कात्तिक २५ गते शनिवार बिर्तामोड रन म्याराथन हुँदै

२०८०, २३ कार्तिक बिहीबार २०:२७

झापा। अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने भएको छ ।

तिहार पर्वको उपलक्ष्यमा  वडा खेलकुद विकास समिति बिर्तामोड ३, रोट्रयाक्ट क्लब अफ बिर्तामोड  र युनाइटेड युथ क्लबको सहयोगमा यही कात्तिक २५ गते शनिवार बिहान महिला र पुरुषको खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिने भएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । धावकहरुका लागि करिव ६ किलोमिटर दुरी तय गरिएको बिहान ६.३० बजे बिर्तामोड नगरपालिका अगाडिबाट शुरु हुने म्याराथन भगवान चौक हुँदै मुक्ति चोक पुगेर पुनः नगरपालिका कार्यालय अगाडि आएर समापन हुने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट’ भन्ने नाराका साथ सो प्रतियोगिता दोस्रो पटक आयोजना गरिएको कार्यक्रम संयोजक प्रभास थापामगरले बताए । युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन गत वर्षदेखि म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए । पुरुष र महिला म्याराथनमा प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ७ हजार ,४ हजार र ३ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

अनारमनीको ऐतिहासिक नामलाई जोगाउन २०७० सालमा क्लब स्थापना गरी खेलकुद र सामाजिक कार्यहरु निरन्तर गर्दै आएको अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखियाले बताए । रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाहले युवाहरुलाई लक्षित गरी आयोजना गरिएको म्याराथनमा सहभागी हुन आव्हान गरे ।

सहभागिता जनाउनका लागि शुक्रवार बेलुकासम्म फारम भर्न सकिने भन्दै अनारमनी युथ क्लबका सदस्य कोसिस घिमिरेले बिर्तामोड ३ नं वडा कार्यालयमा फारम उपलब्ध रहेको जानकारी दिए । उनले प्रतियोगिताकै दिन शनिवार बिहान समेत फारम भर्न सकिने बताए ।

विगत केही महिनादेखि बिर्तामोड ३ का युवाहरु एकजुट भई सामाजिक कार्यमा सक्रिय भएर लागिपरेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले खेलकुदसंगै लागूऔषध नियन्त्रण , सरसफाई , बृक्षरोपणजस्ता कार्यमा स्थानीय युवाहरुको उत्साहजनक सहभागिता देखिएको भन्दै प्रशंसा गरे ।

पत्रकार सम्मेलनमा वडा खेलकुद विकास समिति बिर्तामोड ३ का अध्यक्ष अनिश सुवेदी ,काजी ब्यांक्वेटका अरुण खड्का , नन्दु सब्जी भण्डारका विशाल चौधरीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि विभिन्न संघ संस्था सहयोगी र प्रायोजक रहेका छन् । गत वर्ष आयोजित म्याराथन प्रतियोगितामा ७० भन्दा बढीले सहभागिता जनाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु