प्रधानन्यायाधीश को नागरिकता र शैक्षिक प्रमाणपत्र विवाद

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीसँग दुईवटा नागरिकता रहेको भन्दै ती नागरिकतासँगै उनको शैक्षिक योग्यताका प्रमाणपत्र झिकाउन आदेश दिएको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको अवहेलना मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपिका साथै उनको उमेर विवादका विषयमा न्यायपरिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको हो ।                            कायम मुकायम प्रधानन्यायाधीश रहेकै बेला पराजुलीको उमेर र शैक्षिक योग्यताको विवाद सुरु भएको थियो । उनका दुईवटा नागरिकतामा फरकफरक उमेर उल्लेख भएको पाइएपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पहिलो नागरिकतामा उल्लेख भएको मिति सदर गर्दै न्यायपरिषद्लाई पत्राचार गरेकी थिइन् । पत्राचारलगत्तै कार्कीले अवकास पाएपछि बसेको न्यायपरिषद् बैठकले भने पराजुलीको दोस्रो नागकिरतामा उल्लेख भएको जन्ममिति सदर गरेपछि उनी हालसम्म प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।
जन्ममिति विवादबारे सर्वोच्चमा परेको एउटा रिटलाई भने उनको नागरिकताको प्रतिलिपि झिकाउने आदेश गर्नेमध्येका न्यायाधीश भण्डारीको एकल इजलासले पहिलो सुनुवाइमै खारेज गरिदिएको थियो । त्यसपछि यो विषय सेलाएको थियो । तर केसीले आमरण अनशन सुरु गर्दै यो विवादलाई पुनः ब्युताएका हुन् ।
प्रधानन्यायाधीश पराजुलीले २१ साउन २०३० मा पहिलोपटक नागरिकता लिएका थिए । त्यस बेला जन्ममितिको स्थानमा २१ वर्ष लेखिएको थियो । २०४८ मा न्याय सेवा प्रवेश गर्दा उनले नागरिकताको यही प्रमाणपत्र पेस गरेका थिए ।
जसका आधारमा न्यायपरिषद्ले उनको जन्ममिति २१ साउन २००९ कायम गरेको थियो । उनको उमेर विवाद सार्वजनिक भएपछि न्यायपरिषद्ले न्यायाधीश र न्यायसेवाका कर्मचारीको जन्ममिति नै विवरणबाट हटाएको थियो । तत्कालीन समयमा भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति विवादले प्रधानन्यायाधीशका रूपमा पदमा रहने अवधिमा विवाद देखिएपछि न्यायपरिषद्ले न्यायाधीश र कर्मचारीको जन्ममिति गायब बनाएको थियो ।
न्यायपरिषद्ले २०५८ सालदेखि न्यायाधीश र न्याय सेवाका कर्मचारीको विवरणमा जन्ममिति उल्लेख गरेर सार्वजनिक गर्दै आएको थियो । तर पराजुलीले प्रधानन्यायाधीशका रूपमा कहिले अवकास पाउँछन् भन्ने विषय विवादित बनेकै समयमा परिषद्ले विवरणबाट जन्ममिति हटाएको थियो ।
त्यसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले पराजुलीको पुरानो नागरिकता नै कायम गर्ने निर्णय गरेको थियो । तर उनी प्रधानन्यायाधीश भएपछि न्यायपरिषद्मार्फत त्यसलाई उल्ट्याएर दोस्रो पटक लिएको नागरिकतामा उल्लेख जन्ममितिलाई आधार बनाएका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लागेपछि पराजुली प्रधानन्यायाधीश भएका थिए । पराजुलीले न्यायपरिषद्मा दोस्रो पटक लिएको नागरिकता प्रतिलिपि बुझाएका छन् । उनले लिएको दोस्रो प्रतिलिपिमा पूरा जन्ममिति खुलेको छ । पारित भएको न्यायपरिषद् ऐनको दफा ६ मा न्यायाधीशले पेस गरेको कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको भएमा र सो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा जन्ममिति खुलेकोलाई आधार लिइने उल्लेख छ । त्यही ऐनमा टेकेर उनले दोस्रो पटक लिएको नागरिकतामा उल्लेख जन्ममिति कायम भएको हो ।
पहिलो प्रतिलिपिअनुसार उनी ५६ दिन मात्र प्रधानन्यायाधीश हुन पाउँथे । दोस्रोलाई आधार मान्दा उनी आगामी वैशाखसम्म प्रधानन्यायाधीश हुन पाउँछन् ।गत ३० जेठमा न्यायपरिषद्ले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति २०१० वैशाख १६ गतेलाई सदर गरेको थियो । यो सिफारिससँगै पराजुलीको उमेर २०१० वैशाख १६ गते कायम गरिएको जानकारी पनि संवैधानिक परिषद्लाई गराएको थियो । परिषद् ऐनको दफा ३१ को उपदफा ६ बमोजिम पराजुलीको जन्ममिति २०१० वैशाख १६ गतेलाई सदर गरिएको न्याय परिषद्ले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago