प्रधानमन्त्री देउवाले रोके अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

२०७९, १ असार बुधबार १०:००

काठमाडौँ – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।

जेठ १४ गते राति बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनाधिकृत रूपमा पूर्वनासु रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई जिम्मेवारी दिएको तथ्य सार्वजनिक भएपछि शर्माले पद छाड्नुपर्ने आवाज संसददेखि दलहरूभित्र समेत उठिरहेको छ।

नेकपा माओवादी केन्द्रभित्रै पनि शर्मालाई पदबाट हटाउनुपर्ने दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले भने उनलाई पदमा यथावत काम गर्न मन्त्रिपरिषद बैठकमै निर्देशन दिएका हुन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा बजेट निर्माणमा शर्माले गरेको खेलाचीको विषयमा अरू मन्त्रीहरूले समेत खुलेर चर्को आलोचना गरेको एक मन्त्रीले जानकारी दिए।

शर्माका कारण सरकारको छवि धमिलिएको र यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्ने कुरा मन्त्रीहरूले बैठकमा राखेका थिए।

Comments

ताजा खबर