नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङको किर्नेवगरमा आइतबार यात्रु बस दुर्घटना

२०७८, ८ फाल्गुन आईतवार १९:४८

नुवाकोट: नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङको किर्नेवगरमा आइतबार यात्रु बस दुर्घटनामा परेको छ। यात्रुले खचाखच भरिएको बस दुर्घटनामा परी ८० जना घाइते भएका छन्।

घाइतेमध्ये सात जना गम्भीर छन् भने तीन जनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिममा रहेको किस्पाङ गाउंपालिका-५ किर्नेवगरमा सोही गापाको साल्मेबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको यात्रु बस दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

उनका अनुसार किर्नेवगरमा प्रं.३-०१-००६ख १५४१ नं.को टिमुरे यातायातको बस सडकमार्गबाट ५० मिटर तल खसेर भयानक दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बसमा क्षमताभन्दा बढी यात्रु राखिएका कारण आरालो बाटोमा दुर्घटनामा परेको प्रह्रीले जनाएको छ।

सो बस किस्पाङको साल्मेबाट फिकुरी हुँदै काठमाडौँ जाने क्रममा रहेको थियो। घाइतेमध्ये म्यागङ गापा-२ का बुद्धिमान तामाङ, किस्पाङको साल्मेका २४ वर्षीय प्रेमबहादुर तामाङ र किस्पाङको काहुलेकान ५४ वर्षीय सीता बस्नेतलाई हेलिकप्टरमार्फत् उद्धार गरि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल पठाइएको उद्धारमा संलग्न किस्पाङ गापाका अध्यक्ष छत्रबहादुर लामाले बताए।

गम्भीर घाइते भएका अन्य यात्रुहरुमा किस्पाङ-३ का ४० वर्षीय प्रेमबहादुर तामाङ, ३५ वर्षीया सुकुमाया तामाङ, ५५ वर्षीय आमाछेरुङ घले र किस्पाङ-४ का जिता लामा तामाङ छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु