प्रदेश ५ मा २५ जना कोरोना संक्रमित निको भए

२०७७, १९ जेष्ठ सोमबार १३:५९

रुपन्देही । भैरहवास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएका छन । भीम अस्पतालमा भर्ना भएका उनिहरु निको भई डिस्चार्ज भएर घर फर्केका हुन । डिस्चार्ज हुनेहरुमा बालबालिका सहित २२ पुरुष र तीनजना महिला छन् ।
रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् । कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका भिम अस्पतालले जनाएको छ ।

प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि उनिहरुलाई घर पठाइएको अस्पतालले जनाएको छ । प्रदेश ५ मा यसअघि ३५ जना बिरामीले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Comments

ताजा खबर