माछा एक हजार २०० किलो जति छन् । स्थिति सामान्य हुँदै गएमा व्यवसाय फेरि उठ्ने विश्वास सञ्चालकहरुमा छ । “उद्योग, व्यवसायमा यस्तो चुनौती आउँछ”, सञ्चालक राजभण्डारीले भन्नुभयो, “कहिले घाटा, कहिले नाफा भइ नै हाल्छ ।” शुरुमा नुवाकोटबाट भुरा ल्याएर ट्राउटपालन शुरु गरिएको थियो ।
बेच्न योग्य हुँदा तीन वटा माछाको तौल एक किलोसम्म हुन्छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वाद र स्वास्थ्य दुवैका हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । प्राविधिक अध्ययनपछि छम्टुमा ट्राउनपालन शुरु गरिएको थियो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् ।
माछापालनसँगै स्थानीय जातको कुखुरा पाल्न पनि शुरु गरिएको छ । फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।