माइग्रेन वैकल्पिक उपचारबाट निको पार्न सकिन्छ

२०८०, २४ श्रावण बुधबार २२:०४

टाउको दुख्ने समस्या प्राय: सबैले नै भोगिरहेका हुन्छन् । तर लगातार एक भागको टाउको दुखिरहेको छ भने माइग्रेन हुन सक्छ । माइग्रेन यस्तो समस्या हो, जुन सहजै निको हुन सक्दैन तर वैकल्पिक चिकित्साबाट उपचार पाएमा ९० प्रतिशत निको बनाउन सकिन्छ ।

माइग्रेन के हो ?

माइग्रेन एक प्रकारको न्युरोजेनिक डिसअर्डर हो । माइग्रेन हुँदा टाउकोको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण माइग्रेनलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । माइग्रेनलाई दुई भागमा वर्गीकरण गरिएको हुन्छ । एउटा एपिसोड माइग्रेन र अर्को क्रोनिक माइग्रेन ।

एक महिनामा १४ पटकभन्दा कम हुने माइग्रेनको दुखाइलाई एपिसोडिक माइग्रेन भनिन्छ । त्यस्तै लगातार रुपमै माइग्रेनको टाउको दुखाइ हुन्छ वा १४ पटक भन्दा बढी समस्या देखिइरहन्छ भने त्यसलाई क्रोनिक माइग्रेन भनिन्छ ।

महिलालाई बढी सताउ

यो प्राय: १५ देखि ५० वर्षसम्म उमेरका महिलामा देखिन्छ । यसो भन्दैमा पुरुषमा हुँदैन भन्ने होइन तर तुलनात्मक रुपमा महिलामा बढी देखिन्छ । तथ्यांकले पनि ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला माइग्रेनबाट प्रभावित भएको पाइन्छ ।

महिलालाई मात्र किन भयो भन्ने कुराको निचोड पनि विज्ञानले निकालिसकेको छैन । यद्यपि महिनावारी सुरु हुँदा हार्मोन असन्तुलनले यस्ता प्रभाव देखिन सक्ने अनुमान अध्ययनले जनाएको छ ।

 

कारण

माइग्रेनको कारण पत्ता लागिसकेको छैन । मस्तिष्कभित्र र बाहिर रगतको नलीमा रक्तप्रवाहमा आउने  अवरोधले हुने विज्ञहरुको अनुमान छ । माइग्रेनको ठोस कारण नलागे पनि केही यस्ता वस्तु छन् जसले माइग्रेनलाई बढाउँछ । जसलाई माइग्रेनको ट्रिगर फ्याक्टर पनि भनिन्छ । धेरैजसोलाई उज्यालो किरण, होहल्ला, कडा गन्धले माइग्रेनको ट्रिगर गर्न सक्छ । खानपिन जस्तै, रेड वाइन, गालेको अचार, तामा, गुन्द्रुक, पनिर, चकलेटले पनि माइग्रेनलाई बढाउन सक्छ । यद्यपि सबैलाई एकै तत्वले ट्रिगर गर्छ भन्ने हुँदैन । महिलाहरुलाई महिनावारी हुनु तीन-चार दिनअघि वा महिनावारी पछि पनि माइग्रेनको अट्याक आउन सक्छ ।

माइग्रेनको चारवटा चरण हुन्छ ।

१. प्रिडोम

माइग्रेन हुनु एक दिनअघि वा केही दिनदेखि हाइ आउने, अल्छीपन र दिक्क लाग्नेजस्ता सामान्य समस्या देखिन्छ ।

२. औरा

दोस्रो चरणमा माइग्रेन हुनु पाँच मिनेटअघि आँखामा झिल्का र झड्का आएको जस्तो, आँखा तिर्मिराउने वा कालो धब्बा देखिने अनुभव हुन सक्छ । यो सबैलाई नदेखिन पनि सक्छ ।

३. अट्याक

माइग्रेनको तेस्रो चरणमा अट्याक आउने वा अत्यधिक टाउको दुख्ने हुन सक्छ । सो दुखाइ एकातिर घोचेको र तन्केको जस्तो हुन सक्छ । कतिलाई वाकवाक र बान्ता हुने अट्याकको समयमा उज्यालो हेर्न, कसैको आवाज सुन्न मन नलाग्ने, झ्यालढोका थुनेर बस्न मन लाग्ने, कसैमा हातखुट्टा झमझमाउने र निदाउने हुन सक्छ । यो अवधि चारदेखि ७२ घण्टासम्म हुन्छ । यो लक्षण व्यक्तिअनुसार फरक हुने हुँदा कसैलाई नदेखिन पनि सक्छ ।

४. पोस्ट ड्रम

पोस्ट ड्रम ह्याङ्गओभरजत्तिकै अनुभव हुन्छ । दिक्क लाग्ने, शरीर शिथिल हुने, खानै मन नलाग्ने, अत्यन्त कमजोर हुने जस्ता लक्षण देखिन्छ ।

चार चरणपछि अर्को एपिसोड नआउँदासम्म सामान्य हुने त्यसपछि केही दिन र केही हप्तामा अट्याक दोहोरिन सक्छ । सम्रग माइग्रेनको लक्षण टाउको दुखाइबाट सुरु हुन्छ । टाउकोको एक भागमा मात्र दुख्छ । त्यो टाउको दुखाइ केही दिन, केही साता वा केही घण्टाको लागि हुन सक्छ । स्वत: ठीक हुन्छ ।

 

पहिचान

सबै टाउको दुखाइ माइग्रेन होइन । यसमा अन्य टाउको दुखाइभन्दा फरक हुन्छ । एक भाग मात्र दुख्ने र घोच्ने खालको दुखाइ हुन्छ । एमआरआई गर्दा पनि कहिलेकाहीं यसको पहिचान हुन सक्दैन । टाउको दुखाइसँगै अन्य लक्षणको आधारमा यसलाई पहिचान गरिन्छ ।

उपचार

वैकल्पिक उपचार माइग्रेनमा धेरै हदसम्म प्रभावकारी देखाउँछ । धेरैजसो अध्ययन अनुसन्धानले पनि सो कुरा पुष्टि गरेको छ । वैकल्पिक चिकित्सामा माइग्रेनको उपचारमा सबैभन्दा प्रभावकारी अकुपन्चर र अकुप्रेसर हो । यस दुई विधिसँगै प्राकृतिक चिकित्साअन्तर्गत जलनेती, हेड मसाज र आयुर्वेदअन्तर्गत पर्ने  शिरोधारालाई संयुक्त रुपमा गर्न सकेमा यसको लक्षण न्यून पार्न सकिन्छ । साथै, योग र प्राणायाम पद्धति पनि प्रभावकारी छन् ।

उपचारमा ३० वटा सेसन हुन्छ । सुरुको १० दिन लगातार अकुन्पचर, अकुप्रेसर, हेड मसाज, शिरोधरा गरिन्छ । त्यसपछि एक दिन बिराएर १० वटा सेसनमा त्यही प्रक्रिया दोहोर्‍याउने र अन्तिम १० दिन साताको एकपटक अभ्यास गरिन्छ । यसरी चार महिनामा सेसन पूर्ण हुन्छ । यसरी उपचार गराउनेहरुमा ९० प्रतिशत माइग्रेन ठीक भएको छ । यी सेसनपछि घरमै गरिने तरिका सिकाइन्छ ।

सबैभन्दा छिटो यसले टाउको दुखाइलाई निको पार्छ । दुखाइ दैनिकजसो हुन्छ भने कहिलेकाहीं हुँदै कम हुन्छ । कतिपयलाई पूर्णतया निको समेत भएको छ । यसले माइग्रेनको अट्याकको अवधिलाई कम गर्छ । कसैलाई अट्याक नै नआउने समेत हुन सक्छ । उपचारपछि कहिलेकाहीं टाउको दुख्दा साधारण औषधि पारासिटामोलले निको हुन सक्छ ।

अकुपन्चरले माइग्रेनमा पार्ने प्रभाव

अकुपन्चर चिनियाँ परम्परागत चिकित्सा विधि हो । यसले शरीरमा हुने सकारात्मक र नकारात्मक तत्वलाई सन्तुलन गर्ने काम गर्छ । यो विधि अपनाउँदा इन्डोरफिन हार्मोन रिलिज हुन्छ, जसले प्राकृतिक पेन किलरको काम गर्छ । त्यस्तै, अटोनामिक नर्भस सिस्टममार्फत शरीरको नसा, रक्तचाप, पारा सिम्पाथेटिकको आउट फ्लोलाई सन्तुलन गर्छ । रोगसँग लड्ने क्षमता बढाइदिन्छ । साइकोलोजिकल प्रभाव बढ्छ, जसले दिमागले निकाल्ने केमिकललाई सन्तुलन गर्छ ।

जीवनशैली व्यवस्थापन पनि आवश्यक

उपचारपछि जीवनशैली व्यवस्थापन गर्न सिकाइन्छ ।

-तनाव व्यवस्थापन गर्ने ।

-सातदेखि आठ घण्टा दैनिक सुत्नुपर्छ । बेडमा बसेको ९० प्रतिशत समय पर्याप्त निद्रा लिएको हुनुपर्छ ।

-पोषिलो खानेकुरा पर्याप्त, ठिक्क खाने र समयमा खानुपर्छ ।

-पर्याप्त पानी पिउने ।

-माइग्रेन भएकाहरुले प्राणायाम, १५ मिनेटदेखि आधा हिंडडुल र योगा गर्ने ।

-डायरी ‘मेन्टेन’ गर्ने । कहिले कति दुख्यो र दुखाइ कस्तो प्रकृतिको छ भन्ने कुरा दैनिक डायरीमा टिपोट गर्ने । यसले चिकित्सकलाई अवस्था बुझ्न सहज हुन्छ ।

वैकल्पिक उपचारसँगै आफैंले यी नियमलाई ध्यान दिए माइग्रेनका समस्या भएकालाई ९० प्रतिशत ठीक हुन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु