पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो

गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ । पहिरोमा ढोरपाटन नगरपालिका–९ सुप्राङ बस्ने बिरे विकको परिवार नै बेपत्ता भएको छ ।

बुधबार साँझ खाना खाएर आफ्नै घरमा सुतेका उनीहरुको घरसहित चार जनाको परिवार कहाँ छ भन्ने बिहीबार साँझसम्म पत्तो नभएको हो । विककी श्रीमती र नाम नखुलेका दुई छोराछोरीसहित चार जना पहिरोले बेपत्ता भएको स्थानीयवासीले बताए । पहिरोमा बेपत्ता भएका अधिकांश एकै घरका सदस्य छन् ।

सोही ठाउँका १० महिनाका नाम नखुलेका एक बालकसमेत बेपत्ता सूचीमा परेका हुन् । बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा चार जनाको मात्र सनाखत भएको छ । घटनामा क्षतविक्षत अवस्थामा शवहरु भेटिएकाले सनाखत रोकिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

“कसैको खुट्टा मात्रै फेला परेको छ, कसैको टाउको मात्रै”, उहाँले भन्नुभयो, “विभत्स शवहरु पहिचानमा कठिन भइरहेको छ ।” पहिरोमा हराएका दुई वर्षका बालकको टाउको च्यापिएको अवस्थामा शव फेला परेको थियो । परिचय नखुलेका एक पुरुषको झोलुङ्गे पुलमा अड्किएको अवस्थामा शरीरको आधा भाग फेला परेको थियो ।

भेटिएका शव बेपत्ता सूचीका हुन् वा अन्य हुन् भन्नेसमेत यकिन भइनसकेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का जीवन विक, नारायण विक, उनी श्रमती टेकमाया विक र नाम नखुलेकी एक वर्षकी छोरी छन् ।

सोही ठाउँका मनिषा विक, शनी विक र उनीहरुका छोराहरु रोशन विक र रवि विक छन् । नाम नखुलेकी १५ दिनकी बालिका, सोही ठाउँका मनकुमारी विक, प्रेम पुन, कमारी विक, समुन्द्र विक, पूनम विक, जीतबहादुर घर्ती, राजु घर्ती, करमती बुढा, रिनाकुमारी घर्ती, दिलमाया पुन, प्रकृति पुन, डोटी पुन रहेका छन् ।

त्यस्तै, हेमबहादुर विक, उजेली विक, दलु विक, नाम नखुलेको १० महिनाको बालक, हस्तमाया विक, तुलमती घर्ती, कौशिला पुन, विशाल पुन, धनमाया विक, तीन वर्षको नाम नखुलेको बालक र बरे विकका चार जनाको परिवार बेपत्ता भएको प्रहरीले जनाएको छ । गलकोटबाट ढोरपाटन घुम्न गएका नवीन भण्डारी र ढोरपाटन नगरपालिका–९ का नाम नखुलेका अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आज पुनः खोजी कार्य हुने छ । कसरी खस्यो पहिरो ? ढोरपाटन जाने सडक वर्षौँअघि खनिएको हो । अहिले यो सडक सालझण्डी ढोरपाटन राष्ट्रिय राजमार्गमा सूचीकृत छ । बर्सातमा हिलाम्मे हुने भएकोले यो सडक सञ्चालनमा छैन । बरु गत असारमा मर्मतको नाउँमा देउरालीमा सडक भत्काइएको स्थानीयवासीले बताए । भत्काएको माटो र सडकमा जमेको पानीले पहिरो चलाएको स्थानीय शिक्षक यामबहादुर कायतले बताउनुभयो ।

सडकको माटोसहित पहिरो खसेर भुजीखोला थुनिएको बताइएको छ । थुनिएपछि बनेको ताल फुटेर पहिरो खस्दा ठूलो क्षति हुनेगरी पहिरो र बाढी चलेको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा के कति मूल्यको क्षति भयो भन्ने खोजी भइसकेको छैन । बेपत्ताको खोजी सकिएपछि मात्र अन्य खोजी हुने बताइएको छ ।

यहाँका अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । तीन वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेकोले विद्युत सेवा पूर्ण ठप्प छ । टेलिफोनको सेवा अवरुद्ध छ । ती आयोजना मर्मत गरेर सञ्चालनका लागि महिनौँ समय लाग्ने बताइएको छ । खोलाले आफ्नो बहावसमेत फेरेको, खेतीपाती बगाएको र कतिपय पुलमा पनि क्षति पुगेकाले वातावरण सहज बन्नसमेत केही समय लाग्ने कायतको कथन छ ।

स्थानीयवासीले बिहीबारदेखि नै खानेबस्ने ठाउँ पाएका छैनन् । घरबार गुमाएकालाई तत्कालका लागि स्थानीयवासीले व्यवस्थापन गरेका छन् । नगरपालिका र दाताहरुले तत्कालका लागि खानपानको व्यवस्थापनमा सहयोग गरेका छन् । सडक पहिरोको कारक पछिल्लो समय अधिकांश स्थानमा ग्रामीण सडक पहिरोको कारक बनेका छन् ।

अन्य घटना पुष्टि नभएसम्मका लागि यो घटना पनि ढोरपाटन सालझण्डी सडकमा बर्सातको समयमा लगाइएको डोजरबाट सिर्जित समस्यासमेत भएको स्थानीयवासीको बुझाइ छ । सडक खन्दा नाली नतर्काउने कामले बढी जोखिम सिर्जना गरेको छ । यो सडक राष्ट्रिय आयोजनामा परे पनि डोजर लगाउने मात्रै काम भइरहेको छ ।

संरचनाहरु समयमा नबन्दा पहिरोको जोखिम बढी भएको उपभोक्ताले बताए । दुर्गन्धको खतरा पहिरोले धेरै बस्तुभाउसमेत बगाएको छ । बगेका गाइबस्तु र पशुपक्षीले दुर्गन्ध र महामारी फैलन सक्नेसमेत चिन्ता बढेको स्थानीय स्वास्थ्यचौकीका प्रमुख दीपक थापाले बताउनुभयो ।

बिरामी र घाइते अवस्थामा आउने बिरामीलाई उपचार र औषधि वितरणमा समेत समस्या परेको भन्दै थापाले पशुपक्षीको दुर्गन्ध बढ्न नदिन पनि समयमै चासो राख्नुपर्ने सुझाव दिनुभयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago