शिशुलाई तेल मालिस अति नै फाइदाजनक छ।

२०७८, ९ फाल्गुन सोमबार ०९:१४

सामान्यतया बच्चा ९ महिनामा जन्मन्छन्। उनीहरू जन्मँदाको सामान्य तौल भनेको २.५ केजी हुन्छ। तर हालको परिवेशमा समयभन्दा चाँडै बच्चा जन्मने क्रम बढिरहेको छ र साथै कम तौलका बच्चा पनि जन्मिरहेका छन्। त्यसैले नवजात शिशुको उचित स्याहारसुसार सुरुदेखि नै गर्नु आवश्यक छ। उचित स्याहारसुसारका लागि हामीले हाम्रो समुदायमा परम्परागत रूपमा नै गर्दै आएको तेल मसाजलाई अलि परिमार्जित गरी मूलतः चाँडै जन्मिएका र कम तौल भएका शिशुहरूलाई जन्मेको २४ घण्टापछि नियमित रूपमा दिन सकिन्छ। जुन बच्चाको सुस्वास्थ्यका लागि अति नै फलदायक हुन्छ।

तेल मसाजद्वारा बच्चाको सम्पूर्ण शरीरमा स्फुर्ति दिन्छ, जसले गर्दा उसको छाला कलकलाउँदो हुन्छ र मांसपेशीमा स्फुर्ति आउँछ। यस विधिले शिशुहरूको शारीरिक र मानसिक स्वास्थमा सुधार ल्याउँछ। उनीहरूको भोक र निद्रामा सुुधार हुन्छ। मूलतः कम तौल भएका बच्चाका लागि यो अति नै फाइदाजनक छ। यसले तौल वृद्धिमा महत्वपूर्ण टेवा पुग्छ। बच्चा र आमाबीचको भावनात्मक सम्बन्ध सुमधुर हुन्छ। यो थेरापी दुई किसिमको छः काइनेथेस्टिक स्टिमुलेसन र टेक्टाइल स्टिमुलेसन।

काइनेथेस्टिक स्टिमुलेसनमा बच्चालाई उत्तानो पारी राखिन्छ। मुखदेखि पैंतालासम्म अर्थात् मुख, गाला, छाती, पेट, हात, खुट्टा र पैताला प्रत्येक भागमा १२ स्ट्रोक, १२–१५ सेकेन्ड क्रमबद्ध रूपमा दिइन्छ।
टेक्टाइल स्टिमुलेसनमा बच्चालाई घोप्टो पारी राखिन्छ। १२ स्ट्रोक १२–१५ सेकेन्ड शिरदेखि घाँटी, पिठ्युँ, कुम र नितम्बसम्म दिइन्छ। स्ट्रोक दिँदा औंलाको टुप्पाले दिइन्छ। मसाज हत्केलाले गरिन्छ।

मसाजका लागि आवश्यक सामग्रीहरू
तेल (राम्रो तोरी, नरिबल, जौतुन, बदाम), रुमाल, मध्यम आकारको बाटा, मनतातो पानी, बच्चाको आकारअनुसार नयाँ÷सफा कपडा, डिटोल वा सेभ्लोन ५ देखि १० मिलिलिटर, ७५ डिग्री फरेनहाइट वा २४ डिग्री सेन्टिग्रेटको न्यानोपन÷ बिहानको घाम (१२ बजे अगाडिको घाम), सम्म परेको सजिलो स्थान र उज्यालो प्रशस्त मात्रामा भएको ठाउँ हुनुपर्छ।

मसाज गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
बच्चाका लागि प्रयोग गरिने तेलबाट एलर्जी हुन्छ कि हुँदैन भन्ने थाहा पाउनुपर्छ। यसका लागि बच्चालाई लगाउने तेलले बच्चाको हातमा मसाज गरी १५ मिनेटसम्म हेर्ने।
कोठा उज्यालो राख्ने र तापक्रम पनि ७५ डिग्री फरेनहाइट वा २४ डिग्री सेन्टिग्रेट कायम राख्ने अथवा १२ बजे अगाडि बिहानको पारिलो घाममा राख्ने।
बच्चा खाली पेटमा छ भने थेरापी सुरु गर्ने। छैन भने खुवाएको एक घण्टा पछि सुरु गर्ने।
बच्चा निदाएको बेलामा मसाज नगर्ने।
मसाज थेरापी सुरु गर्नु अगाडि साबुनपानीले हात धुने र आफ्नो हातमा पहिले तेल लगाई नरम र तातो बनाउने।
बच्चालाई मसाज गर्नु अगाडि हरेक दिन मनतातो पानीमा ५–१० मिलि डिटेल वा सेभ्लोन राखी सफा कपडाले पुछ्ने।

मसाज थेरापी गर्ने क्रमिक तरिका
-साबुनपानीले हात धुने।
-बच्चालाई सम्मपरेको ठाँमा वा मेट्रिसमा उत्तानो पारी सुताउने र कपडा खोल्ने।
-बच्चालाई मसाज गर्नु अगाडि मनतातो पानीमा ५–१० मिलि डिटेल वा सेभ्लोन राखी सफा कपडाले पुछ्ने।
-आफ्ने हातमा तेल राखी नरम र तातो बनाउने।
-बच्चासँग कुराकानी गर्दै र उसको अभिव्यक्ति बुझ्दै चरणबद्ध रूपमा मसाज गर्ने।

टाउको र अनुहारमा
-आफ्नो दुवै हत्केला माथि बच्चाको टाउको राख्ने र अगाडि पछाडि मसाज गर्ने।
-टाउकोको अगाडि र पछाडि भएको नरम भागमा दबाब नदिने।
-बच्चाको आँखीभुइँ, नाक र गालामा स्ट्रोक दिने।
-बच्चाको चिउडोमा माथिबाट तल लगी गोलाकारमा मसाज गर्ने साथै कानमा पनि मसाज गर्ने।
स्ट्रोक दिँदा औंलाको टुप्पाले दिनुपर्छ यसरी मसाज गर्दा हत्केला र बूढीऔंलाले गर्नुपर्छ।

घाँटी, छाती र पेटमा
-बच्चालाई दुवै हातले समात्ने र दुवै हातको बूढीऔंलाले माथिबाट तल र तलबाट माथि लगी छातीमा स्ट्रोक दिने।
-स्ट्रोक दिँदा कुमको छेउबाट घाँटीको बीचमा लाने। एक पटकमा एकातिर मात्र गर्ने।
-त्यसैगरी अर्कोतिर पनि स्ट्रोक दिने। त्यसपछि दुवैतिर मसाज गर्ने साथै पेटमा पनि गर्ने।
-दुवै हातका औंला जोडी पेटमा गोलाकार बनाउने।
-बच्चाको शरीरमा दुवै हातले क्रस ओभर हुने गरी मसाज गर्ने।

हात र खुट्टा
-आफ्नो हातलाई गोलाकार बनाई स्ट्रोक दिने।
-बच्चाको हत्केला रगड्ने र उसका स–साना औंलाहरूलाई तन्काउने।
-बच्चाको हात भित्रतिर र बाहिरतिर तन्काउने र खुम्च्याउने (पुतलीले प्वाँख खुम्च्याउने र फैलाउने गरेजस्तै गरी १० पटकसम्म तन्काउने)।
-आफ्नो दुवै हातले बच्चाको तिघ्रा समाती खुट्टासम्म बूढी औंलाले “ऋ” आकारमा स्ट्रोक दिने र साथ साथै मसाज पनि गर्ने।
-हातमा जस्तै गरी बच्चाको खुट्टा र खुट्टाका औंलाहरूमा मसाज  गर्ने।
-खुट्टालाई तल–माथि र भित्र–बाहिर गरी व्यायाम गराउने।
-साइकल चालमा बच्चाको खुट्टा चलाउने।

पछाडिपट्टि
-बच्चाको टाउको एका छेउतिर फर्काएर घोप्टो पारी राख्ने।
-दुवै हातले बच्चाको जिउमा मसाज गरिदिने र स्ट्रोक पनि दिने।
-बच्चाको पूरै पिठ्युमा ‘एक्स’ हुने गरी आफ्नो दुवै हातले मसाज गर्ने।
-दुवै हातका औंलाका टुप्पाले स्ट्रोक दिने अनि मसाज गर्ने।
-बच्चाको नितम्बमा मसाज गर्ने।
-यदि तेल धेरै भए पुछ्ने र लुगा लगाइदिने।
त्यसपछि बच्चालाई दूध वा खानेकुरा खुवाउने। यो थेरापी बच्चा जन्मेको २४ घण्टापछि सुरु गरेर दुई वर्षसम्म दिनको दुई पटक गर्दा राम्रो हुन्छ। यसो गर्दा बच्चाको स्वस्थ्यमा राम्रो र सकारात्मक सुधार आउँछ।

(एमएस्सी नर्सिड.(पेडियाट्रीक) शाही चीनको जेन्झोउ युनिभर्सिटीबाट पिएचडी गर्दैछिन्।)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु