यी ८ कारणले म्याकभन्दा राम्रो हुन्छ विन्डोज कम्प्युटर

२०८०, १ माघ सोमबार १९:४६

काठमाडौं । कम्प्युटरको बारेमा चर्चा गर्दा अवश्य पनि म्याक धेरैको रोजाइमा पर्छ । त्यसो त एप्पलले म्याकलाई स्तरीय बनाउन त्यही अनुसार नयाँ नयाँ विशेषताहरू समावेश गरेको हुन्छ ।

विशेषगरी व्यावसायिक प्रयोजनका लागि पर्फमेन्स, साइबर सुरक्षा, भरपर्दो र स्तरीय डिभाइस आदि कारणले म्याकले धेरैको ध्यान आफूतिर खिचिरहेको हुन्छ । विन्डोजको तुलनामा म्याक आकर्षक हुन्छ ।

म्याक उच्च गुणस्तरको हुने भएकाले टिकाउ र लामो समयसम्म समस्या नआउने किसिमको हुन्छ । तर, यता विन्डोज पीसीका यस्ता विशेषता छन्, जसले गर्दा तपाईंका लागि म्याकको तुलनामा विन्डोज कम्प्युटर नै उपयुक्त हुन्छ ।  आज हामी म्याकको तुलनामा विन्डोज पीसी किन उपयुक्त छ भन्ने विषयमा चर्चा गर्दैछौं । यी ८ कारणले म्याकभन्दा राम्रो हुन्छ विन्डोज कम्प्युटर

१) मूल्यको विकल्प

म्याक हाइ इन्ड डिभाइस हुन् । यस्ता डिभाइसको सुरुवाति मूल्य नै महँगो हुन्छ । मूल्य धेरै हुने भएकाले सबैले त्यति रकम खर्च गरेर खरिद नगर्न सक्छन् ।

तर, विन्डोज ल्यापटप तथा कम्प्युटरको मूल्यमा भने धेरै अन्तर तथा विविधता हुन्छ । तपाईंले सामान्यः २५ हजार रुपैयाँदेखि तीन चार लाख रुपैयाँसम्मका विन्डोज पीसी पाउन सक्नु हुन्छ ।

म्याक र विन्डोज पीसीको तुलना गर्ने हो भने म्याकको सुरुवाति मूल्य नै पीसीको हाई इन्ड मोडेल सरह हुन्छ । कम बजेटमा म्याक खरिद गर्न खोज्नेहरूका लागि कुनै विकल्प छैन ।

तर, कम बजेटको विन्डोज पीसी खरिद गर्नेहरूका लागि पनि थुप्रै विकल्प भेटिन्छन् । बढी मूल्यमा त्यस्तै फिचर भएको विन्डोज पीसी खरिद गर्छु भन्नेले पनि महँगो पीसी खरिद गर्न सक्छन् ।

२) पोर्ट

कम्प्युटरमा हुने पोर्टको सहायताले हामी त्यसमा विभिन्न अन्य डिभाइस कनेक्ट गर्न सक्छौं । विशेषगरी त्यस मार्फत फोन, एक्सटर्नल हार्ड ड्राइभ, हेडफोन, एचडीएमआई केबल लगायतका डिभाइस कनेक्ट गर्न सकिन्छ ।

म्याकको तुलनामा विन्डोज पीसीमा पोर्टको सङ्ख्या धेरै हुन्छ । तपाईंले म्याक भन्दा पीसीमा आफूले खोजेको पोर्ट फेला पार्न सक्नुहुन्छ ।

सन् २०१६ पछि सार्वजनिक भएका म्याकबुकमा दुई किसिमका मात्र पोर्ट दिइएका छन् । त्यसमा दुई ओटा थन्डरबोल्ट यूएसबी-सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक मात्रै पाइन्छ ।

हुन त तपाईंलाई थप पोर्टहरू आवश्यक परे त्यही अनुसारको यूएसबी हब खरिद गर्न सक्नुहुन्छ । तर, आफ्नै कम्प्युटरमा बढी पोर्ट हुँदा जति सुविधा हुन्छ, त्यति बाहिरबाट थपेको पोर्टमा नहुन सक्छ ।

३) टचस्क्रिनको सुविधा  

एप्पलले अहिलेसम्म टचस्क्रिन भएको म्याक ल्याएकै छैन । तर, यता विन्डोजमा भने थुप्रै कम्पनीले टचस्क्रिन फिचर ल्याइसकेका छन् । टचस्क्रिन हुँदा ट्रयाक प्याडमा औंला चलाएर वा माउसले कन्ट्रोल गरिरहनु पर्दैन । सोझै स्क्रिनमा छोएकै भरमा काम गर्न सकिन्छ ।

त्यसो त बजारमा एप्पलले टचस्क्रिन सुविधा भएको म्याक ल्याउन लागेको भन्ने चर्चा पनि छ । तर, कम्पनीले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरेको छैन ।

त्यसैले कहिलेसम्म टचस्क्रिन सुविधासहितको म्याक उपलब्ध हुन्छ, यत्तिकै भन्न सकिंदैन । तर, तपाईंले टचस्क्रिन सुविधा भएको विन्डोज पीसी खरिद गर्न चाहनु भयो बजारमा सजिलै भेट्न सक्नुहुन्छ ।

४) ट्याब्लेट भर्सन

तपाईंले म्याकलाई ट्याब्लेट बनाउन सक्नुहुन्न । तर, पीसीलाई भने ट्याब्लेट बनाउन सक्नु हुन्छ । बजारमा यस्ता ट्याब्लेट स्टाइलका पीसी पनि आइसकेका छन् ।

जसलाई आवश्यकता अनुसार पीसी वा ट्याब्लेट बनाएर प्रयोग गर्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा, चित्र बनाउँदा वा गेम खेल्दा ट्याब्लेट मोडले सहज बनाउँछ ।

५) कस्टमाइजको सुविधा

बजारमा उपलब्ध विन्डोज पीसी तपाईंलाई चित्त बुझेन वा त्यसले तपाईंको आवश्यकता पूरा गरेन भने पनि आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्नुहुन्छ । तर, बजारमा उपलब्ध भएको म्याकमा केही कुरा चित्त बुझेको छैन भने त्यसलाई आफ्नो आवश्यकता अनुकूलको बनाउन सक्नुहुन्न ।

तपाईं पीसी बिल्डर वेबसाइटमा गई त्यहाँ देखाए अनुसार पीसीलाई कस्टमाइज गर्न सक्नुहुन्छ । तपाईंलाई पीसीबारे कमै प्राविधिक ज्ञान छ भने पनि तपाईंले उक्त वेबसाइटको सहयोगमा आफूले चाहे अनुसार पीसी कस्टमाइज गर्न सक्नुहुन्छ ।

विशेषगरी पीसीमा आवश्यकता अनुसार र्‍याम, स्टोरेज, ग्राफिक्स कार्ड थपघट गर्न सकिन्छ ।

६) गेमिङ

यदि तपाईं अनलाइन गेमको पारखी हुनुहुन्छ भने म्याकभन्दा विन्डोज नै उपयुक्त हुन्छ । अधिकांश गेमरले आफ्नो अनुभवमा पीसीलाई नै उपयुक्त मानेका छन् । त्यस्तै एप्पलको म्याक ओएस गेमिङमा त्यति केन्द्रित छैन भन्ने गेमरहरूको गुनासो छ ।

गेमिङको सन्दर्भमा विन्डोज पीसी भने धेरै अगाडि छ । प्रायः अनलाइन गेम विन्डोजलाई केन्द्रित गरी तयार पारिएका हुन्छन् ।

त्यस्तै तपाईंले गेमिङका लागि पीसीमा आवश्यकता अनुसार ग्राफिक्स कार्ड अपग्रेड गर्न सक्नुहुन्छ । तर, म्याकमा त्यस्तो सुविधा पाउनु हुन्न ।

७) सफ्टवेयर उपलब्धता 

सफ्टवेयर सपोर्टको हिसाबले म्याकभन्दा पीसी बढी चर्चित छन् । विशेषगरी हरेक वर्गका प्रयोगकर्ताका लागि म्याकको तुलनामा पीसी नै उपयुक्त हुन्छ ।

बढी प्रयोगकर्ता हुने भएकाले पीसीलाई केन्द्रित गरेर सफ्टवेयर बनाउने डेभलपर तथा कम्पनीहरू धेरै हुन्छन् । पीसी सफ्टवेयरका लागि उपलब्ध हुने कन्टेन्ट पनि धेरै हुन्छ ।

त्यस्तै पीसीको गेम लाइब्रेरीमा क्रियटरले थुप्रै गेम तथा सफ्टवेयर राखेका हुन्छन् । तपाईंले शुल्क तिरेर वा निःशुल्क ती सफ्टवेयर पीसीमा प्रयोग गर्न सक्नुहुन्छ ।

त्यहाँ उपलब्ध नभएका सफ्टवेयर थर्ड पार्टी वेबसाइट तथा वेबस्टोरमा पाउन सक्नु हुन्छ । म्याकका लागि भने तपाईंले आधिकारिक स्टोरमै पुग्नुपर्ने हुन्छ ।

अधिकांश डेभलपरले म्याकभन्दा पनि पीसीलाई केन्द्रित गरी सफ्टवेयर विकास गर्ने भएकाले म्याकमा सबै किसिमका सफ्टवेयर पाउन सकिंदैन ।

८) मर्मत 

विन्डोज पीसी मर्मतका लागि धेरै विकल्पहरू हुन्छन् । तपाईंले जुनसुकै कम्प्युटर मर्मत पसलमा गएर विन्डोज पीसी मर्मत गर्न सक्नुहुन्छ ।

तर, सबै कम्प्युटर मर्मत गर्ने पसलले म्याक मर्मत गर्दैनन् । त्यसका लागि तपाईं एप्पल सर्भिस सेन्टर अथवा म्याक मर्मत गर्ने विशेष ठाउँमा जानुपर्ने हुन्छ ।

त्यस्तै पीसी कस्टमाइज गर्न सकिने भएकाले त्यसका अधिकांश भाग हटाउन वा नयाँ राख्न सकिन्छ । आवश्यक परेका त्यस्ता पीसी कम्पोनेन्ट पाइने ठाउँ पनि धेरै हुन्छन् ।

तर, म्याकका लागि कि आधिकारिक स्टोरमै पुग्नु पर्ने हुन्छ, नत्र एप्पलबाटै अर्डर गर्नुपर्ने हुन्छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु