बाल कथा: रुपेश र दिपेशको साहस- पारसमणि दाहाल

बाल कथा: रुपेश र दिपेशको साहस॰

रुपेश कक्षा पाँचमा पढ्थ्यो । कक्षाको राम्रो विद्यार्थी थियो । ऊ सधैँ आफ्नो कक्षामा प्रथम हुन्थ्यो । ज्यादै मिहिनेत गरेर पढ्ने गर्थ्यो । यस वर्षको वार्षिक परीक्षा नजिकिदै गरेको कारण ऊ राति अबेरसम्म पढ्ने गर्थ्यो । उनीहरूको घर गाउँको एकलास ठाँउमा थियो । छेउछाउमा छिमेकीका घरहरू पनि थिएनन् । घरको केही पर जङ्गल पनि थियो । घरको छेवैमा पारि गाउँ जाने बाटो थियो । पारि गाउँ जान जङ्गलको बाटो भएर जानुपर्थ्यो । रुपेशको घर छेउको बाटोबाट राति अबेरसम्म पारि गाउँ जाने मानिसहरू हिँडिरहन्थे । अँध्यारो रातमा बटुवाहरू पुल्ठो बालेर हिड्थे । कोही गीत गुनगुनाउँदै हिड्थे । कोही ठूलठूलो स्वरमा गफ गर्दै हिड्ने गर्दथे । जङ्गलको बाटो भएर आफ्नो गाउँ जान बटुवाहरूलाई ज्यादै जोखिम थियो । जङ्गलमा बाध, भालु तथा चितुवाहरूले आक्रमण गर्ने डर हुन्थ्यो । त्यसैले पारि गाउँ जाने मानिसहरू सकेसम्म रात नपरिकन आफ्नो गाउँ पुग्ने कोसिस गर्दथे । गाउँलेहरूका लागि अर्को बाटो पनि थिएन ।

गाउँलेहरूको चहलपहल सकिएपछि सुनसान रातमा जङ्गलबाट डरलाग्दा जनावरहरू रुपेशको घर वरिपरि निस्कन्थे । गोठका गाईगोरु, टाट्ना र खोरका भेडाबाखाहरू एक-एक गरी खाइदिने गर्दथे । बुबाले घरको गर्जो टार्न पालेका वस्तुभाउहरू एक-एक गरी जङ्गली जनावरले खाईदिने गरेकोमा रुपेश ज्यादै चिन्तत थियो । राति अबेरसम्म पढ्न र परीक्षाको तयारी गर्न पनि उसलाई डर लाग्थ्यो । कतै आफैलाई जगली जनावरले आक्रमण गर्ने त होइन ? उसलाई पीर परिरहन्थ्यो । रुपेशको बुबा घरमा भएको समयमा त उसलाई खासै डर लाग्दैन थियो । तर काम विशेषले बुबा बाहिर गएको समयमा भने रुपेश र उसकी आमा मात्र घरमा बस्नु पर्दथ्यो । यस्तो बेलामा रुपेश ज्यादै डराउँदथ्यो ।
रुपेशकी आमा दिनभरि खेतबारीमा काम गर्दा थकित हुनुहुन्थ्यो । साँझको घरधन्दा सकेर वहाँ चाँडै सुत्नुहुन्थ्यो । रात छिप्पिएपछि जङ्गली जनावरहरू उसको घर आँगनमा निस्कन्थे। गाईवस्तु तथा भेडाबाख्राहरूलाई आक्रमण गर्न मौका हेरि बसेका हुन्थ्यो । रुपेश डरले बाहिर निस्कन सक्दैन थियो । उसको पढाइलाई ज्यादै बाधा पुगिरहेको थियो । उसले त्यस जङ्गली जनावरहरूलाई कसरी तह लगाउने ? ऊ सधैँ सोच्थ्यो तर केही गर्न सक्ने अवस्था नै थिएन । त्यसैले रुपेश ज्यादै चिन्तित थियो ।

परीक्षा नजिक आइरहेकोले राति अबेरसम्म पढ्नु उसको बाध्यता थियो । आज पनि रुपेश आफ्नै सुरमा लेखिरहेको थियो । बाघ गर्जदै रुपेशको घरको आँगनमा आयो । रुपेश डरले काम्दै सिरकभित्र गुट्मुटियो । आज फेरि रुपेशको पढाइ अधुरै रहयो । धेरै बेरसम्म बाघ आँगनमा कराइरह्यो । रुपेशको आमा निदाइ सक्नुभएको थियो । ऊ पनि डरले काम्दै सिरकभित्र गुटमुटियो र निदायो । आज पनि उसको पढाइ अधुरै रह्यो ।

परीक्षा अत्यन्तै नजिक भएकाले उसलाई चिन्ता लागिरहेको थियो । ऊ कक्षाको प्रथम विद्यार्थी भएकोले अरूले जित्लान् भन्ने चिन्ताले हरहमेसा सताइरहन्थ्यो । टुकी बालेर अबेर रातसम्म पढ्ने गर्थ्यो । कुनै रात पढ्न पाएन भने उसलाई निन्द्रा नै लाग्दैन थियो । उसको कक्षाका अन्य साथीहरूको बीचमा दरो प्रतिस्पर्धा थियो । रुपेशको कडा मिहिनेतको अगाडि हालसम्म अरूहरूको केही लागेको थिएन । अहिलेसम्मका सबै परीक्षाहरूमा उसले जितिरहेको थियो । उसले कसैलाई पनि जित्न नदिने प्रण गरेको थियो मनमनै । तर राति जङ्गली जनावरहरूको कर्कस स्वरले उसको पढाइलाई बाधा पुऱ्याइरहेको थियो । दैनिक होहल्ला र डरको कारणले यस वर्षको नतिजामा आफू पछि पर्ने चिन्ताले उसलाई ज्यादै सतायो ।

साथीहरूको बीचमा तल नपर्न र मिहिनेतको मीठो फल प्राप्त गर्न परिश्रम गर्नै पर्छ भन्ने उसलाई थाहा थियो । मीठो फलका लागि बेलैमा धेरै मिहिनेत र परिश्रम गर्नुपर्छ भन्ने आफ्ना शिक्षकहरूको भनाइले पनि उसलाई प्रभावित गरिरहेको थियो । तर रुपेशलाई यो समस्याबाट पार पाउने उपाय पनि पत्ता लागिरहेको थिएन ।

उसको घरमा राति-राति जनावरहरूले दुःख दिने गरेको कुरा उसको बुबालाई राम्ररी थाहा थियो । तर बुबाले पनि केही गर्न सक्नु भएको थिएन । बुबा घरमा बस्नुभएको समयमा त रुपेशलाई खासै डर र चिन्ता लाग्दैन थ्यो । तर यस पटक भने परीक्षा नजिकिएकै समयमा रुपेशको बुबा विशेष कामले गर्दा लामो समयका लागि घरबाहिर जानुपर्ने भयो । उहाँले रुपेश र उसकी आमालाई नडराइकन बस्न सल्लाह दिएर बाहिर जानुभयो ।

बुबा घरमा नहुनुभएको कारण रुपेशलाई ज्यादै समस्या भएको थियो । दैनिक रूपमा रात छिप्पिन नपाउँदै आँगनमा जनावरहरूको आवाज आउने गर्दथ्यो । डरको कारण उसले पढ्न पाउँदैन थ्यो ।

रुपेशले आफूलाई भएको समस्या आफ्नो कक्षामा पढ्ने साथी दिपेशलाई भन्यो । दिपेश, रुपेशको ज्यादै मिल्ने साथी थियो । दुवैले यो समस्यालाई • कसरी समाधान गर्ने भनि सल्लाह गरे । अन्त्यमा उनीहरूले एउटा उपाय निकाले । दुवै साथीहरू रुपेशको घरमा राति बस्ने, सँगै पढ्ने र सँगै राति • आउने जनावरहरूलाई पनि तह लगाउने सल्लाह गरे ।

सल्लाहबमोजिम दुवै जना राति आनन्दपूर्वक आ-आफ्नो पढाइलाई अघि बढाइरहेका थिए । सधैँ झैँ रात छिप्पिनासाथ जङ्गलबाट कराउँदै बाघ रुपेशको घरमा आयो । रुपेश र दिपेशले बिस्तारै ढोका खोले । अँध्यारोमा दुवैले ठूल्ठूलो बर्को ओढेर लामो-लामो लौरो बोकेका थिए । उनीहरू दुवै जनाले बाघलाई तर्साउने र मौका परे बेस्सरी लाठो बजार्ने विचार गरी आँगनमा निस्किए । आँगनमा एक्कासी घुम्लुङ बर्को ओडेका मानिसहरू र उनीहरूको हातमा भएको लाठो आँगनमा ठटाउँदा बाघको सातोपुत्लो उड्यो । बाघ त्यहाँबाट कुलेलम ठोक्यो । दिपेश र रुपेश पनि बाघको पिछा गर्दै केही परसम्म गए । निकै टाढा पुगेपछि बाघ कराउँदै जगलतर्फ लाग्यो ।

रुपेश र दिपेशले अघिल्लो राति आफूहरूले बाघ लखेटेको बारेमा कसैलाई पनि भनेनन् । उनीहरू केही दिन सँगै बसेर पढे । बाघ फेरि फर्केर आउँछ वा आउँदैन भन्नेतिर उनीहरूको ध्यान थियो । उनीहरूले आफ्नो पढाइलाई पनि सँगसँगै अघि बढाए । बाघको हर्कतको पनि विचार गरि रहे । केही दिन त बाघले रुपेशको घरतिर आउँने हिम्मत गरेन । तर विस्तारै बाघले रुपेश र दिपेशले उडाएको सातो बिर्सियो । एकदिन फेरि बाघ पहिला भै कराउँदै रुपेशको आँगनमा आयो । मस्तसँग पढिरहेका रुपेश र दिपेशको सातो नै उड्यो । उनीहरूले फेरि तत्कालै पहिलाकै जस्तै जुक्ति निकाले । दुवै बिस्तारै ढोका खोलेर बाहिर निस्किए । एउटाले बाघको अघिल्तिर गएर आफूले ओडेको बर्को बेस्सरी हल्लायो । अर्कोले चाहिँ बाघको होसै हराउने गरी लाठो बजायो । बाघको हंसले ठाउँ छाड्यो । कहिल्यै नसोचेको आपत् आइलागेको ठानी बाघ जङ्गलतिर सासै नफेरी कुलेलम ठोक्यो ।

रुपेश र दिपेशले पनि बाघेलाई लखेट्दै गए । बीचबीचमा उनीहरूले विभिन्न प्रकारको आवाज पनि निकाल्दै अघि बढे । रुपेश र दिपेशले बाघलाई लखेट्दै गए । धेरै टाढा पुगेपछि बाघ कुन झाडीमा पस्यो । कतै कहाँ देखिएन ।

रुपेश र दिपेशले पनि केही परबाट विभिन्न आवाज पालै-पालो निकालेर केही बेरसम्म बाघको सातो उडाइरहे । बाघको अत्तोपत्तो थिएन । स्यास्या र फ्याफ्या गर्दै कुन दुलातिर छियो । रुपेश र दिपेश पनि बिस्तारै आफ्नो घर फर्किए । त्यसपछि कहिल्यै पनि बाघ रुपेशको घरको नजिक आउने हिम्मत गर्न सकेन । धेरै दिनसम्म बाघ फेरि आउने हो कि ? भन्ने विचार गर्दै चनाखो हुँदै दुवै जना सँगै पढ्ने; सँगै सुत्ने गरिरहे । आनन्दपूर्वक परीक्षाको तयारी गरे । उनीहरूको परीक्षा पनि सकियो । बाघ कहिल्यै पनि रुपेशको घर छेउछाउ देखा परेन । सायद बाघ सधैँका लागि अर्को जङ्गलतिर बसाइ पो सयो कि ?

रुपेशको बुबा पनि गाउँ फर्किनुभयो । रुपेश र दिपेशले बाघलाई तह लगाउन रचिएको नाटक बताए । सबै गाँउलेले रुपेश र दिपेशको साहस र जुक्तिको प्रशंसा गरे । रुपेश र दिपेशको साहस देखी सबै गाउँलेले उनीहरूको प्रशंसा गरे । विद्यालयमा पनि सबै साथीहरू र शिक्षकहरूले उनीहरूको जुक्ति र साहसको तारिफ गरे ।

रुपेश र दिपेशले अझ बढी मिहिनेत गरी पढे । यस वर्षको अन्तिम परीक्षामा पनि सधैँ झैँ रुपेश पहिलो बन्यो । दिपेशचाहिँ दोस्रो भयो । विद्यालय जयन्तीको दिन प्रमुख अतिथिज्यूबाट दुवैले विशेष सम्मान पनि पाए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago