आधा दर्जन कम्पनीको चासो, गौतम बुद्ध विमानस्थलमा उडान गर्न

२०७८, १५ चैत्र मंगलवार १०:१६

भैरहवा: व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ । यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ ।

विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । ‘हवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ उनले भने, ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन् ।’
विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सकिएपछि २६ फागुनमा विमानस्थलबारे सम्पूर्ण जानकारीसहितको सूचना जारी गरिएको थियो । २७ फागुनमै जजिरा एयरलाइन्स सम्पर्कमा आई हवाई उडान सञ्चालन गर्न इच्छुक देखिएको थियो । जजिराले हवाई उडान सञ्चालनका लागि निवेदनसमेत दिइसकेको छ । त्यसपछि फ्लाई दुबई एयरलाइन्स कम्पनीका ३/४ जना कर्मचारीले स्थलगत अध्ययन गरेका थिए । ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयर लायन्स पनि हवाई उडान सञ्चालनका लागि सम्पर्कमा आएका छन् । कतार एयरलाइन्ससँग पनि कुराकानी भइरहेको दाहालले जनाए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली केही दिनमै आउने अवस्थामा छ । जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङलगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । नियमावली नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयबाट पास भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ ।
विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिबिलिटीमा पनि सहजै विमान अवतरण गर्न सकिनेछ । विमानस्थलका अनुसार विमान अवतरणका लागि कम्तीमा पनि १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा यहाँ ६ सय मिटरमै अवतरण गर्न सकिनेछ ।

विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्ने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एन्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयको सुझाव छ । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत विदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाई उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने विश्वास छ । सुरुमा प्रतिदिन १० र सन् २०३३ सम्म ६० वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको दाहालले बताए ।

Comments

ताजा खबर