प्रधानमन्त्री ओली र कोस्टारिकाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं ,असोज १६। प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफूले पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने मौका पाएको, शान्ति विश्वविद्यालयमा मानार्थ विद्यावारिधिको उपाधि स्वीकार्दा शान्ति तथा सामाजिक-आर्थिक विषयमा छलफल गर्न पाएको जानकारी दिए । उनले दुई देशबीच सम्बन्ध तथा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको र त्यसमा गरीबी, गरिबी निवारण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा र अन्य विषय समेटिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले दुई नेतृत्वबीच नेपालको प्राथमिकता, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य, वातावरणीय परिवर्तन, महिला सशक्तीकरण, प्रजातन्त्र, सुशासन, निःशस्त्रीकरण आदि विषयमा पनि छलफल भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलालाई उपयुक्त छिटो समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । प्रधानमन्त्री ओली तथा राष्ट्रपति क्वेसाडाबीच छुट्टै एकल वार्तासमेत भएको थियो । यसपछि दुई मुलुकबीच प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको थियो ।

कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोले पनि प्रतिनिधिमण्डलसँग भेट गरेकी थिइन् । उनले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसँग छुट्टै वार्ता गरेकी थिइन् । प्रधानमन्त्री ओली आज राष्ट्रपति क्वेसाडासँग भेटवार्ता गर्न कोस्टारिका कला सङ्ग्रहालय आइपुग्दा उनलाई प्रथम उपराष्ट्रपति तथा विदेश मामिलामन्त्री एप्सी क्याम्पबेल बारले स्वागत गरेका थिए ।

स्वागतपछि दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । प्रधानमन्त्री ओलीले आजै कोस्टारिका कला सङ्ग्रहालयको अवलोकन गरेका छन् । सान होजेको पुरानो विमानस्थलमा रहेको ला सबाना उद्यानमा सो सङ्ग्रहालय अवस्थित छ । सङ्ग्रहालयमा ६ हजार कला सजाइएको छ । यो स्थायी सङ्ग्रहालय हो र यसले कहिलेकाहीँ अस्थायी प्रदर्शनी पनि आयोजना गर्छ ।

यहाँ ल्याटिन अमेरिकाका कलाकार जासे साञ्चो, म्याक्स जिमेनेज, फ्रान्सिस्को जुनिगा तथा जर्ज जिमेनेज देखेदियाजस्ता कलाकारका कला प्रदर्शनीमा राखिएको छ । यहाँ कोस्टारिकाका प्रायः सबै कला प्रदर्शनमा छन् भने विश्वभरका करीब ५६० समसामयिक कला पनि राखिएका छन् ।

सङ्ग्रहालयको बाहिरी भागमा मूर्तिकला सजाइएको छ । यहाँ फ्रान्सेली कलाकार लुइस फेरोनको पनि कला सजाइएको छ । आजै कोस्टारिकाका राष्ट्रपति क्वेसाडा तथा प्रथम महिलाले प्रधानमन्त्री ओली तथा उनकी धर्मपत्नी शाक्य तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग उनका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । रासस

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago