लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

२०८२, २७ फाल्गुन बुधबार १६:४३

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा प्रवेश गरेको छ। आयोजक एभेन्टोज डिजिटल ले हालै उत्कृष्ट आठ प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो।

आयोजकका अनुसार स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङकै अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल, कास्कीका अनिल चापागाईं र दोलखाका दीपक थापा मगर अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनुभएको छ।

देशका विभिन्न जिल्लाबाट सहभागी भएका गायक–गायिकाले आ–आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली लोकदोहोरी संगीतलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ। नयाँ प्रतिभालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको पनि बताइएको छ।

उत्कृष्ट आठभित्र पर्न सफल भएका चितवनका नारायण (नरन) पौडेल नेपाली लोकदोहोरी संगीत क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा चिनिन थालेका गायक हुन्। आफ्नो सशक्त स्वर, मौलिक शैली र भावपूर्ण प्रस्तुतीका कारण उनले दर्शक र निर्णायकहरूको मन जित्दै प्रतियोगिताको अन्तिम चरणसम्मको यात्रा तय गरेका हुन्।

नारायण पौडेल यसअघि पनि एक प्रतिष्ठित लोकदोहोरी प्रतियोगितामा सफलता हासिल गरिसकेका छन्। उनी ‘गोर्खाली भ्वाइस लोकदोहोरी सिजन–१’ का प्रथम विजेता समेत हुन्। उक्त उपाधिले उनलाई लोकदोहोरी संगीत क्षेत्रमा अझ बढी परिचित बनाएको छ र नयाँ पुस्ताका लोकगायकमध्ये एक आशाजनक प्रतिभाका रूपमा स्थापित गरेको छ।

चितवनको प्रतिनिधित्व गर्दै उनले नेपाली लोकसंस्कृति र लोकदोहोरी संगीतलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गरिरहेका छन्। उनको प्रस्तुतीमा मौलिक लोकलय, भावनात्मक अभिव्यक्ति र परम्परागत शैलीको सुन्दर समायोजन देख्न पाइन्छ, जसले उनलाई दर्शकमाझ लोकप्रिय बनाएको छ।

अब ‘लोकदोहोरी स्टार सिजन–१’ को ग्राण्ड फिनाले आगामी चैत १७ गते काठमाडौंमा आयोजना हुने तय भएको छ। उक्त फाइनल चरणमा उत्कृष्ट आठ प्रतिस्पर्धीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। चितवनसहित देशभरका दर्शक तथा समर्थकहरूले नारायण (नरन) पौडेल को सफलताका लागि शुभकामना व्यक्त गरिरहेका छन्।


ताजा खबर