आखिर यो ओली सरकार हो कि गोली सरकार हो

जापान बिस्वास आचार्य । हलगवाडा चोकमा रहेको चिया पसलमा हल्लाखल्ला गर्दै चिया पिउने धनजिते हवल्दारले जस्तो कुरा गरेर देश बन्दैन । यहाँ जनता पनि निकै गम्भीर चेतना साँचेर बाँचिरहेकाछन् । भनाइको अर्थ– अरु जेसुकै भएपनि कम्तिमा बलात्कारको मामिलामा प्रधानमन्त्री जागरुक भैदिए हुन्थ्यो भन्ने हो ।

प्रधानमन्त्री ओलीज्यूलाई बा.. बा.. भन्ने आसेपासेभन्दा बलात्कारको पीडामा आमा.. आमा.. भन्दै चिच्चाइरहेका कलिला मुनाहरूको माया लाग्छ कि लाग्दैन होला! थाहा छैन । ती मान्छेहरू जसले बालुवाटारलाई कमाइ खाने भाँडो बनाएका छन्, उनीहरूप्रति गुनासो होइन । गुनासो यो देशको ‘हेड अफ स्टेट’प्रति हो । गुनासो यो देशको ‘चेन अफ कमान्ड’प्रति हो । अनि गुनासो तिनीहरूप्रति हो, जो रक्षक बन्नुपर्नेमा भक्षक बनेका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ज्यूले गृह मन्त्रालय आफैं चलाएका छन् कि अरुले चलाएका छन् ? अब त्यो महसुस गर्ने बेला आएको छ । शुरूमा बादलज्यूको जुन लय थियो, त्यो लयले गति पकड्न सकेन । लयमा अल्पबिराम लाग्यो । प्रहरीले जे भन्यो त्यो बादलले मान्ने होइन, बादलले जे भन्यो त्यो प्रहरीले मान्ने हो ।

ओली सरकारको किन आलोचना बढ्यो ? आखिर यो ओली सरकार हो कि गोली सरकार हो, भेद छुट्याउन गाह्रो छ । सत्य कुरा यो हो कि, बालुवाटार केही मतिहारा को घेराबन्दीमा छ । ओलीज्यूका आँखाहरूलाई बन्देज लगाउने र कमिसन हसुर्ने जत्था छ त्यहाँ । बालुवाटारभित्र ओलीज्यू मात्र प्रधानमन्त्री छैनन्, त्यहाँ सयौं प्रधानमन्त्री छन् । यो देश सयौं प्रधानमन्त्रीले चलाइरहेका छन् ।

न्याय माग्दा गोली ! गृहमन्त्री रामबहादुर थापा ‘बादल’ज्यू ?

शुक्रबार प्रहरीको गोली लागेर खुना को अकालमै मृत्यु भएको छ । प्रहरीले भीड तितरबितर गर्न भन्दै चलाएको गोली शनी खुनालाई लागेको थियो । दिवंगत शनीको दोष यत्ति थियो– बलात्कारीलाई कारवाही होस् । सत्यतथ्य छानबिन होस् । न्यायको माग थियो । यस्तो माग त को बालक, को महिला, को बुढापाका सबैले गरी नै हाल्छन् । यसबारे स्थानिय प्रहरी बेखबर थियो ?

शान्तिपूर्ण नाराबाजीमा संयम हुने भनेको सरकार नै हो । स्थानीय प्रशासन संयम हुने हो । जनताको कर खाएर जनतासँग पैंठेजोरी खेल्ने काम तिनको होइन । बरु आफू मर्ने तर जनता जोगाउने काम हो तिनीहरूको । तर आत्मरक्षाको नाममा गोली चल्यो । आत्मरक्षा बालबालिकाको पनि हुन्छ कि सुरक्षाफौजको मात्र ? प्रहरीलाई निर्दोष बालकको छातीमा गोली बर्साउने अधिकार कसले दियो ? न्याय माग्दा गोली दिने हो ? हामी विदेशका थुप्रै देशहरूमा हेर्छौं, सानो घटना घट्यो भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिने प्रचलन छ । वास्तवमा भन्ने हो भने यतिखेरसम्म गृहमन्त्री रामबहादुर थापा बादलज्यूले राजीनामा दिनुपर्ने हो । नैतिकताका आधारहरू धेरै नै थिए ।

बलात्कारका पछिल्ला आँकडा हेरौं– भदौ ८ गते रूपन्देहीमा ७ वर्षकी बालिका बलात्कार शिकार भइन् । साउन १७ गते टीकापुरमा १३ वर्षकी, असार ३० गते अछाममा ८ वर्षकी, असार ५ गते बझाङमा १३ वर्षकी, असार ११ गते महोत्तरीमा १३ वर्षकी र कपिलवस्तुमा ६ वर्षकी, असार २२ गते काठमाडौंमा १२ वर्षकी, साउन २३ गते नवलपरासीमा साढे ७ वर्षकी, भदौ ६ गते काठमाडौंमा १३ वर्षकी, असार गते १८ सुर्खेतमा ११ वर्षकी बालिका बलात्कृत भए ।

निर्मला हत्या भयो कञ्चनपुर आन्दोलित छ ,धैर्यता गुमाउँदै प्रहरी कमान्डर

आत्मरक्षा भनेको के हो ? के सडकमा रहेका आन्दोलनकारीसँग अत्याधुनिक हतियार थियो ? कसको रक्षाका निम्ति कसम खाएका थिए सिपाहीहरूले ? नेपालमा प्रहरीले भीड नियन्त्रणका लागि आवश्यकताभन्दा धैरै बल प्रयोग गर्छ । सामान्य अवस्थामा पनि आत्मरक्षाका निम्ति अग्रसर हुन्छन् । जनतालाई क्षति पुगोस्, तर आफूलाई केही नहोस् भन्ने ठान्दछन् । यदि त्यसो हो भने आत्मरक्षाको अवस्थामा पुगेको कञ्चनपुरमा प्रहरीतर्फ कतिजना मरे ?

प्रहरीले रचनात्मक तरिकाले भीड नियन्त्रण गर्ने आक्रोशित समूहलाई कन्भिन्स गर्ने क्षमता गुमाउँदै गएको छ । कमान्डरले धैर्यता र आत्मविश्वास गुमाउँदै गएको समेत प्रतित हुन्छ । आन्दोलनलाई मत्थर पार्ने कयौं विधि-उपायहरू छन् । प्रहरीले लाठीचार्ज, पानीको फोहरा, प्लास्टिकको गोली, हवाइफायर, घुँडामुनि गोली, त्यसपछि मात्र गोली चलाउनुपर्ने हो । गोली भनेको अन्तिम अवस्थामा चलाउने हो । माथिका यी सबै उपाय अपनाउँदा पनि आन्दोलन हिंसात्मक हुँदै गयो भने प्रहरीले गोली चलाउन सक्छ । यसका लागि राज्यको के कति क्षति भयो ? त्यो मूल्याङ्कन हुन्छ । के प्रहरी चौकी जलाइए ? के प्रहरीका सवारी साधन जलाइए ? तर कञ्चनपुरको स्थिति यो हदसम्मको होइन ।

के आन्दोलनकारी हतियार बोकेर आएका थिए ? ढुङ्गाको बदला गोली किन ? हत्याको बदला कदापी हत्या हुन सक्दैन । त्यो सडकको माग बलात्कारी हत्यारालाई कारवाही हुनुपर्‍यो भन्ने थियो । त्यो कुनै कमिसन खानका लागि गरिएको ठेक्कापट्टाको आन्दोलन थिएन । गोली त आन्दोलनको प्रकृति हेरेर पनि चल्ने होला । यो गणतन्त्रिक मुलुकमा चेलीबेटीहरूको बाँच्न पाउने अधिकारको माग राख्दा नाबालकको छातीमा गोली बर्साउने अधिकार कसले दियो ?

बुलेटकोको होइन ब्यालेटको गणतन्त्र हो यो । शान्तिपूर्ण आवाजहरू सडकमा राख्न मज्जाले पाइन्छ । मज्जाले धर्ना, जुलुस गर्न पाइन्छ । यसैका निम्ति राज्यव्यवस्था परिवर्तन गर्ने भनेको हो । होइन भने त पञ्चायती व्यवस्था नै काफी थियो । राजाको शासन नै काफी थियो । ती व्यवस्थाले जनताको अधिकार कुण्ठित गरेका कारण न गणतन्त्रका निम्ति आन्दोलन भएका थिए । लडाइँ भएको थियो । सडकमा नाराबाजी गरेकै कारण, न्यायका लागि आवाज उठाएकै

कारण जनता मार्न पाइँदैन । मौलिक हक अधिकारका साथमा मानवअधिकारको पूर्ण प्रत्याभूति हुने समाजवाद ल्याउने भन्या होइन र ?

शंकाको घेरा

विभिन्न मिडियामा आएको खबर अनुसार निर्मला पन्त किताब लिनका लागि जाने गरेको घर दुईतले छ । बुवाआमा दार्चुला बस्ने गरेकाले त्यो घरमा तिनका छोरीहरू रोशनी, आँचल र बबिता बम मात्रै बस्थे । रोशनी निर्मलाकी साथी थिइन् । उनी १८ वर्षकी भइन् । बबिता भने सानै छिन् । स्थानीय बासिन्दाका अनुसार त्यो घरमा सधैं दुईजना केटा आउने, जाने गरिरहन्थे ।

ती केटाहरू कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा रहेछन् । उनीहरू त्यो घरमा किन आउँथे भन्ने कुरा रहस्यमै छ ।

तर माथिको आदेशसँग जनता डगमगाउने छैनन् । जनताले शंका गरेका व्यक्तिउपर छानबिन हुनैपर्छ । ओली सरकारले पनि जनतालाई न्याय दिने अवसर गुमाउनु हुँदैन । बलात्कारको मुद्दा ओझेल पारेर वास्तविक दोषीलाई उम्काउन खोजेको कञ्चनपुरका स्थानीयवासीको बुझाइ छ । प्रहरीको काम दोषी उम्काउने होइन । प्रहरीको काम नक्कली अभियुक्त खडा गर्ने पनि होइन । प्रहरीको काम जघन्य अपराधलाई मिलापात्र गराएर टुंगाउने पनि होइन । प्रहरीले त दोषी पत्ता लगाउने हो । घटनास्थलको सत्यतथ्य प्रमाण अदालतसामु पेश गर्ने हो । चोकचोकमा चोकचोकमा बन्दै हिँड्ने होइन । प्रहरीको काम उजुरी लिन आनाकानी गर्ने पनि होइन ।

स्थानीयवासीको माग छ– निर्मला पन्तको बलात्कारमा ती केटाहरू संलग्न भएपनि नभएपनि शंकास्पद भएकाले छानबिन हुनुपर्‍यो । उनीहरू माथि अनुसान्धन हुनुपर्‍यो । यति मात्र होइन, निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान हुनुपर्‍यो । जरैदेखि अनुसान्धन प्रक्रिया प्रारम्भ गर्नका लागि सबैभन्दा पहिले यो काम हुनु जरुरी देखिन्छ ।

अहिले निर्मला र उनको परिवारलाई चाहिएको न्याय हो । न्याय खोज्न सडकमा गएका हुन्, जनताहरू । त्यो पनि चेलीबेटीहरू सुरक्षित तरिकाले बाँच्न सकुन् भनेर । गोली खोज्नका लागि गएका होइनन् ती । पीडित परिवारको आँसु हेर । पीडितलाई झन् आक्रोशित नबनाऊ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago