विदेशी पर्यटकहरुले फागु पूर्णिमा मनाए

२०७८, ३ चैत्र बिहीबार १९:५२

कास्की: पोखरामा विदेशी पर्यटकहरुले पनि फागु पूर्णिमा मनाएका छन् । पोखरेलीहरुसँगै विदेशी पर्यटकहरुले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो ।

पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण वरालले बताए । महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक फागु पूर्णिमामा सहभागि भएका कतिपय विदेशीहरु पनि नेपालीहरुसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए । पर्यटकहरु बालबच्चाहरुसँग खुशी भएर रङ हान्न र अविर खेल्नमा ब्यस्त देखिन्थे ।

पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तीन किलोमीटर क्षेत्रमा पर्यटकहरुलाई सहभागी गराई सामूहिक रुपमा होली खेलेर पञ्चे वाजा, संगितका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो । यस प्रकारको महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले वताए ।

महोत्सवको अवसरमा बिभिन्न स्थानमा कन्सर्ट राखिएको थियो । फागु पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता(डिएसपी) सुन्दरमणी तिवारीले जानकारी दिनुभयो । सुरक्षाका लागी पोखराका मुख्य चोकहरुमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु