भोलि पनि एमसिसी संसदमा टेबल नहुने

२०७८, ५ फाल्गुन बिहीबार २०:३१

काठमाडौँ शुक्रबार बस्ने संसदको बैठकमा पनि एमसिसी टेबल नहुने भएको छ।

फाइल फोटो

बालुवाटारमा बसेको पाँच दलको बैठकले भोलि पनि थप छलफल गर्ने र सहमतिका साथ अघि बढ्ने सहमति भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

तीन घण्टा लामो छलफलपछि कार्कीले भने, फागुन १६ गतेसम्म एमसिसी पारित गर्नुपर्छ। प्रधानमन्त्रीमा त्यही भन्नुुभयो। भोलि फेरि गठबन्धनको बैठक बस्नेछ। त्यहाँ पनि छलफल हुन्छ।शुक्रबार बिहान ९ बजे फेरि गठबन्धनको बैठक बस्नेछ। माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका कारण सत्ता गठबन्धकै भविष्य संकटमा परेको अवस्थामा दलहरु थप छलफल गर्न तयार भएका हुन्।

कांग्रेसले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न अघि बढाउन चाहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले रोक्न खोजेका छन्। कांग्रेसले माओवादी र समाजवादी एमसीसी पारित गराउन तयार नभए एमालेसँग सहकार्य गरेर अघि बढ्ने तयारी ठोस रुपमै अघि बढाएको छ। माओवादीले सहमति बेगर एमसीसी अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ।

बिहीबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालबीच भएको कुराकानीमा गठबन्धन जोगाएर जाने कुरा भएको थियो।गठबन्धनको बैठकमा खुलेर छलफल भएको र छलफल सकारात्मक रहेको कार्कीले दाबी गरे।

गठबन्धनको बैठकमा बैठकमा कांग्रेसबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कृष्णप्रसाद सिटौला सहभागी थिए।

त्यस्तै माओवादीबाट अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल सहभागी भएका थिए भने जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी भए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु