तरलता संकुचनको प्रभाव सेयर कारोबारमा देखियो, नेप्से सूचक १.३९ अंकले घटेर २७३२.५२ विन्दुमा

२०७८, ५ फाल्गुन बिहीबार १५:२६

काठमाडौं : सेयर कारोबार रकम निकै संकुचन आएको छ । वित्तीय प्रणालीमा तरलता अभावका कारण सेयर बजार पनि प्रभावित भएको हो । यस दिन नेप्से सूचक १.३९ अंकले घटेर २७३२.५२ विन्दुमा अडिएको छ । २ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो खरिदबिक्री रकम तुलनात्मकरुपमा निकै कम हो । तरलता सहज नहुँदा केही समययता नेप्से सूचकका साथमा खरिदबिक्री रकममा गिरावट आइरहेको छ ।

बजार सुस्त भइरहँदा सबैको ध्यान मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षातर्फ केन्द्रित भएको छ । केन्द्रीय बैंकले आज, भोलीतिर नै मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा तयारी गरिहरेको छ । सोही कारण सबैको ध्यान उसैतिर केन्द्रत भएको छ ।

केन्द्रीय बैंकले तरलता सहज बनाउने उपकरणहरु ल्याउनेमा लगानीकर्ताहरु आशावादी भएका छन् । आयातलाई निरुत्साहित गर्ने तथा, भुक्तानी सन्तुलनको अवस्था बिग्रिन नदिने गरी केन्द्रीय बैंकले केही नीतिगत व्यवस्थाहरु गर्न सकेमा यस कदमले तरलता सहज पार्न समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचन माहोल बनिरहँदा सेयर बजारमा भने त्यसको सकारात्मक प्रभाव देखिएको छैन ।

निर्वाचन घोषणापछि बजार झनै् कमजोर देखिएको छ । यसको कारण भनेको वित्तीय प्रणालीमा तरलता संकुचन नै हो । तरलता वृद्धि गर्न भनेरै बैंकहरुले ब्याजदर  वृद्धि गरेका छन् । तथापि, अहिलेसम्म यसले पनि राम्रोसँग काम गरिसकेको अवस्था छैन । तथापि, आगामी दिनहरु सुनौला बन्दै जाने अपेक्षा गर्न सकिन्छ ।

उच्च विन्दुमा पुगेको ब्याजदर र तरलताको असहज अवस्था सधैंभरी नरहने विश्वास गर्न सकिन्छ । यसमा अब सुधार हुँदै जाने सम्भावना रहेको छ । किन भने यसका लागि केन्द्रीय बैंकले यअसघि नै केही महत्वपूर्ण कदमहरु चालिसकेको छ । थुप्रै वस्तुहरुको आयातमा कडाई गरिएको छ । सुन आयात गर्न पनि थप कडाई गरिएको छ । यसको सकारात्मक प्रभाव देखिन केही समय लाग्ने अनुमान गरिएको छ ।

 बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धातर्फ पनि ख्याल गर्नुपर्छ । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो रु आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।

सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ ।

यस दिन २२७ कम्पनीको ४० लाख १७ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । १३ मध्ये ५ वटा समूहको सूचकमा हरियाली छाएको छ । २२ करोड ३७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा जीवन विकास लघुवित्त अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा हिमालयन डिष्टिलरी र तेस्रोमा नेपाल टेलिकम परेका छन् ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु