दाहाल सहमत भए गठबन्धन, नभए एमालेसँग सहकार्य – देउवा

काठमाडौँ: अमेरिकासँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धन विघटनको डिलमा छ । सात महिनाअघि तत्कालीन केपी ओली नेतृत्वको सरकार प्रतिगामी र निरंकुश भएको भन्दै सरकारविरुद्ध एकताबद्व भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) एमसीसीलाई लिएर विभाजित मनस्थितिमा छन् ।

गठबन्धनमा सहमति नजुटेपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमालेसँग सहकार्यका लागि संवाद गरिरहेका छन् । तर, एमसीसी सम्झौता संसद्मा पेस भए पनि त्यसमाथि सैद्धान्तिक छलफलसमेत हुन नसकेको अवस्थामा प्रधानमन्त्री देउवा भने त्यसमाथि निर्णायक कदमको तयारीमा छन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले तोकेको समयसीमा अनुसार अब एक दिनमात्रै छ । आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसो त, एमसीसी सम्झौता संसद्मा टेबल भएपछि सैद्धान्तिक छलफल समेत हुन नपाई दुई वटा बैठक स्थगित भइसकेका छन् ।
गठबन्धन र विपक्षी एमालेसँगको संवादमा सहभागी एक नेताले आइतबारसम्ममा प्रधानमन्त्री देउवाले निर्णायक मुभ लिने बताए । ‘हामीले गठबन्धन र एमाले दुवैसँग समानान्तर संवाद गरेका छौं, गठबन्धनको जगमा सरकार बनेको हिसाबले त्यसप्रति हाम्रा कतिपय दायित्व छन्, त्यसैले गठबन्धनमा संवाद भइरहेको हो,’ शनिबार एमाले अध्यक्ष ओलीको निवास बालकोटमा छलफलपछि ती नेताले इकान्तिपुरसँग भने, ‘अब पनि गठबन्धनमा सहमति नभएको अवस्थामा तुरुन्तै एमालेसँग सहकार्यको वातावरण तयार भएको छ ।’

गठबन्धनसम्बद्ध दल माओवादी केन्द्रले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णयलगत्तै प्रधानमन्त्री देउवाले विपक्षीसँग निकटता बढाएका थिए । देउवाले विकल्पमा विपक्षीलाई रोजेपछि गठबन्धन दलहरू झस्किएका थिए । स्रोतका अनुसार एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक छलछाम गरेको भन्दै प्रधानमन्त्री देउवा रुस्ट बनेका छन् । ‘माओवादीको छलछामले प्रधानमन्त्रीलाई वाक्कदिक्क भइसकेको छ, यो गठबन्धन सरकार भएकाले कुरा सुन्नुपर्ने, पर्खिनुपर्ने बाध्यता छ,’ ती नेताले भने, ‘तर अब पनि गठबन्धनमा एमसीसीको पक्षमा बहुमत नजुटे विपक्षीसँग सहकार्य गर्नुपर्ने बाध्यता छ ।’

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् भने जसपामा पनि मतभेद छ, तर पक्ष वा विपक्षमा उभिने भनेर निर्णय गरिसकेको छैन । एकीकृत समाजवादीसमेत माओवादी केन्द्रको निर्णयबाट प्रभावित भएको कांग्रेस नेताहरूको बुझाई छ ।

‘एमसीसीको विषयमा माओवादीले सुरुदेखि नै छलछाममात्रै गर्‍यो, प्रचण्डजीले पहिले एमसीसी पास गर्न तयार भएर सँगै चिठी पठाएर आग्रह गर्नुभयो, पछि संशोधन गरेर पास गरौँ भन्नुभयो, फेरि पछि विपक्षमा मतदान गर्ने निर्णय गर्नुभयो,’ एक नेताले भने, ‘कहिले पक्षमै हाल्छु भन्नुहुन्छ, कहिले मैले विपक्षमा हाले पनि बहुमत पुगिहाल्छ भन्नुहुन्छ, बिहीबार सैद्धान्तिक छलफलको प्रस्ताव नै असफल बनाउने उहाँहरूको तयारी थियो, फेरि अहिले एमालेसँग सहकार्य हुन लाग्यो भन्ने भएपछि सहयोग गर्छु भनिरहनुभएको छ, यस्तो छलछामबाट प्रधानमन्त्री पनि वाक्क भइसक्नुभएको छ ।’

स्रोतका अनुसार शुक्रबारको भेटमा माओवादी दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई भेटेर आफूहरूले सहयोग गर्ने भन्दै समय मागेका थिए । त्यसबेला प्रधानमन्त्री देउवाले शनिबार अपरान्हसम्ममा लिखित निर्णय दिन समय दिएका थिए । दाहाल र नेपालसँग भेटपछि शुक्रबार राति नै देउवाले एमाले अध्यक्ष ओलीसहित नेताहरूसँग छलफल गरे ।

शनिबार अपरान्हसम्म पनि दाहाल र नेपालले निर्णय नदिए एमाले अध्यक्ष ओलीसँग बार्ता गर्न बालकोट जाने देउवाको तयारी थियो । तर, शनिबार दाहालले आइतबार बिहानसम्मको थप समय मागेका छन् । ‘आइतबार संसद् छ, बिहानसम्म प्रचण्डजीले एमसीसीको पक्षमा मतदान गर्ने पार्टीको निर्णय दिनुभयो भने गठबन्धन रहन्छ, नभए तुरुन्तै एमालेसँग सहकार्यको ग्राउन्ड तयार भएको छ,’ ती नेताले भने ।

ती नेताले आइतबार बिहानसम्म दाहाल र नेपालले पार्टीबाट निर्णय गरेर नदिएको अवस्थामा दिउँसोसम्म फरक गठबन्धन बन्न सक्ने बताए । ‘हाम्रो अघिल्तिर ठूलो संकट छ, उहाँहरूले आइतबार बिहानसम्म निर्णय दिए गठबन्धनको संकट टर्छ, नभए तुरुन्तै अर्को गठबन्धन बन्छ, राजनीतिले नयाँ कोर्स लिन्छ,’ ती नेताले भने । शनिबार प्रधानमन्त्री देउवाले एमालेसँग संवाद गरेनन् । तर, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बालकोटस्थित ओली निवासमा एमाले नेताहरूसँग छलफल गरे ।

छलफलपछि सञ्चारमन्त्री कार्कीले भेटमा दुवै दल आ–आफ्नै अडानमा अडिग रहेको सुनाए । उनले प्रतिनिधिसभा सुचारु गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको सम्झौता अनुमोदन गर्न आग्रह गरिएको बताए । ‘हामीले प्रतिनिधिसभालाई सुचारु गरौँ । एमसीसीलाई सहमतिका साथ अघि लगेर मुलुकको महत्वपूर्ण विषयमा एकै स्थानमा उभिएर विश्वलाई सन्देश दिऔं भनेर भन्यौं,’ मन्त्री कार्कीले भने, ‘उहाँहरुले पुरानै कुरा दोहोर्‍याउनुभयो ।’

मन्त्री कार्कीले कुनै सहमति नभएको प्रस्ट पारे । तर, कांग्रेस–एमालेका नेताहरूबीच साढे तीन घण्टा छलफल भयो । जबकि शुक्रबार र बिहीबार पनि त्यसैगरी घण्टौँसम्म छलफल भएको थियो । एमालेसँगको वार्तामा सहभागी भएका अर्का एक नेताले राजनीतिकरुपमा एमालेसँगको सहकार्यको आधार तय भइसकेको बताए । ‘अहिले संवाद भइरहेको छ, दुई दलबीच सहकार्यको राजनीतिक आधार बनिसकेको छ,’ ती नेताले भने, ‘अब खाली गठबन्धन दलहरूको आश्वासनलाई पर्खिनेमात्रै हो, अन्यथा तुरुन्तै सहकार्यको वातावरण बनिसकेको छ ।’

सरकारले ८ फागुनमै प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल गरिसकेको छ । तर, दलहरूबीचको विवादका कारण त्यसमाथि सैद्धान्तिक छलफलसमेत हुन पाएको छैन । प्रतिनिधिसभा बैठक आइतबार पुनः बस्दैछ । बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेस गर्ने कार्यसूची छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago