कर्मचारी र जनप्रतिनिधि टिकटकमा मस्त, झापामा प्रतिबन्ध लगाउने तयारी

२०७९, १२ चैत्र आईतवार २०:४३

झापा, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमै टिकटक बनाउन थालेपछि एस किसिमको विकृतिलाई प्रतिबन्ध लगाउन झापामा तयारी थालिएको छ ।
आजकल मनोरन्जनको माध्यम बनेको टिकटकप्रति आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएपछि त्यसलाई रोक्नका लागि कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध लगाउने तयारी थालिएको हो ।

टिकटकले धेरै विकृति ल्याएपछि जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा टिकटकलाई प्रतिबन्ध लगाउने एजेन्डा नै लैजान लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

उनले नीति नै बनाएर टिकटकलाई प्रतिबन्ध लगाउन आबश्यक भएको बताए । ‘काम गर्न आएका कर्मचारीहरु टिकटक बनाउन लाग्दा समयको बर्बादीसंगै कार्यालयको गोपनीयता पनि भंग हुने खतरा छ’ उनले भने ।

भर्खरै संचालनमा आएको बिर्तामोड नगर अस्पतालले अस्पतालभित्र आफ्ना कर्मचारीहरुलाई टिकटक बनाउन प्रतिबन्ध लगाइसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले सबै कर्मचारीलाई त्यसबारे सचेत गराएका छन् । नगर अस्पतालसंगै नगरपालिका कार्यालय र त्यस मातहतका सबै कार्यालयहरुमा अब टिकटक बनाउन प्रतिबन्ध लगाइने नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।

\यसअघि बिर्तामोडका केही कर्मचारीले आफ्नो र अरुको मर्यादाको ख्याल नराखी टिकटक बनाउने र फेसबुकमा भिडियो हाल्ने गरेको बताउँदै उनले त्यस किसिमको क्रियाकलाप अब गर्न नपाउनेगरी निर्णय पारित गरिने जानकारी दिइन् । यतिसम्म कि कुनै वस्तु वा सेवाको प्रचारका लागिसमेत सबैभन्दा राम्रो माध्यम बनेको छ टिकटक । तर त्यहि टिकटकले धेरै विकृति भित्र्याएको छ । ‘भाइरल’ हुने बहाना र चाहनामा गरिने हर्कतले टिकटकको दुरुपयोग भएको छ । टिकटकको दुरुपयोग बढेपछि अहिले पशुपति क्षेत्रसहित धेरै पर्यटकीय स्थल, धार्मिक स्थलहरुमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।

यसअघि बैंकमा टिकटक बनाउने क्रममा केही घटनाहरु भएका थिए । काठमाडौँस्थित एक बाणिज्य बैंकमा बैंकका कर्मचारीले टिकटक बनाउने क्रममा ग्राहकको अनलाइन बैंकिङका लागि भर्न दिएको फर्म नै टिकटकमा छताछुल्ल भयो । सो फर्ममा ग्राहकले आफ्नो सम्भावित पासवर्ड पनि उल्लेख गरेका थिए । सो ब्रान्चका ब्रान्च मेनेजरले कर्मचारीका तर्फबाट माफी मागे र फ्रन्ट डेस्कमा बस्ने ती कर्मचारीलाई टिकटक हटाउन लगाए। यस्तै भयो सानिमा बैंकको एक शाखामा पनि । बैंकका कर्मचारी साइडमा टिकटकको फलोअर्स चेक गर्दै आफ्नो सिष्टम चलाउँदै थिए । काम गर्दै जाँदा भोलिपल्ट मात्र थाहा भयो कि एक ग्राहकको बाउन्स हुनुपर्ने चेकबाट भुक्तानी भएछ । पछि यो केस सामसुम पारेर मिलाइयो । काममै टिकटक चलाउँदा ‘दुर्घटना’ भएको भन्दै मेनेजरले सो शाखामा टिकटक चलाउन नै निषेध गरिदिए ।

त्यस्तै घटना एनआईसी एशिया बैंकमा पनि भएको थियोे । एक ग्राहकले भदौ २४ को चेक काटेर दिएका थिए एउटा पाटीलाई । तर सो चेक साउन २४ गते नै भुक्तानी भयो । व्यवहार मिलाउन एक महिनापछिको चेक दिएका ग्राहकले आफूले दिएको चेक १ महिना अघि नै साटिएपछि बैंकमा गएर प्रश्न गरे । पछि बुझ्दा पो थाहा भयो, बैंकका कर्मचारी टिकटकमा व्यस्त रहेछन् ।

सुरुवातमा रमाइलो र सूचना प्रवाहको पृथक माध्यमका रुपमा स्थापित भएको टिकटक आजभोली भने विकृतिको सागर बन्दै गएको छ । यो विकृतिबारे जानकार नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टिकटक बनाउन रोक नै लगाएको छ ।

चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक डेनमार्कले पनि टिकटक एपलाई आफ्ना सरकारी उपकरणमा बन्देज लगाएको छ ।अफगानिस्तान, पाकिस्तान, ताइवान, युुरोपेली युनियन, क्यानडा, डेनमार्कलगायतका देशले टिकटकलाई कडा नियन्त्रणमा राखेका छन् ।

यसका अलावा विश्वका अन्य मुलुकहरु पनि छन् जहाँ टिकटकमाथि प्रतिबन्ध लगाइएको वा कडा नियन्त्रणमा राखिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु