रोल्पाको थवाङलाई बेलैमा निर्वाचन लाग्यो

रोल्पा: निर्वाचनमा कहिले सबै भोट कम्युनिस्ट पार्टीलाई दिएर त कहिले मतदान नै नगरेर चर्चामा रहने गरेको रोल्पाको थवाङलाई यसपटक भने बेलैमा निर्वाचन लागेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा ‘कोर’ थवाङमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय अजय घर्तीमगर बताउँछन् । ‘बाहिरका वडा मिरुल र उवामा भने कांग्रेस र एमालेले पनि भोट पाउने देखिन्छ’, उनले भने । थवाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट वर्तमान अध्यक्ष वीरबहादुर घर्तीमगर, ऋषिकेशव बुढा, मौसम रोका, टार्जन पुन, रामधन पुन लगायतको चर्चा छ ।

विप्लवको नेकपाले स्वतन्त्र उम्मेदवारी दिने चर्चासँगै पालिका अध्यक्षमा अमित घर्तीमगर, जयप्रकाश रोका र हितप्रसाद रोकाको नाम आउन थालेको छ । त्यस्तै, कांग्रेसबाट श्रीकुमारी रोका र एमालेबाट यमुना रोका अध्यक्षमा उठ्ने चर्चा छ । यमुना रोका माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेको धेरै भएको छैन । उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको छ ।

थवाङमा क्रियाशील मुख्य दल माओवादी केन्द्र, विप्लवको नेकपा, नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्वाचन गतिविधि तीव्र बनाउन थालेका छन् । निर्वाचन अभियानका लागि थवाङ आएका नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले शनिबार पार्टी कार्यकर्तालाई चुनाव लक्षित प्रशिक्षण दिए ।

पूर्वसांसद लेखनाथ आचार्य यो पटक बढेको चुनावी रौनकले थवाङको राज्य विरोधी मानसिकता बदलिएको संकेत गरेको बताउँछन् ।

‘विद्रोही छवि बनाएको थवाङ यसरी संसदीय निर्वाचनमा आकषिर्त हुनु लोकतन्त्रवादीहरूका लागि खुसीको कुरा हो’, उनले भने ।

नेकपा (माओवादी) फुटेपछि विभाजित अवस्थामा रहेको थवाङमा कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमजोर मानिन्छ ।

माओवादी फुटेर प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्दको समूह बन्दा थवाङले प्रचण्ड र विप्लवलाई साथ दिएको थियो ।

थवाङको विगत

थवाङलाई ‘कम्युनिस्ट किल्ला’ मानिन्छ । २०१२ सालमै अखिल नेपाल किसान संगठनको नाममा कम्युनिस्ट पार्टीमा आवद्ध थवाङवासीले २०१५ को पहिलो संसदीय निर्वाचनमा मतदान गरेका थिए ।

त्यो बेला सबै भोट कम्युनिस्ट पार्टीका उम्मेदवार खगुलाल गुरुङले पाएका थिए । २०१८ को गाउँ पंचायत निर्वाचनमा सबै भोट कम्युनिस्ट पार्टीका धर्मबहादुर रोकामगरलाई दिएर प्रधानपञ्चमा जिताएका थिए ।

२०१९ सालको राष्ट्रिय पंचायत निर्वाचन कम्युनिस्ट पार्टीले बहिष्कार गरेपछि कुनै थवाङवासीले पनि मतदान गरेनन् । २०२४ को गाउँ पंचायत निर्वाचनमा बरमन बुढालाई प्रधानपञ्चको उम्मेदवार बनाएर सबै भोट दिए । त्यसपछि लगातार दुई पटक उनी निर्विरोध प्रधानपञ्च बने ।

२०३७ सालको जनमत संग्रहमा थवाङको सबै मत बहुदलको पक्षमा गएको थियो । २०३८ को राष्ट्रिय पंचायत निर्वाचन बहिष्कार गरेर शून्य मतदान गरेका थवाङवासीले सोही साल सैन्य अपरेशन खेप्नु परेको थियो ।

२०३९ सालको गाउँ पंचायत निर्वाचनमा भने राज्यको दमनबाट जोगिन बरमन बुढाकी बहिनी तुलकुमारी बुढालाई निर्विरोध प्रधानपञ्च बनाए ।

२०४३ सालको राष्ट्रिय पंचायत निर्वाचनमा सबै मत बमकुमारी बुढालाई दिएर जिताएको थवाङले २०४४ को गाउँ पंचायत निर्वाचनमा कम्युनिस्ट पार्टीकै कमलप्रसाद झाँक्रीलाई उठाएर एकमुष्ट भोट दिए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ मा भएको संसदीय निर्वाचनमा थवाङको सबै मत तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महराले पाए । त्यसबेला रोल्पा क्षेत्र नंं १ बाट जनमोर्चाकै बरमन बुढा सांसदमा विजयी भएका थिए ।

२०४९ को स्थानीय निकाय चुनावमा जनमोर्चाकै उम्मेदवार रुजबहादुर रोकामगर नेतृत्वको टिम थवाङमा निर्विरोध भएको थियो ।

संयुक्त जनमोर्चाले बहिष्कार गरेको २०५१ सालको संसदीय निर्वाचनमा थवाङमा कुल ४ मत खसेको थियो । २०५४ को स्थानीय निर्वाचन पनि थवाङले बहिष्कार गरेपछि गाविस अध्यक्ष र उपाध्यक्ष सदरमुकाम लिवाङमा चयन भएका थिए ।

२०५६ को संसदीय निर्वाचनमा लिवाङबाट हेलिकप्टरमा लगिएका २ जना थवाङवासीले थवाङमा शून्य मतदान हुनबाट जोगाएका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तीन जनाबाहेक सबै थवाङवासीले प्रचण्डलाई मत दिएका थिए । नेकपा (माओवादी) फुटेपछि २०६९ सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि थवाङले शून्य मतदान गर्‍यो । त्यसपछि भने थवाङवासी विभाजित भए ।

२०७२ पछिको थवाङ

२०७२ सालमा भएको नेपाल राज्यको पुनर्संरचनामा स्वायत्तताको माग गरिरहेको थवाङलाई ५ वडा रहने गरी गाउँपालिका बनाइयो ।

रोल्पा जिल्लाको सबभन्दा कम मतदाता रहेको गाउँपालिका हो- थवाङ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ ५ हजार ८५३ मतदाता थिए, जसमध्ये ३ हजार ६८२ जनाले मतदान गरे । त्यसमध्ये १ हजार ९९० मत पाएर नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घर्तीमगर पालिका अध्यक्ष भएका थिए ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार अमित घर्तीमगरले १ हजार ५७ र एमालेका हितबहादुर रोकामगरले १२० मत प्राप्त गरेका थिए ।

वडा नं. १ को अध्यक्षमा उठेका स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढामगर ३५९ मत पाएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का ग्रीस पुनले २५६ र एमालेका तिरबहादुर पुनले १३ मत पाएका थिए ।

माओवादी केन्द्रका वसन्त रोकामगर ४१० मतका साथ वडा नं २ को अध्यक्षमा विजयी भएका थिए । त्यस्तै, स्वतन्त्र उम्मेदवार लीलाराम रोकामगरले २९५ र एमालेका जानबहादुर रोकाले ३८ मत पाएका थिए ।

वडा नं. ३ को अध्यक्षमा माओवादी केन्द्रका भीमबहादुर रोका ७०२ मतका साथ विजयी भएका थिए भने नेपाली कांग्रेसका खरिलाल डाँगीले १६३ मत पाएका थिए । एमालेको उम्मेदवारी नै परेको थिएन ।

त्यस्तै, वडा नं. ४ मा माओवादी केन्द्रकै उदिम घर्तीमगर २८० मत प्राप्त गरी अध्यक्ष बनेका थिए । उनलाई स्वतन्त्र उम्मेदवार हिक्मत घर्तीमगरले १९२ मतका साथ पछ्याएका थिए भने कांग्रेसका उम्मेदवारले ४ र एमालेका उम्मेदवारले शून्य मत पाएका थिए ।

वडा नं. ५ को अध्यक्षमा पनि २८७ मतका साथ माओवादी केन्द्रकै गोवर्द्धन घर्तीमगर विजयी हुँदा कांग्रेसका रमेश रोकामगरले १६१, स्वतन्त्र डुकमन रोकामगरले १०६ र एमालेकी कमला पुनले २१ मत पाएका थिए ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago