अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेको हो । स्थानीयसमय अनुसार शुक्रबार बेलुका एफडिएले मोदेर्नाको खोपलाई स्वीकृति दिइएको घोषणा गरेको हो ।
यसअघि नै फाइनान्सियल टाइम्सले एफडिए खोपलाई स्वीकृति दिने निर्णयमा पुगेको खबर स्रोतलाई उद्धृत गरि खबर प्रकाशित गरेकोथियो ।
एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्नसुझाव दिएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर एफडिएले स्वीकृति दिने निर्णय गरेको जनाएको छ ।
यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति प्रदान गरेको थियो । त्यसपछि अमेरिकाभरसो खोप जोखिममा रहेको समूहलाई पहिलो प्राथमिकतामा राखेर दिन थालिएको छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७४ लाख १० हजार भन्दा धेरै व्यक्तिसंक्रमित भइसकेका छन् । यस्तै कोभिड–१९ बाट तीन लाख १३ हजार अमेरिकीको ज्यान गइसकेको छ ।