मंगलबार नेपालगञ्जबाट भएन कुनै पनि उडान

२०७९, १९ पुष मंगलवार २०:४९

नेपालगञ्ज- बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन ।

बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए।

जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ । ‘अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन’, प्रमुख खनालले भने।

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल प्रमुख खनालले बताए।

मंगलबार बिहानैदेखि छ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाका सबै उडान रद्द गर्नुका साथै काठमाडौँका लागि सबै उडान रद्द गरिएको उनले बताए। नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेको बताइएको छ । यहाँबाट काठमाडौँ, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।

केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । नेपालगञ्जमा चिसोका कारण बाटोमा दाउरा बालेर बसिरहेको दृश्य देख्न सकिन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु